नेपाल मधुमेह समाजको ३६ औँ वार्षिक साधारणसभा सम्पन्न

48
Shares

काठमाडौँ, २४ असोज । नेपाल मधुमेही समाजको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार प्रज्ञाभवनमा आयोजित विशेष समारोहका बीच साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथि थिए । समाजका संस्थापक संरक्षक डा. मृगेन्द्रराज पाण्डेको विशेष अतिथिका रूपमा उपस्थिति थियो ।

कार्यक्रममा पूर्व राष्ट्रपति यादवले नसर्ने रोगको एक प्रमुख रोगको रुपमा मधुमेहको समस्या बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि प्रत्येक व्यक्ति जागरुक हुनु पर्ने बताए । उनले मधुमेह रोग रोकथामका लागि मधुमेही समाजले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

त्यसअघि कार्यक्रमको आरम्भमा समाजका महासचिव विजयालक्ष्मी श्रेष्ठले संस्थाको गत वर्षका प्रगति विवरण तथा कार्यक्रमहरू प्रस्तुत गरेकी थिईन । कोषाध्यक्ष कविन्द्र शेखर रिमालले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/०८३ मा  २५ लाख २१ हजार ८१ रुपैयाँ आम्दानी र २० लाख १७ हजार ५२१ खर्च भई ५ लाख ३ हजार २६० रुपैयाँ बचत भएको छ।

साथै, समाजले आफ्नै भवन निर्माणका लागि हालसम्म विभिन्न सदस्य तथा दाताहरूबाट कुल  २ करोड ७५ लाख ४१ हजार २७८ रुपैयाँ संकलन गरिसकेको जानकारी गराइएको थियो। हाल भवन निर्माणका लागि उपयुक्त घर तथा जग्गाको खोजी भइरहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा समाजको तर्फबाट सर्वाधिक आर्थिक सहयोग गर्नुहुने मानार्थ सदस्य तथा संस्थाकी सर्वाधिक दाता नानीबाबा प्रधानलाई उनको शताब्दी जन्मोत्सवको अवसरमा दोसल्ला ओढाइ कदरपत्रद्वारा विशेष सम्मान गरिएको थियो।

प्रधानबाट संस्थाको भवन निर्माण कोषका लागि  २५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त भएको छ। यसैगरी, समाजलाई नगद ५ लाखभन्दा बढी सहयोग पुर्‍याउनुहुने मानार्थ तथा अन्य सदस्यहरूलाई पनि आजको कार्यक्रममा सम्मान गरिएको थियो।

साधारणसभामा समाजकी कार्यकारीणी समिति सदस्य डा.  सुमित्रा मानन्धर गुरुङ, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रावा थापा र सल्लाहकार खेमराज नेपालले नेपाल मधुमेह समाजको कार्यप्रगति र आगामी दिशाबारे आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा कार्यकारीणी समिति सदस्य सुमीता श्रेष्ठ बस्नेतले स्वागत मन्तव्य दिएकी थिईन ।

कार्यक्रमको सञ्चालन उपाध्यक्ष भगवती नेपालले गरेकी थिईन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *