कार्डियाक सोसाइटी अफ नेपालद्धारा मुटुरोगको जोखिमबारे पत्रकार अन्तक्रिया सम्पन्न
काठमाडौं, १० असोज । नेपालमा मुटुरोगको अवस्था, उपचारमा भएका प्रगति, रोकथामका उपाय तथा हृदयघातका बिरामीलाई समयमै उपचारमा पुर्याउनुपर्ने आवश्यकताबारे विशेषज्ञहरू चिकित्सकहरुले शुक्रबार पत्रकारसँग छलफल गरेका छन् ।
विश्व मुटु दिवसको पूर्वसन्ध्यामा कार्डियाक सोसाइटी अफ नेपालको आयोजनामा भएको उक्त अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
नेपालमा मुटुरोगको अवस्था, उपचार पद्धति र रोकथामका उपायबारे पत्रकारलाई तथ्यपरक जानकारी उपलब्ध गराई आम नागरिकसम्म सही सूचना प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीका महासचिव तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले बताए ।
कार्यक्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक तथा कार्डियाक सोसाइटी नेपालका पूर्वअध्यक्ष डा। रत्नमणि गजुरेलले नेपालमा मुटुरोगको अवस्था र यसबाट उत्पन्न चुनौतीबारे प्रस्तुति दिएका थिए ।
उनले विश्वभर मुटुरोग मृत्युको प्रमुख कारणका रूपमा रहेको उल्लेख गर्दै नेपालमा पनि मुटुरोगको अवस्था गम्भीर बन्दै गएको बताए । धेरै अवस्थामा मुटुरोगले सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखाउने भएकाले यसलाई ‘साइलेन्ट किलर’का रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।
“यो साइलेन्ट किलर नै हो। यसलाई हत्यारा भन्दा पनि फरक पर्दैन,” उनले भने। त्यस्तै, कार्डियाक सोसाइटी नेपालका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। चन्द्रमणि अधिकारीले नेपालमा उपलब्ध मुटुरोग उपचारका विधि, उपचार क्षेत्रमा भएका उपलब्धि तथा आगामी सम्भावनाबारे प्रस्तुति दिएका थिए। उनले नेपालमा पछिल्लो समय मुटुरोगको उपचारमा उल्लेख्य प्रगति भएको जानकारी दिँदै विभिन्न जटिल प्रकृतिका मुटुरोगको उपचारसमेत नेपालमै सम्भव हुँदै गएको बताए ।
मुटुरोगको उपचारमा प्रविधि, दक्ष जनशक्ति र पूर्वाधारको विकासले उपचार सेवा विस्तारमा सहयोग पुगेको उनको भनाइ थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माले मुटुरोगको रोकथाम तथा जोखिम न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए । उनले हृदयघात भएका बिरामीलाई सकेसम्म छिटो अस्पताल पुर्याउन सके उपचारको प्रभावकारिता बढाउन तथा जटिलताको जोखिम कम गर्न सहयोग पुग्ने बताए । मुटुरोगबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै डा। शर्माले स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने तथा आवश्यकताअनुसार नियमित स्वास्थ्य परीक्षण गराउने जस्ता उपायले मुटुरोगको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने चिकित्सकहरूको भनाइ थियो ।
मुटुरोगसम्बन्धी सही सूचना र जनचेतना विस्तारमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भएकाले पत्रकारलाई तथ्यपरक जानकारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाइन्छ । यस वर्ष पनि कार्डियाक सोसाइटी नेपालले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाउँदैछ । यस वर्षको विश्व मुटु दिवसको नारा “Don’t Miss a Beat” भन्ने रहेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



