आयुर्वेदको विकासमा जोड
काठमाडौँ, २१ माघ । आयुर्वेद नेपालीको मौलिक उपचार पद्धति भएकाले यसको व्यावसायिक विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालमै उत्पादन हुने आयुर्वेदिक औषधिको गुणस्तरीयता मापन गरी बजारीकरण गर्नुपर्ने सुझाव पनि दिइएको छ । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घको चौथो साधारणसभामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आयुर्वेद नेपालको प्राचीन स्वास्थ्य उपचार पद्धति भएकाले यसको मौलिकतालाई संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, “अहिले एन्टिबायोटिक औषधिको प्रयोग बढेकाले स्वास्थ्यलाई अनुकूल हुने दृष्टिकोणले पनि आयुर्वेदको विकास गरिनुपर्छ । सबै प्राकृतिक जडिबुटीलाई प्रयोग गरी औषधि उत्पादन गरिने भएकाले यसलाई व्यावसायिक रुपमा विकास गर्न सकेमा आर्थिक रुपमा पनि फड्को मार्न सकिन्छ ।”
सांसद राजेन्दप्रसाद पाण्डेले उद्योगको विकास गर्नेभन्दा पनि व्यक्तिगत फाइदाका लागि व्यापार गर्ने प्रवृत्ति हाबी भएको बताए । सांसद गुरुप्रसाद बुर्लाकोटी ‘उद्योग खोल्नका सरकारी कर्मचारीले प्रशासनिक झन्झट दिने भएकाले’ आयुर्वेदको अपेक्षित विकास हुन नसकेको बताए ।
नयाँ शक्ति पाटीकी नेत्री कल्पना धमलाले विदेशी कम्पनीले हर्बलका सामग्री भन्दै विभिन्न उत्पादन बजारमा ल्याएको तर तिनको गुणस्तरीयता छानबिन नभएकाले नेपालमै उत्पादन हुने आयुर्वेदिक औषधिको गुणस्तरीयता मापन गरी बजारीकरण गर्नुपर्नेमा जोड दिइन् ।
स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आयुर्वेदलाई उद्योगका रुपमा विकास गर्नुपर्ने र त्यसका लागि व्यावसायिक एकरुपता आवश्यक रहेको बताए ।
सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक डा राजेन्द्रप्रसाद गिरीले स्वदेशी आयुर्वेद औषधि उत्पादन गर्ने कम्पनीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आयुर्वेद विभागका पूर्वमहानिर्देशक देवकला भण्डारीले नेपालमै प्रशोधन केन्द्रको आवश्यक भएको औँल्याइन् । उनले नेपालका ३० प्रतिशत नेपाली अझै पनि आयुर्वेदिक औषधि प्रयोग गर्ने भएकाले नेपाली उद्योगलाई विस्तार र विकास गरी व्यावसायिक सुरक्षा गर्नु जरुरी भएको बताइन् ।
सङ्घका अध्यक्ष विनोद पौडेलले नेपाललाई आत्मनिर्भर बनाउन राज्यले आयुर्वेद क्षेत्रमा भएको सम्भावनालाई अगाडि बढाउनुपर्नेमा जोड दिए भने महासचिव मानबहादुर साउदले नेपालको माटो, हावापानी सुहाउँदो भएकाले आयुर्वेदलाई उद्योगमैत्री वातावरण बनाउन सरोकार भएकाहरुसँग आग्रह गरे । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



