भारी वर्षाको सम्भावना पछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सारियो

काठमाडौँ, ८ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आगामी शुक्रबार देखि आइतबार ( ९, १० र ११ असोज) मा सञ्चालन गर्ने भनेको उन्नाइसौँ नाम दर्ता (लाइसेन्स) परीक्षा सारेको छ । परिषद्ले आज एक सूचना जारी गर्दै सारिएको परीक्षा आगामी १९ देखि २१ असोजमा हुने जनाएको छ ।
आकस्मिक रुपमा बदलिएको मौसमले ९ देखि ११ असोजमा देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षा हुने भन्दै सरकारले उच्च सतर्कता अपनाउन भने पछि परीक्षा सारिएको हो ।
यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयले अति भारी वर्षाको अनुमान गरिएको ९ देखि ११ असोजसम्म कुनै पनि परीक्षा सञ्चालन नगर्न भनेको थियो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यो अवधीमा स्वास्थ्यकर्मीहरुलाई हाई अलर्टमा बस्न भनेको छ ।
परिषद्को परीक्षा समितिले नयाँ विकसित परिस्थितिका कारण पूर्ववत मितिमा हुने भनिएको परीक्षा स्थगित गरेको भन्दै नयाँ मिति सार्वजनिक गरेको हो ।
उसले नयाँ मितिमा हुने परीक्षाको तालिका पुन प्रकाशन हुने बताएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



