नेशनल मेडिकल कलेजमाथि प्रतिनिधि सभा बैठकमा लगाइएको आरोप छानविन गर्न निजी मेडिकल तथा डेन्टल एसोसिएसनको माग

काठमाडौं, १८ असोज । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएसनले आरोपका विषयमा तथ्य र प्रमाणका आधारमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ।
सांसद अन्सारीले नेसनल मेडिकल कलेजमा काम गर्ने व्यक्तिलाई प्राध्यापकका रूपमा देखाएर स्नातकोत्तर तहको सिट लिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा विद्यार्थीले अनियमितताबारे आवाज उठाएपछि अध्ययन र आवासमा अवरोध गरिएको लगायतका आरोप प्रतिनिधिसभामा उठाएका थिए।
एसोसिएसनले भने संकाय सदस्य, स्नातकोत्तर प्रशिक्षण, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरणसम्बन्धी विषय सामान्य विषय नभएको भन्दै यस्ता आरोपको अनुसन्धान तथ्य र प्रमाणका आधारमा हुनुपर्ने जनाएको छ।
चिकित्सा शिक्षाको गुणस्तर प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्य र जीवनसँग जोडिएको विषय भएकाले आरोपको निष्पक्ष अनुसन्धान आवश्यक रहेको एसोसिएसनको भनाइ छ। कुनै मेडिकल कलेजमा अनियमितता भएको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त नियामक निकायबाट प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने पनि उसले स्पष्ट पारेको छ।
तर, एसोसिएसनले आरोप र प्रमाणित तथ्यलाई एउटै रूपमा हेर्न नहुने जनाएको छ। प्रमाणित नभइसकेका आरोपलाई सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था सिर्जना हुँदा सम्बन्धित संस्थाको प्रतिष्ठासँगै त्यहाँ अध्ययनरत विद्यार्थीको मनोबल, भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यावसायिक प्रतिष्ठा र उपचाररत बिरामीको विश्वासमा समेत असर पर्न सक्ने उसको भनाइ छ।
‘कानुनभन्दा माथि कोही व्यक्ति वा संस्था हुन सक्दैन’ भन्ने मान्यता स्वीकार गर्दै एसोसिएसनले प्रमाणित अनियमितताको संरक्षण गर्न नहुने र प्रमाणित हुन बाँकी आरोपलाई भने सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था पनि बन्न नहुने जनाएको छ।
एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई विषयको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिएको छ। साथै, विद्यार्थीको भविष्य, बिरामीको सेवासम्बन्धी विषय र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राखेर संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन सबै पक्षलाई आग्रह गरिएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



