बूढीगण्डकीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन

काठमाडौँ, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ।
मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिन्छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



