बाढीपछि अस्पतालको पहुँचमा कठिनाई भोगेका नागरिकका लागि विदुरमा बन्यो चार शय्याको आकस्मिक स्वास्थ्य सेवा केन्द्र

20
Shares

काठमाडौँ, ८ असोज । भोटेकोसी बाढीले त्रिशूली नदीका पुल बगाएपछि अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिकामा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएको छ ।

पुल बगेर त्रिशूली अस्पतालसँगको सहज पहुँच टुटेका क्षेत्रका बासिन्दालाई स्थानीयस्तरमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले चार शय्याको आपत्कालिन तथा आकस्मिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो।

बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विदुरस्थित तल्लो पिपलटारमा रहेको आयुर्वेद अस्पतालका केही कोठा व्यवस्थापन गरी स्थापना गरिएको केन्द्रको शुभारम्भ गरेका हुन्। प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा केन्द्रबाट आकस्मिक, बहिरंग तथा प्रसूति सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

रसुवाको भोटेकोसीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा पुल बगेपछि जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित अन्य क्षेत्रका नागरिकलाई समेत त्रिशूली अस्पताल पुग्न कठिनाइ छ। सडक र पुलको पहुँच अवरुद्ध भएपछि सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता सिर्जना भएको थियो।

स्वास्थ्य केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री थापाले विपद्प्रभावित नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन प्रदेश सरकारले उपलब्ध स्रोत र जनशक्ति परिचालन गर्ने बताए। ‘परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ। अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने।

मुख्यमन्त्री थापाका अनुसार पुल नहुँदा प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा डब्लुएचओको सहयोगमा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो परामर्श सेवासमेत सुरु गरिएको छ। विश्व स्वास्थ्य संगठनले पनि भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा पहुँच अवरुद्ध भएको र अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न सरकारी निकायसँग सहकार्य गरिरहेको जनाएको छ।

मुख्यमन्त्री थापाले केन्द्रमा स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाए। आवश्यक स्वास्थ्यकर्मी अन्य प्रादेशिक अस्पतालबाट खटाउने र त्यसबाट पनि अपुग भए करारमा जनशक्ति नियुक्त गर्न बजेट व्यवस्थापन गरिने उनको भनाइ थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *