बालबालिकाको आँखामा समस्या छ भनेर शिक्षक तथा अभिभावकले कसरी थाहा पाउने ?
'विद्यालयमा भर्ना गर्नु अघि बालबालिकाको दृष्टि परीक्षण गराऔँ'
काठमाडौँ, १० बैशाख । नयाँ शैक्षिक सत्र सुरु भएको छ । यतिवेला अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न व्यस्त छन् ।
शिक्षा आरम्भका लागि उचित उमेर ५ ६ बर्ष भएपनि कतिपय अभिभावकहरू दुई तीन बर्ष देखी नै आफ्ना बच्चा मन्टेश्वरी तथा बोर्डिङ स्कुलका प्लेग्रुपमा भर्ना गर्ने गरेका छन् ।
सानैदेखी शिक्षा आरम्भ गराए आफ्नो सन्तान सबैभन्दा योग्य हुन्छ भन्ने अभिभावकको विश्वास पनि हुनसक्छ । कतिपयलाई बाध्यता पनि । तर सानो उमेरमा बच्चालाई विद्यालयमा पठाउनु अघि कम्तिमा उसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ख्याल राख्नु पर्दछ । अझ भनु शारीरिक स्वास्थ्यमा बढी ख्याल गर्नुपर्छ ।
सबैभन्दा बढी के कुरामा ख्याल पुर्याउने ?
बरिष्ठ नेत्र विशेषज्ञ डा. आनन्दकुमार शर्मा भन्छन, ‘सानो उमेरमै स्कुल पठाउने बच्चाका अभिभावक र शिक्षक दुबैले ध्यान पुर्याउनु पर्ने एउटै मात्रै अंग छ त्यो हो बच्चाको आँखा ।’
उनका अनुसार पढाईको बेला सबैभन्दा क्रियाशिल हुने अंग आँखा सानैमा कमजोर भयो भने र समयमै उपचार हुन सकेन भने त्यसको दीर्घकालसम्म प्रभाव पर्छ ।अझ भनु उसको दृष्टि सदाका लागि गुम्न सक्छ । त्यसैले आफ्ना बच्चालाई स्कुल भर्ना गर्नु अघि दृष्टि परीक्षण गर्न जरूरी छ । बीच बीचमा पनि यसको फलोअप हुनुपर्छ ।
बच्चाको दृष्टि परीक्षण किन जरूरी ?
विभिन्न अध्ययनहरूले संसारका झण्डै ३ प्रतिशत बालबालिकाहरूमा दृष्टिदोष हुने गरेको जनाएको छ । तर नेपालकै कुरा गर्ने हो भने त्यो खालको समस्या हुने बालबालिकाको संख्या ३ होइन ५ प्रतिशत रहेको अनुमान छ ।
तीन-चार वर्षको उमेर देखी नै बच्चाहरूलाई मायोपिया(नजिकको देख्ने टाढाको नदेख्ने ) समस्या, हाइपरमेट्रोपिया (नजिक र टाढा दुबै धमिलो देख्ने ), अस्टिङमाटिजम (चस्मा लगाउनै पर्ने ) एम्वीलोपिया (आँखा अल्छि हुने) समस्या देखापर्छ । त्यस्तै धेरैमा ‘रिफ्लेक्टिभ इरर’ देखापर्छ, समयमै उपचार भएन भने त्यसले टाउको दुख्ने समस्या ल्याउछ ।
यी समस्या कतिपय सामान्य हेराईले थाह पनि हुँदैन । बच्चाहरू स्कुल त जान्छ शिक्षकले अगाडी लेखेको पछाडीबाट देख्न सक्दैन । फेरी आफ्नो आँखामा त्यस्तो समस्या छ भनेर पनि सबैले भन्न पनि सक्दैन यस्तो गर्दा बच्चाको आँखा कमजोर हुन्छ भने पढाई पनि त्यस्तै समस्यामा पर्छ । अझ आँखा अल्छि भयो र समयमै उपचार भएन भने पछि उपचार नै समेत सम्भव हुँदैन ।
बच्चाको आखा कमजोर छ भन्नेकुरा उसको क्रियाकलापबाट पनि थाह हुन्छ । त्यसैले घरमा अभिभावक र स्कुलमा शिक्षकहरूले यी कुराहरूको विशेष ख्याल गर्नुपर्छ ।
शिक्षक र अभिभावकले कसरी चिन्ने समस्या ?
– यदि कुनै बच्चाले स्कुलमा कक्षाकोठाको अगाडीको बेन्चमा बस्दा बोर्डमा लेखेको कुरा हेरेर सार्ने र कहिलेकाही पछाडीको बेन्चमा बस्दा साथीको कापीमा हेरेर सार्ने गर्यो भने त्यस्तो बच्चामा दृष्टि समस्या हुनसक्छ । यो कुरा शिक्षकले बुझनु पर्छ ।
– कक्षाकोठामा पढाएको बेलामा प्रफुल्ल मुद्रामा सुन्ने र लेख्न लगाउदा अफ्ठेरोसंग कितावका अक्षर हेर्यो भने पनि त्यो बच्चामा आँखासंग सम्वन्धीत समस्या छ भनेर जान्नुपर्छ । त्यो कुरा पनि कक्षामा शिक्षकले नै पढाउदा ख्याल राख्नुपर्छ ।
– शनिबार विदाका दिन फ्रेस हुने र आइतबार विद्यालय जाने बेलामा निनाउरो हुने गर्यो भने पनि उसलाई आँखाको समस्याले सताएको हुनसक्छ । यस्तो कुरा अभिभावकले ख्याल राख्नुपर्छ ।
– बिहान उठदा फ्रेस हुने तर स्कुलबाट आउँदा टाउको दुख्ने बतायो भने पनि उसमा आँखाको समस्या हुनसक्छ । अभिभावकले त्यतिवेला ख्याल राखी आँखा परीक्षणमा ध्यान पु¥याउनुपर्छ ।
– कितावका अक्षर हेर्दा, टाढाको बस्तु हेर्दा आँखा चिम्सा( खुम्च्यायो ) पार्यो भने पनि आँखामा समस्या हुन्छ । यस्तो लक्षण स्कुलमा शिक्षक र घरमा अभिभावकहरूले ख्याल गर्नुपर्छ ।
– टिभी सामान्य भन्दा नजिकबाट मात्रै हेर्छ भने पनि तपाईको बच्चामा आँखाको समस्या परेको हुनसक्छ । अभिभावकहरूले ख्याल गर्नुपर्छ ।
समाधानको उपाय के त ?
- माधानको उपाय आँखा जाँच गरेपछि सजिलै निस्कन्छ । जस्तै : मायोपिया भएको बच्चालाई माइनस पावरको चस्मा लगाइदिने, हाइपरमेट्रोपिया भएको बच्चालाई प्लस पावरको चस्मा लगाइदिने, कतिपयलाई त्यो भन्दा पनि समान्य समस्याले अल्झाइ राखेको हुन्छ ।
- आँखा टेढो हुने, रिफ्लेक्टिभइरर, अस्टिङमाइटिजम जस्ता समस्या समाधानको उपाय पनि सजिलो छ । तर समयमै नेत्र चिकित्सकहरूको पुर्याउनु पर्छ । किनकी आँखाको समस्या र समाधान दृष्टि परीक्षण विना नहुने भएकोले पनि बेला बखतमा परीक्षण गर्नु गराउनु आवश्यकता छ ।
- हामीले आफ्ना छोराछोरीहरू शारीरिक रूपमा स्वस्थ छन भन्छौ, चाहन्छौ तर महत्वपूर्ण मानिने आँखामा भित्र भित्रै समस्या रहेको हुन्छ जसको समयमै पहिचान नभई उपचारमा ढिलाई हुदा दृष्टि सदाका लागि कमजोर हुने वा गुम हुने अवस्था पनि आउन सक्छ । त्यसैले स्वस्थ बच्चाहरूको पनि नियमित रूमपा दृष्टि परीक्षण गराऔँ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




