२४ कम्पनीका ४७ इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज

काठमाडौ, २७ असोज । औषधि व्यवस्था विभागले स्वदेशी तथा विदेशी गरी २४ वटा कम्पनीका इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज गरेको छ।
विभागले असोज २७ गते प्रकाशित गरेको सूचनामा १९ नेपाली, चार भारतीय र एक बंगलादेशी कम्पनीका विभिन्न ब्रान्ड तथा मात्रा समेटिएका ४७ औषधि विवरण उल्लेख छन्।
विभागका अनुसार यी औषधि उत्पादनका लागि आवश्यक छुट्टै उत्पादन संरचना अर्थात् ‘डेडिकेटेड फेसिलिटी’ नभएका कारण कारबाही गरिएको हो। औषधिको गुणस्तर, सुरक्षा र उत्पादनका क्रममा एक औषधिको पदार्थ अर्कोमा मिसिने ‘क्रस–कन्टामिनेसन’को जोखिम घटाउन यस्तो व्यवस्था आवश्यक रहेको विभागले जनाएको छ।
यसअघि जेठ २१ गते जारी गरिएको सार्वजनिक सूचनामा तोकिएको अवधि समाप्त भएपछि असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, बिक्री–वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिसपत्र खारेज गरिएको सूचनामा उल्लेख छ।
खारेजीमा परेका औषधीकम्पनीहरु
विदेशी कम्पनीतर्फ भारतको पानासिया बायोटेक फार्मा, इन्टास फर्मास्युटिकल्स, आरपीजी लाइफसाइन्सेस र माइक्रोल्याब्स तथा बंगलादेशको एस्कायफ फर्मास्युटिकल्सका औषधि समेटिएका छन्।
इन्टासका माइकोफिट ५००, माइकोफिट एस ३६०, इन्टाज्याक तथा ट्याक्फा ०.५ र १ पानासियाका प्यानग्राफ ०.५ र १ आरपीजीका इम्युनोट्याक ०.५ र १ तथा मोफेटिल २५० र ५०० सूचीमा छन्। माइक्रोल्याब्सका सीग्राफ ०.५ र १ तथा माइकोफेन ५०० र एस्कायफको टोज्याक पनि समेटिएका छन्।
नेपाली कम्पनीतर्फ डिभाइन ल्याबोरेटोरिज, मारुती फार्मा, फार्मोनिक्स लाइफसाइन्सेस, एसियन फर्मास्युटिकल्स, निभिक्स, प्राइम, नेपाल रेमेडिज, भेगा, मेड्रिक, ओम र सीटीएललगायत १९ कम्पनीका औषधि छन्।
सूचीमा टोफासिटिनिब, लेफ्लुनोमाइड, ट्याक्रोलिमस र माइकोफेनोलेटसम्बन्धी औषधि समेटिएका छन्। नेपाली कम्पनीका ३२ र विदेशी कम्पनीका १५ विवरण छन्। एउटै औषधिका फरक ब्रान्ड र मात्रा छुट्टाछुट्टै गनिएकाले यो संख्या ४७ भएको हो।
आपूर्ति कायम राख्न सर्तसहित अस्थायी व्यवस्था
विभागले जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन तथा पैठारी अनुमति प्राप्त गरेका औषधिसम्बन्धी व्यवस्था पनि उल्लेख गरेको छ।
सम्बन्धित उत्पादक तथा पैठारीकर्ताले आयात गर्दा प्रज्ञापनपत्रसहित हालको मौज्दात विवरण विभागमा अनिवार्य बुझाउनुपर्नेछ। त्यस्ता औषधिबाट प्रतिकूल असर भएमा औषधि प्रदान गर्ने निकाय वा व्यक्ति र प्रयोगकर्ताले जिम्मेवारी लिनुपर्ने व्यहोरा पनि सूचनामा उल्लेख छ।
डेडिकेटेड फेसिलिटी भएका दर्तावाल उत्पादक तथा पैठारीकर्तालाई भने बजारमा औषधिको नियमित, पर्याप्त र सहज उपलब्धता सुनिश्चित गर्न विभागले निर्देशन दिएको छ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



