करको दर बढाई सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सुझाव

काठमाडौँ, ५ पुस । सूर्तिजन्य पदार्थमा लाग्दै आएको करको दर नगन्य भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यसको प्रयोगलाई नियन्त्रण गर्न करको दरमा भारी मात्रामा बृद्धि गर्न जोड दिएका छन् ।
स्वास्थ्य सेवा विभाग सूचना तथा सञ्चार केन्द्र, द युनियन एसिया प्यासिफिक, एक्सन नेपाल र अमेरिकी क्यान्सर सोसाइटीको संयुक्त आयोजनामा आज भएको ‘एडभान्सिङ टोबाको कन्ट्रोल इन नेपाल’ विषयक कार्याशाल गोष्ठीमा सहभागी सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यशालाको उदघाटन सत्रमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले विश्व भर बढी रहेको नसर्ने रोगको जोखिममा नेपाल समेत नराम्ररी फसिसकेको भन्दै त्यसको नियन्त्रणको लागि सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्नु अनिवार्य रहेको बताए । उनले सूर्तिजन्य पदार्थमा डरलाग्दा चित्र छापेर मनोवैज्ञानिक रुपमा सेवन गर्न चाहनेलाई निरुत्साहित पार्नुको साथै करको दरमा भारी बृद्धि गरेर आम सर्वसाधारणको पहूचबाट टाढै राख्नुपर्ने विचार व्यक्त गरे ।

स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि नेपालले बनाएको कानून विश्वकै उत्कृष्ठ रहेको भन्दै यसको कार्यान्वनयमा केही बाँकी रहेको स्वीकारे । उनले करको दर बृद्धि गरे राज्यकोषमा रकम पनि थपिने र प्रयोगकर्ता समेत घटने बताए ।
द युनियनका डा. तारासिंह बलमे नेपालले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कडा कानून ल्याइसकेको औल्याउदै त्यसको पूर्ण कार्यान्वयनमा जोड दिए । उनले ९० प्रतिशत चेतावनीमुलक सन्देश पूर्ण कार्यान्वनय हुनुपर्ने र संगसंगै करको दरमा समेत भारी बृद्धि गर्नुपर्ने अहिलेको टडकारो आवश्यकता भएको बताए ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्ति नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून हुँदा हुँदै पनि कार्यान्वन पाटो फितलो भएको भन्दै सरकारी पक्षको ध्यानाकर्षण गराए । उनले बार्षिक २५ हजार बढी नेपालीको ज्यान लैजाने सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न सबै पक्ष सक्रियताका साथ लाग्नुपर्ने बताए ।
अहिले पनि नेपालमा सूर्तिजन्य पदार्थको करको दर २८ प्रतिशतमै अल्झिएको छ । तर यसको नियन्त्रणको लागि कम्तीमा ७० प्रतिशत पुरयाउन पर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



