‘औषधिको सुरक्षित, प्रभावकारी र गुणस्तरीय प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका अझ सशक्त बनाउनु पर्छ’

काठमाडौं, ९ असोज । औषधि व्यवस्था विभागले औषधिको सुरक्षित, प्रभावकारी र गुणस्तरीय प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएको छ।
विश्व फार्मासिस्ट दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै विभागले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टहरूलाई सशक्त बनाऔँ’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नाराले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय आकांक्षासँग गहिरो सम्बन्ध राख्ने जनाएको हो।
विभागका महानिर्देशक भरत भट्टराईले जारी गरेको सन्देश सशक्त र दक्ष फार्मासिस्ट नै सबल औषधि प्रणाली तथा समग्र स्वास्थ्य सेवाको मेरुदण्ड हुन् भन्दै प्रत्येक बिरामीलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी औषधिको सहज उपलब्धता सुनिश्चित गर्न सम्बन्धित सबै सरोकारवालाबीच एकीकृत प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक रहेको बताइएको छ ।
औषधिको समुचित प्रयोग, एन्टिमाइक्रोबियल स्टेवार्डसिप, औषधिजन्य प्रतिकूल प्रभावको निगरानी, औषधि सुरक्षासम्बन्धी अभ्यास, बिरामी परामर्श तथा उपचारमा नियमितता जस्ता क्षेत्रमा फार्मासिस्टको नेतृत्वदायी भूमिका आवश्यक रहेको विभागले उल्लेख गरेको छ।
त्यस्तै डिजिटल स्वास्थ्य, कृत्रिम बौद्धिकता, टेलिफार्मेसी, फार्माकोजेनोमिक्स, उन्नत औषधि उत्पादन, क्लिनिकल फार्मेसी अभ्यास, नियामकीय अनुपालन तथा व्यावसायिक नेतृत्वजस्ता नवीन क्षेत्रमा युवा फार्मासिस्टलाई अनुसन्धान र प्रमाणमा आधारित अभ्यासतर्फ अघि बढाउनुपर्नेमा पनि विभागले जोड दिएको छ।
बिरामीको सुरक्षा र जनस्वास्थ्यलाई सर्वोच्च प्राथमिकतामा राख्दै न्यून गुणस्तरका औषधि तथा नक्कली औषधिको नियन्त्रण, जोखिममा आधारित बजारपछिको निगरानी तथा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) जस्ता विश्वव्यापी चुनौती सामना गर्न नियामक निकाय, उद्योग, अस्पताल र विश्वविद्यालयबीच थप एकीकृत सहकार्य र समन्वय आवश्यक रहेको विभागको भनाइ छ।
सन्देशमा औषधिबाट प्राप्त हुने स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारितामा उल्लेखनीय सुधार ल्याउन फार्मेसी पेशा र फार्मासिस्टको महत्वपूर्ण पहिचान स्थापित भइसकेको जनाइएको छ । यस यात्रामा फार्मासिस्टको ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षतालाई निरन्तर अभिवृद्धि गर्दै नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र फार्मासिस्टबीच सहकार्य अझ सुदृढ हुने विश्वास पनि विभागले व्यक्त गरेको छ।
विभागले विश्व फार्मासिस्ट दिवसका अवसरमा नेपालका सम्पूर्ण फार्मासिस्ट तथा औषधि क्षेत्रमा संलग्न सबैलाई शुभकामना दिँदै सुरक्षित र गुणस्तरीय औषधि सेवाका लागि सहकार्य गर्न आह्वानसमेत गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



