मणिपाल प्रकरणमा छानवीन समितिको प्रतिवेदन : ‘प्रशासन र चिकित्सक दुवै दोषी’

काठमाडौँ, १६ वैशाख । सरकारी छानवीन टोलीले दुर्घटनाको घाइतेको उपचार नगर्ने पोखरास्थित मणिपाल शिक्षण अस्पताल र त्यसमा कार्यरत चिकित्सक दुबै दोषी रहेको निष्कर्ष निकालेको छ ।

गत ९ बैशाखमा मुस्ताङको कागबेनी भएको गाडी दुर्घटनामा परेका घाइतेहरुको उपचार मणिपाल अस्पतालले नगरेपछि स्वास्थ्य मन्त्रालयले छानवीन समिति गठन गरेको थियो । सोही समितिले छानवीन पछि यस्तो प्रतिवेदन दिएको हो ।

स्वास्थ्य मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा समितिले अस्पताल प्रशासन र चिकित्सक दुवैलाई कानुनी राय लिई कारबाही गर्नुपर्ने आसयको सुझाव दिएको छ ।

दुर्घटनामा घाइतेको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाई चिकित्सकले उपचार गर्न मनाही गरेपछि सरकारले यथार्थ बुझ्न वैशाख १० गते नेपाल मेडिकल काउन्सिलका चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठ संयोजक तथा नेपाल मेडिकल काउन्सिलका सदस्य प्राडा ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

प्रतिवेदनमा अस्पतालका ५७ चिकित्सकले प्रशासनसँग विभिन्न माग राखी केही महिनादेखि आन्दोलन गरिरहेकाले उपचारका लागि ल्याइएका घाइतेको उपचार नगर्दा प्रत्यक्ष मारमा घाइते र बिरामी परेका ठहर गरिएको छ । छानविन समितिले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा प्रशासन र चिकित्सकबारे प्रचलित कानुनबारे सुझाव पेस गर्न मन्त्रालयलाई सुझाव दिएको थियो ।

सविधानको धारा ३५ मा स्वास्थ्य सेवाको व्यवस्था गरी अत्यावश्यक स्वास्थ्य सेवाबाट जनतालाई वञ्चित गरिने छैन भनी उल्लेख गरेकाले अस्पताल र चिकित्सकको लाइसेन्स खारेजसमेत गर्न सकिने आशयको सुझाव दिएको स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए ।

उनले भने, ‘‘अस्पतालले सविधानको समेत अवज्ञा गरी जनताले पाउनुपर्ने अत्यावश्य सेवा नदिने आन्दोलनरत चिकित्सक र सम्बन्धित अस्पतालका कार्यकारी निर्देशक पनि दोषी भएकाले कारबाही गर्न सुझाव दिइएको हो ।’’

छानविन समिति र कानुनी सल्लाहकारको सुझावका आधारमा अस्पतालल प्रशासन र चिकित्सकलाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *