जुम्लामा निःशुल्क स्वास्थ्य परीक्षण

जुम्ला, १६ चैत । दुर्गमका बिरामीलाई लक्ष्य गरेर सञ्चालन भएको स्वास्थ्य शिविरमा पाँच सय ९० बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

पेस नेपालको स्थानीय आयोजना, जिल्ला स्वास्थ्य कार्यालयको सहआयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यही चैत १२–१५ गतेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालित शिविरमा आगोले पोलेका, पैतला फर्किएका र अन्य विभिन्न समस्या भएका ७४ बिरामीको प्लास्टिक सर्जरी गरिएको सुष्मा कोइराला अस्पतालका डेपुटी डाइरेक्टर सन्तोषविक्रम भण्डारीले जानकारी दिए ।

उनका अनुसार तीन सय ८८ जनाको सामान्य उपचार गरिएको छ । शिविरमा एक सय २८ जटिल बिरामीको सिफारिस गरिएको छ ।

डा भण्डारीले कर्णालीमा छालाको सौन्दर्यसम्बन्धी समस्याका बिरामी धेरै भएको हुँदा प्रतिष्ठानले प्लास्टिक सर्जरी विभाग सुरु गर्न आवश्यक रहेको औँल्याए। आयोजक पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले सिफारिस गरिएका सबै बिरामीको काठमाडौँमा निःशुल्क उपचार हुने जानकारी दिए ।

शिविरमा डा भण्डारीसहित जर्मनीका डा जुर्गेन हसमान र रुडिडर लोहमानले शिविरको अगुवाइ गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शिविर सञ्चालनबाट जुम्ली जनतालाई लाभ पुगेको बताउँवदै कर्णालीका जिल्लामा पछि पनि शिविर सञ्चालन गर्न आयोजकलाई अनुरोध गरे ।

निमित्त जिल्ला स्वास्थ्य प्रमुख पृथ्वीनाथ योगीले शिविरमा स्वास्थ्य कार्यालयले आवश्यकतानुसार सहयोग गरेको बताए  । प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाले छोटो अवधिमा सञ्चालित शिविरबाट धेरै बिरामीले निःशुल्क सेवा लिन पाएको बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *