धरानमा मधुमेह तथा ग्रन्थीरोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने
इटहरी, १७ कात्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रियस्तरको दक्षिण पूर्वी एसिया मधुमेह र ग्रन्थीरोग विशेषज्ञ (डाइवेटिक एण्ड इण्डोक्राइन) सम्मेलन हुने भएको छ ।
कात्तिक १८ देखि शुरु हुने उक्त दुई दिने सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, अमेरिका, बेलायत लगायतका मुलुकबाट पाँचसय बढी विशेषज्ञ चिकित्सकको सहभागिता रहने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
यस प्रकारको सम्मेलन नेपालको इतिहासमा उपत्यका बाहिर पहिलो पटक प्रतिष्ठानमा आयोजना गर्न लागिएको छ, सम्मेलनका संयोजक डा रवीन मास्केले भने,“बदलिँदो जीवनशैली, तयारी खानपान मात्र खाने, अर्गानिक सागसब्जी फलफूल नखाने वा नपाइने, शारीरिक श्रम नगर्ने संस्कार बढेको अवस्थामा दक्षिण एसियाली मुलुकमा मधुमेह र ग्रन्थीरोग बढेको विषयमा सम्मेलन केन्द्रीत भएको छ ।”
‘आयोजक समितिका सचिव डा विवेक कट्टेलले सम्मेलनमा दक्षिण एसियामा मधुमेह र ग्रन्थीरोगका दक्ष चिकित्सक कम हुनु चुनौती रहेको बताउँदै “विश्वका एक तिहाई मधुमेह र ग्रन्थीरोगी दक्षिण पूर्वी एसियामा मात्रै छन्,” भने ।
उनले संसारभरीबाट सहभागी भएका मुधुमेह र ग्रन्थीरोग विषेशज्ञको भेलामा किन दक्षिण पूर्वी एसियाका मानिसमा यो रोग बढी देखियो भन्ने विषयमा बढी छलफल गरिने पनि जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, डाइवेटिक एण्ड इण्डोक्राइन एशोसिएसन नेपाल (डिइएएन) र साउथ इस्ट एसिया डाइवेटिक एण्ड इण्डोक्राइन फोरम (एसइएडीइएफ) को संयुक्त आयोजनामा हुने सम्मेलनमा मधुमेह र ग्रन्थीरोग माथि पाँच दर्जन बढी चिकित्सक वैज्ञानिकबाट सोध अनुसन्धान पत्र प्रस्तुत गरिने कार्यक्रम रहेको बताइएको छ ।
दक्ष चिकित्सकको कमीका बीच मधुमेह र ग्रन्थीरोगीको गुणस्तरीय उपचार, नयाँ÷नयाँ प्रविधि, औषधिका विषयमा ज्ञान आदानप्रदान गरिने र दक्षिण पूर्वी एसिया बाहिरका मुलुकले मधुमेह र ग्रन्थीरोग उपचारमा प्रयोग गरेका नयाँ खोज एवं औषधि र प्रविधि तथा उपकरण कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस् निष्कर्ष निकाल्ने आयोजकले जनाएको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



