हैजा नियन्त्रण गर्न नयाँ पञ्चवर्षीय योजना

काठमाडौँ, २८ चैत । सरकारले झाडापखाला एवम् कलेरा (हैजा)को नियन्त्रणसम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सुरु गरेको छ ।

नेपाल हैजाको जोखिममा छ । हरेक वर्ष विभिन्न स्थानमा महामारीको रुपमा फैलँदा धेरै मानिसले ज्यान गुमाइरहेकाले यसको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सार्वजनिक गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आगामी दिनमा सरकारी तथा गैह्रसरकारी संस्थाका लागि हैजा नियन्त्रणसम्बन्धी काम गर्न उक्त योजना मुख्य दस्तावेज हुने बताए।

उनले भने, ‘‘हैजा नियन्त्रणका लागि गर्न सकिने सुधारका अवसर, चुनौती, वर्तमान कार्यक्रमको सबल र कमजोर पक्षबारे योजनामा गहन विश्लेषण गरिएको छ । यसको मुख्य उद्देश्य भनेको देशभर हैजाका घटनामा कमी ल्याई जनताको स्वास्थ्यमा सुधार ल्याउनु हो ।’’

महाशाखाका उपस्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले योजनाले हैजा फैलन नदिने, हैजाबाट हुने मृत्युका घटना र महामारी नियन्त्रणको लागि सहयोगात्मक र समन्वयात्मक व्यवस्था गर्ने बताए ।

दूषित पानी र खानाबाट सर्ने हैजा छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हो । समयमा उपचार नभए ज्यान जानसक्छ । वान्ता हुनु, पालतो दिसा हुनु र जीउ शिथिल हुनुजस्ता लक्षण देखिने हैजा ब्याक्टेरियाबाट सर्ने गर्दछ ।

विश्वमा २८ हजार देखि १ लाख ४२ हजार जना व्यक्तिको हैजाको कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको उल्लेख गरेको छ । गत वर्षमात्र काठमाडौँ उपत्यकामा दूषित पानीका कारण १६९ व्यक्तिमा हैजा देखिएको पुष्टि भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *