ल्याब सेवा बन्द हुँदा बिरामी मर्कामा

220
Shares

म्याग्दी, २१ फागुन । म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सञ्चालित ल्याब सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।

बजेट र जनशक्तिको अभावमा ल्याब सञ्चालन नहुँदा सर्वसाधारण सो सेवाका लागि सदरमुकाम धाउन बाध्य भएका हुन् । चौकीमा कार्यरत ल्याब असिस्टेन्ट विवाह गरेर मुस्ताङ गएपछि गत भदौदेखि सेवा बन्द भएको हो ।

स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ल्याब असिस्टेन्टलाई तलब उपलब्ध गराइँदै आएको थियो । प्राविधिक नहुँदा गर्भजाँच, रगत, युरिक एसिड, कमलपित्त (जन्डिस), एनिमिया, एचआइभी, क्षयरोग, सुगर, पिसाब परीक्षण सेवा बन्द भएका स्वास्थ्य चौकीका निमित्त प्रमुख विक्रम पुनले बताए ।

ल्याब बन्द हुँदा सो सेवाका लागि भुरुङ तातोपानी, नारच्याङ, दाना, शिख, घार, दोवाका बासिन्दाहरु सदरमुकाम पुग्न बाध्य भएका स्थानीय दशरथकुमार कर्माचार्यले गुनासो गरे । दैनिक दश जनाको अनुपातमा ल्याब सेवा लिन आउने बिरामी फर्कन बाध्य भएका छन् । प्राबिधिक नहुँदा यस वर्ष गाविस कार्यालयले स्वास्थ्य चौकीलाई दिदै आएको अनुदान कटौती गरेको छ ।

गाविस र भुरुङ तातोपानी कुण्डको अनुदान सहयोगमा ल्याब असिस्टेन्टलाई तलबको व्यवस्था गरिँदै आएको थियो । प्राविधिक जनशक्ति खोजी र आर्थिक स्रोत व्यवस्था गरेर सेवा सञ्चालन गर्न पहल भइरहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष आत्मा तुलाचनले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *