‘हाम्रो योजना प्रदेशका ठूला अस्पतालबाट सुरु गरेर अन्य अस्पतालमा पनि चिकित्सा शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्ने हो’
प्राडा अंकुर साह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन् । उनी प्रतिष्ठानका संस्थापक रेक्टर समेत हुन् । त्यसअघि उनी नेपाल मेडिकल काउन्सिलमा समेत आवद्ध थिए । युवा चिकित्सक, स्थानीय अनि देश परिवेश बुझेको व्यक्ति प्रतिष्ठानमा नेतृत्व लिन आईरहँदा उनले के सोचेका थिए ? अहिले के भएको छ ? प्रतिष्ठानलाई अघि बढाउन उनको टिमले के के गरिरहेको छ ? संघीय सरकारको साथ कहाँ निर खोजि रहेको छ ? यिनै विषयमा केन्द्रित रहेर नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनीसंग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सार संक्षेप :

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाकाल देखि नै तपाईँ कुनै न कुनै भूमिकामा हुनुहुन्छ, प्रतिष्ठान स्थापना हुँदाको उद्देश्यअनुसार अहिले काम भइरहेको छ ? स्थापनाकालदेखि हालसम्मको प्रगतिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल उद्देश्य हेर्ने हो भने तीनवटा प्रमुख पक्ष छन्। पहिलो, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने। दोस्रो, दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने। र तेस्रो, स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने।
यी तीनवटै पक्षमा भएको प्रगति हेर्दा हामीले क्रमिक रूपमा राम्रो काम गरिरहेका छौँ भन्ने लाग्छ।
स्वास्थ्य सेवातर्फ पहिले नै अस्पताल सञ्चालनमा थियो। हामीले त्यसको सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिएका छौँ। यसबीच धेरै नयाँ सेवा थपिएका छन्। कार्डियोलोजी विभाग स्थापना भएको छ। न्युरो सर्जरी विभाग सुरु गरेका छौँ। इन्डोक्राइनोलोजी, नेफ्रोलोजीलगायतका विभिन्न उपविशेषज्ञ सेवाहरू पनि विस्तार गरेका छौँ।
स्वास्थ्य सेवा यस्तो क्षेत्र हो, जहाँ जति काम गरे पनि पूर्ण भयो भन्न सकिँदैन। आवश्यकता निरन्तर बढिरहन्छ। तर, अहिलेसम्म जुन गतिमा काम भएको छ, त्यसमा हामी केही हदसम्म सन्तुष्ट छौँ।
स्वास्थ्य शिक्षाको क्षेत्रमा त हामीले अपेक्षाभन्दा राम्रो प्रगति गरेका छौँ। सुरुमा प्रतिष्ठानलाई मुख्यतः स्नातकोत्तर तहको चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने लक्ष्य थियो। तर पाँच वर्षको अवधिमा हामीले आठवटा क्लिनिकल विषयमा स्नातकोत्तर तहको कार्यक्रम सुरु गरिसकेका छौँ। नर्सिङ र पब्लिक हेल्थमा पनि स्नातकोत्तर कार्यक्रम सञ्चालनमा आएका छन्।
त्यसैगरी, स्नातक तहका पाँचवटा कार्यक्रम सञ्चालनमा छन्। तीमध्ये एमबीबीएस कार्यक्रमसमेत सुरु भएको छ। केही कार्यक्रमका विद्यार्थी दीक्षित भइसकेका छन् र प्रतिष्ठानको दीक्षान्त समारोहसमेत सम्पन्न भएको छ।
कुनै संस्थाको नेतृत्वमा आउँदा त्यसको शैक्षिक कार्यक्रम सुरु गर्ने र आफ्नै कार्यकालमा विद्यार्थी भर्ना भएर अध्ययन पूरा गरी दीक्षित भएको देख्न पाउनु दुर्लभ संयोग हो। यो अवसर पाउनु मेरा लागि खुसी र सन्तुष्टिको विषय हो।
अनुसन्धानको क्षेत्रमा भने हामी यहाँ आउँदा स्वास्थ्य अनुसन्धानको अवस्था लगभग शून्यप्रायः थियो। यहाँ कार्यरत अधिकांश जनशक्ति चिकित्सकीय सेवामा मात्रै केन्द्रित थियो। उहाँहरूलाई अनुसन्धान र शैक्षिक गतिविधितर्फ अभिमुख गराउन समय लाग्ने स्वाभाविक थियो।
त्यसैले हामीले अनुसन्धानमा रुचि बढाउन सानो भए पनि बीउ पुँजी ९सिड मनी० को व्यवस्था गर्यौँ। विभिन्न तालिम तथा प्रशिक्षण सञ्चालन गर्यौँ। अहिले पनि अनुसन्धानसम्बन्धी तालिम भइरहेका छन्। यसले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा अनुसन्धानप्रतिको रुचि बढाएको छ। अहिले क्रमशः साना अनुसन्धानका कामहरू हुन थालेका छन्। सबैजसो जनशक्ति अनुसन्धानको महत्त्व बुझ्ने र त्यसतर्फ अभिमुख हुने क्रम सुरु भएको छ।
समग्रमा, स्थापना हुँदाका तीनवटै उद्देश्यमा हामीले क्रमिक रूपमा प्रगति गरिरहेका छौँ।
प्रतिष्ठानको प्रगति आफ्नो ठाउँमा छ, तर आम नागरिकको सरोकार भनेको अस्पतालले दिने स्वास्थ्य सेवासँग बढी हुन्छ। सर्वसाधारणले सहज रूपमा गुणस्तरीय सेवा पाउने सन्दर्भमा स्थापनाकाल र अहिलेको अवस्थाबीच कस्तो परिवर्तन आएको छ ?
– स्वास्थ्य सेवा विस्तार अलि जटिल विषय हो। स्वास्थ्य शिक्षा र अनुसन्धानको तुलनामा स्वास्थ्य सेवाको विस्तारका लागि धेरै स्रोतसाधन आवश्यक पर्छ। एउटा कार्यालय वा एक जना पदाधिकारीको प्रयासले मात्रै यो सम्भव हुँदैन।
यसका लागि जनशक्ति, भौतिक पूर्वाधार, उपकरण र आर्थिक स्रोत सबै आवश्यक हुन्छन्। अर्को महत्त्वपूर्ण कुरा के हो भने जनकपुरस्थित अस्पतालको मात्रै विकास गरेर प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढ हुँदैन।
यसका लागि दुईवटा पक्षमा एकसाथ काम गर्नुपर्छ। एउटा, ठूला अस्पतालमा विशिष्टीकृत सेवा विस्तार गर्ने। अर्को, प्रदेशका अन्य अस्पताललाई पनि सुदृढ बनाउने। यसलाई स्वास्थ्य प्रणालीको ठाडो र तेर्सो दुवै प्रकारको एकीकरण तथा विस्तारका रूपमा बुझ्न सकिन्छ।
हामीले यहाँ विशेषज्ञ तथा विशिष्टीकृत सेवा विस्तार गर्न थालेका छौँ। तर प्रदेशका अन्य अस्पतालमा पनि त्यस्तै सेवा उपलब्ध हुन सकेन भने सबै बिरामीको चाप जनकपुर अस्पतालमै पर्नेछ। जति बेड थपे पनि त्यो चाप धान्न सम्भव हुँदैन।
उदाहरणका लागि, प्राथमिक स्वास्थ्य सेवाबाटै समाधान हुन सक्ने बिरामी पनि जनकपुर अस्पताल आइपुगे भने अस्पतालको क्षमता विस्तार गरेर मात्रै समस्या समाधान हुँदैन। त्यसका लागि प्रदेशका प्राथमिक, जिल्ला तथा प्रादेशिक अस्पतालहरूको सेवा पनि बलियो हुनुपर्छ।
हामीले विशिष्टीकृत सेवा सुरु गरेका छौँ। तर त्यसमा अझै धेरै काम गर्न बाँकी छ। अहिले पनि हाम्रो ठूलो जनशक्ति, समय र आर्थिक स्रोत विशेषज्ञ सेवाको सञ्चालनमै खर्च भइरहेको छ।
अर्कोतर्फ, भौतिक पूर्वाधार विस्तार हुन सकेको छैन। अन्य प्रदेशका अस्पतालहरूको अवस्था हेर्ने हो भने धेरै पुराना अञ्चल अस्पतालमा बेड विस्तार भइसकेको छ। लुम्बिनी प्रदेशले ६०० देखि ७०० बेड क्षमताको अस्पताल निर्माण गरेको छ। कोसी र नेपालगन्जमा पनि बेड विस्तार भएका छन्। सुर्खेतमा समेत पूर्वाधार विस्तार भएको छ। तर जनकपुरमा अझै पनि बेड संख्या सीमित छ।
त्यसैले यहाँ पनि पूर्वाधार विस्तार अपरिहार्य भइसकेको छ।
तपाईंले स्वास्थ्य सेवाको विस्तारमा भौतिक पूर्वाधार र जनशक्तिको अभावलाई मुख्य चुनौतीका रूपमा औँल्याउनुभयो। प्रतिष्ठानले चाहेजस्तो गतिमा काम गर्न नसक्नुका अन्य चुनौती के–के हुन् जस्तो लाग्छ ?
– मुख्य चुनौती स्रोतसाधनकै हो। पूर्वाधार निर्माणका लागि आवश्यक बजेट नआएसम्म सेवा विस्तार गर्न कठिन हुन्छ।
यसबीच अमेरिकी दूतावासअन्तर्गतको युएस प्यासिफिक कमान्डसँग सम्बन्धित सहयोगबाट हामीले तीन ठाउँमा मातृत्व तथा बर्थिङ सेन्टरका भवन निर्माण गरेका छौँ। त्यसबाहेक व्यावहारिक रूपमा करिब ७० बेड मात्रै विस्तार गर्न सकेका छौँ। अन्यत्र छत तथा कौसीमा प्रिफ्याब संरचना थपेर सेवा विस्तार गर्ने प्रयास भएको छ। तर यसबाट आवश्यकताअनुसार बेड थप्न सम्भव छैन।
अहिले हाम्रो आवश्यकता सामान्य बेडभन्दा पनि सघन उपचार कक्षका बेडहरूको बढी छ। आईसीयू, एचडीयू, एनआईसीयू, पीआईसीयू र शल्यक्रियापछिको सघन उपचार कक्ष (पोस्टअपरेटिभ आईसीयू) विस्तार गर्नुपर्ने अवस्था छ।
यस्ता बेड सञ्चालन गर्न सामान्य बेडको तुलनामा बढी ठाउँ र दक्ष जनशक्ति आवश्यक पर्छ। त्यसैले हामीले २००, ३०० वा सम्भव भए ५०० बेडसम्म थप्न सकिने छुट्टै भवन निर्माणको आवश्यकता देखेका छौँ।
हामीले प्रतिष्ठान स्थापना गर्दा अस्पतालको ओपीडीमा दैनिक करिब ३०० देखि ४०० जना बिरामी आउँथे। अहिले यो संख्या बढेर १२०० देखि १५०० हुँदै १५००–१६०० सम्म पुगेको छ। त्यस्तै, पहिले दैनिक करिब २०० देखि २५० वटा शल्यक्रिया हुन्थे भने अहिले त्यो संख्या बढेर करिब ५०० देखि ६०० पुगेको छ।
शल्यक्रियाको संख्या बढ्दै जाँदा त्यससँग सम्बन्धित अन्य आवश्यकता पनि बढ्छन्। शल्यक्रियापछि बिरामीलाई राख्ने बेड, सर्जिकल आईसीयू, अर्थोपेडिक तथा पेडियाट्रिक बेडलगायतका सुविधा आवश्यक हुन्छन्।
त्यसैले शल्यक्रियाको संख्या मात्रै बढाएर हुँदैन, त्यसलाई धान्न सक्ने पूर्वाधार पनि चाहिन्छ। अहिले हामीले भोगिरहेको मुख्य समस्या यही हो।
जनशक्ति थप्ने विषयमा पनि काम भइरहेको छ। सरकारी अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दरबन्दी थप्ने वा प्रतिष्ठानलाई नै स्रोत उपलब्ध गराएर बेड तथा सेवा विस्तार गर्ने भन्ने विषयमा प्रस्ताव अघि बढाइएको छ। दुवै पक्षमा काम गर्नुपर्ने आवश्यकता छ।
तर जनशक्तिको दरबन्दी थपिँदैमा मात्रै पुग्दैन। त्यससँगै भौतिक पूर्वाधार पनि विस्तार हुनुपर्छ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेश प्रदेशको स्वास्थ्य क्षेत्रका लागि ‘गेमचेन्जर’ संस्था बन्न सक्छ भन्ने अपेक्षा छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले देशभर स्नातकोत्तर तहका चिकित्सक उत्पादनमा योगदान पुर्याएजस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि प्रदेशका आठवटै जिल्लाका अस्पताललाई समेटेर विशेषज्ञ सेवा र चिकित्सा शिक्षा विस्तार गर्न सक्छ ?
– निश्चित रूपमा सक्छ। हाम्रो योजना नै त्यही हो।
हामीले सुरुमा स्नातकोत्तर कार्यक्रम विस्तार गर्दा अन्य जिल्लाका अस्पतालमा पनि विद्यार्थीको परिधीय पोस्टिङ गराउने विषयमा छलफल गरेका थियौँ। जलेश्वरलगायतका अस्पतालसँग यसबारे कुराकानी भएको थियो।
पछिल्लो समय वीरगन्जस्थित नारायणी अस्पतालसँग पनि स्नातकोत्तर कार्यक्रम विस्तार गर्ने विषयमा छलफल भइरहेको छ। भौगोलिक रूपमा जनकपुरबाट करिब साढे दुई घण्टाको दूरीमा रहेको वीरगन्जमा पर्याप्त बिरामी र फ्याकल्टी भएकाले त्यहाँ कार्यक्रम विस्तार गर्न सहज हुन सक्छ।
स्वास्थ्य शिक्षाले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्छ। जहाँ स्नातकोत्तर कार्यक्रम सुरु भएका छन्, त्यहाँको सेवा गुणस्तरमा पनि सुधार आएको देखिन्छ।
हाम्रो योजना प्रदेशका ठूला अस्पतालबाट सुरु गरेर क्रमशः अन्य अस्पतालमा पनि चिकित्सा शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्ने हो।
वीरगन्जपछि कुन जिल्लाको अस्पतालमा कुन सेवा बढी आवश्यक छ र कुन विषयको स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गरेर अगाडि बढ्ने योजना छ।
आजभन्दा १५–२० वर्षअघि जनकपुर अस्पतालमा जति बिरामी आउँथे र जति सेवा उपलब्ध थियो, अहिले त्यस्तै अवस्था प्रदेशका अन्य पुराना जिल्ला अस्पतालहरूमा पनि विकसित हुँदै गएको छ। गौर, कलैया, सिरहा र मलंगवालगायतका अस्पतालमा बिरामीको चाप र सेवा विस्तार दुवै बढेका छन्।
त्यसैले ती अस्पतालको आवश्यकता र क्षमताका आधारमा त्यहाँ पनि स्नातकोत्तर कार्यक्रम विस्तार गर्न सकिन्छ। यसले एकातिर दक्ष जनशक्ति उत्पादन गर्छ भने अर्कोतिर सम्बन्धित अस्पतालको सेवा गुणस्तरसमेत बढाउँछ।
यसका लागि प्रदेश सरकारले कत्तिको सहयोग गरिरहेको छ ? जिल्ला अस्पतालमा पोस्टिङ तथा कार्यक्रम विस्तार गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराइएको छ ?
– प्रतिष्ठानले सरकारबाट अनुदान प्राप्त गर्छ। प्रत्येक कार्यक्रम वा गतिविधिका लागि छुट्टाछुट्टै बजेट शीर्षक हुँदैन। प्राप्त अनुदानलाई विभिन्न शीर्षकमा वर्गीकरण गरेर खर्च गर्ने काम सिनेटले गर्छ।
हाम्रो सिनेटको अध्यक्ष सहकुलपति अर्थात् प्रदेशका स्वास्थ्यमन्त्री हुनुहुन्छ। त्यसैले आवश्यक कार्यक्रम तथा विस्तारका विषयमा सिनेटबाट नीतिगत निर्णय र छलफल हुँदै आएका छन्।
प्रदेश सरकारको दृष्टिकोण सकारात्मक छ। स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा र अन्य अस्पतालमा सेवा विस्तार गर्ने विषयमा पनि सरकारसँग छलफल भइरहेको छ।
तर नेपालका कुनै पनि संस्थाका लागि बजेट पर्याप्त हुन्छ भन्न सकिँदैन। आवश्यकताअनुसार स्रोतसाधन थपिँदै जानुपर्छ। हामीले पनि उपलब्ध स्रोतलाई कसरी प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ।
अहिले पनि मधेश प्रदेशका नागरिक सामान्य उपचारका लागि काठमाडौं, विराटनगर वा भारत जानुपर्ने अवस्था छ। यो बाध्यता पूर्ण रूपमा हटाउन नसकिए पनि प्रदेशमै सम्भव हुने सामान्य र विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउने अवस्था कहिलेसम्म आउला ?

– विशेषज्ञ सेवाको सन्दर्भमा हेर्दा अहिले पनि सेवा प्रदायक जनशक्तिको अभावका कारण बिरामी बाहिर जानुपर्ने अवस्था भन्दा पनि मुख्य समस्या बिरामीको चापअनुसार बेड र पूर्वाधार पर्याप्त नहुनु हो।
उदाहरणका लागि, मेडिसिन वा पेडियाट्रिक्सका विशेषज्ञ सेवा उपलब्ध हुँदाहुँदै पनि बेड नपाएका कारण बिरामी बाहिर जानुपर्ने अवस्था छ। अर्थात् सेवा दिन नसक्ने अवस्था होइन, तर उपलब्ध क्षमताभन्दा बिरामीको संख्या बढी छ।
हामीले विशिष्टीकृत सेवा क्रमशः विस्तार गरिरहेका छौँ। कार्डियोलोजीअन्तर्गत क्याथल्याब सेवा सुरु गरेका छौँ। न्युरो सर्जरीका लागि आवश्यक एमआरए सेवा उपलब्ध भएको छ। अब न्युरो सर्जरीको अपरेसन थिएटर र न्युरो सर्जिकल आईसीयू विस्तार गर्नुपर्नेछ।
विशेषज्ञ सेवाको विस्तारसँगै त्यसलाई सहयोग गर्ने अन्य सेवा पनि आवश्यक हुन्छन्। त्यसैले हामी क्रमशः ती सबै सुविधा थप्दै जाने योजनामा छौँ।
तर एउटा अस्पतालले मात्रै प्रदेशका सबै बिरामीको उपचार गर्न सम्भव हुँदैन। उदाहरणका लागि, एपेन्डिक्सको सामान्य शल्यक्रिया वा सिजेरियन सेक्सनजस्ता सेवा अन्य जिल्लाका अस्पतालमा पनि उपलब्ध हुनुपर्छ।
आजभन्दा १५ वर्षअघि सिजेरियन सेक्सन गराउन जनकपुर, वीरगन्ज वा सप्तरी पुग्नुपर्ने अवस्था थियो। अहिले प्रदेशका धेरै प्रादेशिक तथा पुराना जिल्ला अस्पतालमा पनि यो सेवा उपलब्ध छ। त्यसैले जटिल सिजेरियनका बिरामी मात्रै जनकपुर आउने अवस्था विकसित हुँदै गएको छ।
यस्तै अन्य सेवा पनि जिल्लास्तरमा विस्तार गर्न सकियो भने जनकपुर अस्पतालमा सामान्य उपचारका लागि आउने बिरामीको चाप कम हुन्छ। त्यसपछि यहाँ अझ विशिष्टीकृत र जटिल उपचारमा ध्यान दिन सकिन्छ।
हाम्रो अहिलेको संरचना नियमित सेवाकै लागि बढी चापमा छ। त्यसैले प्रदेशका अन्य अस्पतालको सुदृढीकरण पनि उत्तिकै आवश्यक छ।
तपाईंको कार्यकाल सकिन लाग्दा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेश प्रदेशको स्वास्थ्य सेवाको ‘गेमचेन्जर’ संस्था बन्न सक्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– यसमा म पूर्ण रूपमा विश्वस्त छु। अहिलेसम्म हामीले गरेको प्रगति आफैँमा उल्लेखनीय छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरुवातदेखि क्रमिक रूपमा आफ्नो सेवा र शैक्षिक कार्यक्रम विस्तार गर्दै जसरी देशव्यापी प्रभाव स्थापित गर्न सक्यो, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि त्यसैगरी मधेश प्रदेशका सबै जिल्लाका अस्पतालसम्म पुग्न सक्छ भन्ने मेरो विश्वास छ।
तर जनताको अपेक्षाअनुसार सेवा पुर्याउन सरकार पनि त्यत्तिकै प्रतिबद्ध हुनुपर्छ। स्वास्थ्य क्षेत्रमा हरेक वर्ष लगानी बढाउन आवश्यक छ।
अहिले मैले सबैभन्दा महत्त्वपूर्ण देखेका दुईवटा विषय भौतिक पूर्वाधार र जनशक्ति हुन्। प्रदेश सरकारले अस्पतालहरूको ओएनएम गरेर दरबन्दी बढाउने प्रक्रिया अघि बढाउनु सकारात्मक कदम हो। अब दरबन्दी बढेसँगै अस्पतालका भौतिक संरचना पनि विस्तार गर्नुपर्छ।
पहिले जिल्ला अस्पतालमा सीमित सेवा मात्रै उपलब्ध हुन्थे। तर अहिले धेरै अस्पतालमा सेवा र बिरामीको चाप दुवै बढेका छन्। त्यसैले ती अस्पताललाई पनि पूर्वाधार र जनशक्तिका हिसाबले सुदृढ बनाउनुपर्छ।
प्रतिष्ठानको शैक्षिक पूर्वाधार विस्तारको काम कहाँसम्म पुगेको छ ? एकेडेमिक ब्लक र जग्गा व्यवस्थापनबारे केही बताइदिनुहोस्।
– हामीले गुठी संस्थानसँग ३० वर्षका लागि करिब १८ बिघा जग्गा दीर्घकालीन लिजमा लिएका छौँ। त्यहाँ शैक्षिक पूर्वाधार विस्तारको काम भइरहेको छ। अहिलेसम्म शैक्षिक प्रयोजनका लागि करिब २५ वटा भवन निर्माण गरेका छौँ।
केही भवन निर्माणका लागि संघीय मन्त्रालयबाट अनुदान प्राप्त भएको छ भने केही भवन प्रदेशको शिक्षा मन्त्रालयको सहयोगमा बनेका छन्।
हाम्रो योजना क्रमशः सबै शैक्षिक गतिविधि मणिमण्डपस्थित जग्गामा स्थानान्तरण गर्ने हो।
हाल हामीले मनिपाल कलेजले पहिले प्रयोग गरेको भवनमा शैक्षिक गतिविधि सञ्चालन गरिरहेका छौँ। कोभिड महामारीका बेला प्रदेश सरकारले उक्त भवनलाई कोभिड अस्पतालका रूपमा प्रयोग गर्न अधिग्रहण गरेर सञ्चालनको जिम्मेवारी हामीलाई दिएको थियो। महामारी सकिएपछि दुईवटा अस्पताल सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले हामीले उक्त भवनलाई शैक्षिक प्रयोजनमा प्रयोग गर्न थालेका हौँ।
तर उक्त भवनको स्वामित्व र व्यवस्थापनको विषय अझै टुङ्गिएको छैन। मनिपालसँगको छलफलमा केही मुआब्जा उपलब्ध गराउन सके भवन प्रतिष्ठानलाई हस्तान्तरण गर्न सकिने प्रस्ताव आएको छ। जग्गा भने गुठी संस्थानकै स्वामित्वमा छ।
हामीले बुझ्दा गुठीको जग्गामा बनेको भवन खरिद गर्ने कानुनी प्रावधानमा पनि केही जटिलता देखिएको छ। प्रदेश सरकारले यस वर्ष भवन खरिदका लागि केही बजेट विनियोजन गरेको भए पनि त्यो पर्याप्त छैन।
यदि कुनै दातृ संस्था वा दानवीरले सहयोग गर्न सक्नुभयो भने यो समस्या समाधान गर्न सकिन्छ। मनिपाल पक्षसँगको छलफलमा आठदेखि दस करोड रुपैयाँ उपलब्ध गराउन सके भवनसम्बन्धी आफ्नो स्वामित्व छोड्न सकिने प्रस्ताव आएको थियो।
त्यस्तो सहयोग प्राप्त भए भवनको कुनै ब्लक वा संरचनाको नामकरण सहयोगी दाताको नाममा गर्न सकिन्छ। गुठी संस्थानसँग जग्गाको लिजसम्बन्धी प्रक्रिया पनि अघि बढाउन सकिन्छ।
त्यो भवन र पूर्वाधार हामीले आफ्नै आवश्यकता तथा योजनाअनुसार प्रयोग गर्न पायौँ भने स्वास्थ्य शिक्षा र अस्पताल सेवाको विस्तारमा ठूलो सहयोग पुग्नेछ। अहिले हामीले भोगिरहेको भौतिक पूर्वाधारको अभावलाई तत्काल केही हदसम्म समाधान गर्न सकिनेछ।
प्रतिष्ठानमा अहिले कुन–कुन शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ? विद्यार्थी संख्या र स्नातकोत्तर कार्यक्रमको अवस्थाबारे पनि बताइदिनुहोस्।
– अहिले हामीसँग स्नातक तहका पाँचवटा कार्यक्रम सञ्चालनमा छन्। ती हुन्– बीएससी नर्सिङ, बीपीएच, बीएन, बीएमएलटी र एमबीबीएस।
एमबीबीएसमा ५० सिट उपलब्ध छन्। बीएससी नर्सिङमा २० सिट र अन्य कार्यक्रमहरूमा विद्यार्थी संख्याअनुसार सिट निर्धारण गरिएको छ।
स्नातकोत्तर तहको कार्यक्रम सुरु गर्दा हामीले पेडियाट्रिक्स र प्रसूति तथा स्त्रीरोग (गाइनेकोलोजी) विषयबाट सुरुवात गरेका थियौँ। अहिले विस्तार भएर आठवटा क्लिनिकल विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका छन्।
ती विषयमा मेडिसिन, सर्जरी, पेडियाट्रिक्स, गाइनेकोलोजी, अर्थोपेडिक्स, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन, रेडियोलोजी र ईएनटी रहेका छन्।
अब डर्माटोलोजी, साइकियाट्री र एनेस्थेसियोलोजी विषयमा पनि स्नातकोत्तर कार्यक्रम विस्तार गर्ने योजना छ।
त्यसैगरी, नर्सिङ र पब्लिक हेल्थमा पनि स्नातकोत्तर कार्यक्रम सुरु गरेका छौँ। समग्रमा पाँचवटा स्नातक तहका कार्यक्रम र विभिन्न विषयमा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनमा छन्।
प्रतिष्ठान स्थापना हुँदा दैनिक ओपीडीमा आउने बिरामीको संख्या करिब ३००–४०० थियो, अहिले त्यो बढेर १५००–१६०० पुगेको छ। बिरामीको चाप बढ्नुका मुख्य कारण के हुन् ?
– यसका पछाडि धेरै कारण छन्। हामीले मात्रै जादु गरेर बिरामीको संख्या बढेको होइन। विभिन्न पक्षले यसमा योगदान गरेका छन्।
पहिलो कुरा, स्वास्थ्य बीमाको पहुँच विस्तार भएको छ। बीमाको पहुँच बढ्दै जाँदा अस्पतालमा आउने बिरामीको संख्या पनि बढेको छ। हाम्रो अस्पताल सेवा क्षेत्रका हिसाबले पनि महत्त्वपूर्ण भएकाले विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन्।
दोस्रो, हामीले नयाँ तथा विशिष्टीकृत सेवाहरू थपेका छौँ। कार्डियोलोजी, न्युरो सर्जरी र इन्डोक्राइनोलोजीलगायतका सेवा पहिले लिन प्रदेशबाहिर जानुपर्ने बिरामीले अहिले यहीँ पाउन थालेका छन्। त्यसैले ती सेवासँग सम्बन्धित ओपीडीमा पनि बिरामीको संख्या बढेको छ।
तेस्रो, अस्पतालप्रति नागरिकको विश्वास बढेको छ। सरकारी अस्पतालमा निजी अस्पतालको तुलनामा बिरामीको आफ्नै खल्तीबाट हुने खर्च कम हुने भएकाले पनि सर्वसाधारणको आकर्षण बढेको हो।
त्यसैगरी, हामीले सेवा उपलब्ध हुने समय पनि विस्तार गरेका छौँ। पहिलेको तुलनामा सेवा सञ्चालनको समय बढाइएको छ। यसले बिरामीलाई सहज भएको छ।
स्नातकोत्तर कार्यक्रम सुरु भएपछि पनि विभागहरूको समग्र गुणस्तर र कार्यक्षमतामा सुधार आएको छ। एउटा बिरामीले आपत्कालीन सेवा राम्रो पायो भने अर्को पटक पनि त्यही अस्पताल आउन चाहन्छ। शल्यक्रिया सेवा उपलब्ध भयो भने पहिले बाहिर जानुपर्ने बिरामीले यहीँ उपचार पाउँछ।
यस्ता सकारात्मक अनुभवहरू समुदायमा फैलिन्छन्। बिरामीले आफ्ना आफन्त र गाउँका मानिसलाई पनि अस्पतालको सेवाबारे जानकारी दिन्छन्। यसरी मुखबाट मुखमा फैलिने सकारात्मक प्रचार ९वर्ड अफ माउथ० पनि बिरामीको संख्या बढ्नुको एउटा महत्त्वपूर्ण कारण हो।
त्यसैले ओपीडीमा मात्रै होइन, समग्र अस्पताल सेवामा बिरामीको चाप बढेको छ।
तर बिरामीको संख्या बढ्नु मात्रै उपलब्धि होइन। अब हामीले संख्यात्मक वृद्धिसँगै गुणात्मक सुधारमा पनि उत्तिकै ध्यान दिनुपर्छ। सेवा विस्तारसँगै उपविशेषज्ञ सेवाहरूलाई थप सुदृढ बनाउनु आवश्यक छ।
अबको पाँच वर्षमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेश प्रदेशको समग्र स्वास्थ्य प्रणालीको गेमचेन्जर बनाउन मुख्य रूपमा कस्ता विषयमा सहयोग आवश्यक देख्नुहुन्छ ?
– यस विषयमा मैले मुख्य तीनवटा पक्ष महत्त्वपूर्ण देखेको छु।
पहिलो, चिकित्सा शिक्षाका लागि आवश्यक आर्थिक स्रोतको सुनिश्चितता।
हामी प्रदेशबाट स्थापना भएको सार्वजनिक संस्था हौँ। सार्वजनिक संस्थामा स्नातक तहमा ७५ प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था छ भने स्नातकोत्तर तहमा शतप्रतिशत छात्रवृत्तिको व्यवस्था छ। तर ती छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको खर्चबापत संघीय सरकारबाट आवश्यक रकमको प्रतिपूर्ति भइरहेको छैन।
प्रदेश सरकारको भनाइ के छ भने प्रतिष्ठानमा देशभरिबाट विद्यार्थी आउँछन्। त्यसैले प्रदेशले मात्रै सम्पूर्ण खर्च बेहोर्न कठिन हुन्छ। प्रदेशका लागि निश्चित सिट आरक्षित हुने व्यवस्था भए मात्रै प्रदेश सरकारले त्यसअनुसार लगानी गर्न सक्ने तर्क पनि छ।
अहिलेसम्म प्रतिष्ठानमा भएको अधिकांश लगानी प्रदेश सरकारबाटै आएको छ। तर विद्यार्थी उत्पादन गर्दा त्यसको आर्थिक भार पनि संस्थाले बेहोर्नुपर्छ। त्यसैले विद्यार्थीको संख्याका आधारमा छात्रवृत्तिबापतको रकम सुनिश्चित हुन आवश्यक छ।
एमबीबीएस कार्यक्रम सुरु भएपछि यसको आर्थिक भार अझ बढेको छ। पर्याप्त स्रोत सुनिश्चित नभएसम्म शैक्षिक कार्यक्रम विस्तार गर्न संस्थालाई कठिन हुन्छ। त्यसैले यो विषय न्यायोचित हिसाबले पनि सम्बोधन हुनुपर्छ।
दोस्रो, विशिष्टीकृत स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था।
मधेश प्रदेशमा मिर्गौला रोगको समस्या पनि महत्त्वपूर्ण छ। विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूमा मिर्गौलासम्बन्धी समस्या देखिने गरेको तथ्यांकले पनि यो आवश्यकता देखाएको छ। त्यसैले यहाँ रेनल केयर सेन्टर तथा भविष्यमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्नु आवश्यक छ।
त्यसैगरी, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार र मुटुरोग उपचारका लागि कार्डियोलोजी सेवाको थप विकास आवश्यक छ। कार्डियोलोजी सेवा सुरु भइसकेको भए पनि अझ उन्नत सुविधा र निरन्तर सेवा विस्तार गर्नुपर्नेछ।
यी सबै सेवाका लागि नयाँ भौतिक पूर्वाधार आवश्यक छ। अहिले अस्पतालमा करिब ३०० देखि ३५० बेड सञ्चालनमा छन्। तर बिरामीको चाप हेर्दा यही क्षमताले पुग्ने अवस्था छैन।
विशेषगरी आईसीयू, भेन्टिलेटर, एचडीयू र अन्य सघन उपचार सेवाका बेड थप्न आवश्यक छ। अहिले बिरामीले सबैभन्दा बढी समस्या भोग्ने भनेकै आईसीयू बेड नपाउने विषय हो। सामान्य बेडभन्दा सघन उपचारका बेडको अभाव बढी देखिएको छ।
चिकित्सा उपचारको प्रविधि र पद्धति परिवर्तन भइसकेको छ। शल्यक्रियापछि बिरामीलाई छिटो निको पारेर घर पठाउने अवस्था विकसित भएको छ। तर त्यसका लागि शल्यक्रियाअघि र पछि आवश्यक सघन उपचार सुविधा पनि पर्याप्त हुनुपर्छ।
त्यसैले नयाँ र उद्देश्यअनुसार निर्माण गरिएका भवन आवश्यक छन्।
यससँगै जनशक्तिको दरबन्दी थप्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीकहाँ एउटा समस्या के देखिन्छ भने उपकरण आइपुग्छ, भवन बन्छ, तर त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति हुँदैन। त्यसपछि उपकरण प्रयोगविहीन हुन्छ र नागरिकले अपेक्षित सेवा पाउँदैनन्।
त्यसैले भवन, उपकरण र जनशक्ति तीनवटै पक्ष एकैसाथ उपलब्ध हुनुपर्छ। कुनै एउटा पक्ष मात्रै भएर हुँदैन।
तेस्रो, चिकित्सा शिक्षा र विशिष्टीकृत सेवालाई एकीकृत गर्दै प्रदेशभर विस्तार गर्ने।
भौतिक पूर्वाधार र जनशक्ति सुनिश्चित भएपछि हामीले चिकित्सा शिक्षासँग जोडेर विशिष्टीकृत सेवाहरू विस्तार गर्न सक्छौँ। स्नातकोत्तर कार्यक्रम विस्तार गर्ने, अन्य जिल्लाका अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्ने र त्यहाँ आवश्यक विशेषज्ञ सेवा उपलब्ध गराउने कामलाई तीव्रता दिन सकिन्छ।
यी सबै कामका लागि आधारभूत स्रोतसाधन सुनिश्चित हुनुपर्छ। नत्र विस्तारका नाममा साना–साना प्रयास मात्रै भइरहन्छन्। त्यसले दीर्घकालीन उपलब्धि दिन सक्दैन।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशको स्वास्थ्य क्षेत्रको बलियो आधार बनाउने हो भने शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान, भौतिक पूर्वाधार र जनशक्ति विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ। त्यसो गर्न सकियो भने आगामी पाँच वर्षमा प्रतिष्ठानले मधेश प्रदेशको समग्र स्वास्थ्य प्रणालीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 

