रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए

12
Shares

काठमाडौँ, ३० भदौ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले जारी गरेको प्रतिवेदनअनुसार घाइते तथा बिरामी परेकामध्ये हाल २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ ।

नुवाकोटमा लक्षित जनसङ्ख्या ७१ हजार ६३५ मध्ये २८ हजार ९९ जना अर्थात् ३९.२२ प्रतिशतले खोप लगाएका छन् ।

रसुवामा लक्षित ३१ हजार ४७४ मध्ये नौ हजार ७३१ जना अर्थात् ३०.९१ प्रतिशतले खोप पाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक जनामा कडा झाडापखाला पुष्टि भएको छ ।

चार जिल्लाका ३६ वटा होल्डिङ सेन्टरमा अहिले दुई हजार ८९५ जना आश्रित रहेका छन् । नुवाकोटका २३ सेन्टरमा एक हजार ७०१, काठमाडौँका ३ सेन्टरमा ५८५, धादिङका चार सेन्टरमा ३९० र रसुवामा छ सेन्टरमा २१९ जना बाढीपीडितले आश्रय लिइरहेका छन् ।

हाल बाढी प्रभावितका लागि ३४ वटा टोलीमा १४९ स्वास्थ्यकर्मी खटिएका छन् । हालसम्म सात हजार ७०७ जनाले आकस्मिक चिकित्सा टोलीमार्फत सेवा लिइसकेका छन् ।

सरकारले प्रभावित नागरिकलाई मानसिक परामर्शका लागि निःशुल्क हेल्पलाइन १ हजार १६६ र सुरक्षित मातृत्व परामर्शका लागि १ हजार ११५ सञ्चालनमा ल्याएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *