क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालको अध्यक्षमा बरुणा पौडेल निर्वाचित
११ सदस्यीय नयाँ कार्यसमितिमा अरु को को ?

काठमाडौं, २९ कात्तिक । क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपाल (सीसीएनएएन) को अध्यक्षमा बरुणा पौडेल निर्वाचित भएकी छन्।
पौडेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रभा गौतम, महासचिवमा समिना अमात्य, सहसचिवमा मेनुका कार्की, कोषाध्यक्षमा गायत्री पौडेल र सहकोषाध्यक्षमा निशा भण्डारी निर्वाचित भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा रोशनी श्रेष्ठ, सबिता कार्की, एलिसा गुभाजु र बिना भट्टराई निर्वाचित भएका छन्।
दुई महिनाअघि सम्पन्न निर्वाचनबाट चयन भएको ११ सदस्यीय नयाँ कार्यसमितिलाई हिजो औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
एसोसिएसनमा हाल करिब चार सय सदस्य आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिएकी छन्।
को हुन् नवनिर्वाचित अध्यक्ष बरुणा पौडेल ?
नवनिर्वाचित अध्यक्ष बरुणा पौडेल नर्सिङ पेसामा २९ वर्षदेखि सक्रिय छिन् । हाल उनी मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत छिन्।
लामो व्यावसायिक अनुभव हासिल गरेकी पौडेलले यसअघि नेपाली सेना, नेपाल मेडिसिटी अस्पताल र ह्याम्स अस्पताल काठमाडौंमा समेत काम गरिसकेकी छन्। विभिन्न स्वास्थ्य संस्थामा काम गरेको अनुभव र नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेकी पौडेल अब क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालको नेतृत्वमा पुगेकी हुन्।
क्रिटिकल केयर नर्सिङको विकासमा नयाँ नेतृत्वको जिम्मेवारी
क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालले देशमा सघन उपचार सेवामा कार्यरत नर्सहरूको व्यावसायिक विकास, दक्षता अभिवृद्धि र पेसागत हकहितका लागि काम गर्दै आएको छ।
नयाँ कार्यसमितिका सामु क्रिटिकल केयर नर्सहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने, तालिम तथा शैक्षिक अवसर विस्तार गर्ने, नर्सहरूबीच सहकार्य र अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्ने तथा सघन उपचार सेवाको गुणस्तर सुधार गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको छ।
त्यस्तै, गम्भीर अवस्थाका बिरामीलाई सुरक्षित, गुणस्तरीय र मानवीय सेवा उपलब्ध गराउन क्रिटिकल केयर नर्सहरूको भूमिका थप प्रभावकारी बनाउने र नेपालको क्रिटिकल केयर नर्सिङ क्षेत्रलाई व्यावसायिक रूपमा सुदृढ बनाउने दिशामा नयाँ कार्यसमितिले काम गर्ने अपेक्षा गरिएको छ।
नव निर्वाचित पौडेलले क्रिटिकल केयरका क्षेत्रमा आवद्ध नर्सहरुको पेशागत सुरक्षा, दक्षता तथा शीप अभिवृद्धिमा थप जिम्मेवारीका साथ काम गर्ने बताईन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



