‘के त्यो नमस्कार आदर प्रकट थियो ? कि, औषधीको प्याकेटसम्म पुग्ने एउटा बाटो मात्र ?’

112
Shares

नेपाल सरकारले जिल्ला अस्पतालहरूमा ९८ प्रकारका औषधी निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। विशेष गरी दुर्गम क्षेत्रका नागरिकहरू घण्टौँ हिँडेर अस्पताल पुग्छन्, उपचार गराउँछन् र निःशुल्क औषधी लिएर घर फर्कन्छन्।

यो सेवा राज्यको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण मानिन्छ। यो व्यवस्था आर्थिक रूपमा कमजोर नागरिकका लागि राहतको माध्यम बनेको छ।

तर डोल्पा जिल्ला अस्पतालमा फार्मेसी सेवा प्रवाहको क्रममा एउटा फरक सामाजिक मनोविज्ञान पनि देखिन थालेको बर्षौं भयो ।

प्रत्येक दिन करिब चार-पाँच जना सेवाग्राहीहरू भविष्यमा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चिकित्सकको सिफारिस वा आवश्यक उपचारबिना नै आफू, परिवार वा छिमेकीका लागि भन्दै सिटामोल, जीवनजल, मेट्रोनिडाजोल, सेट्रिजिनजस्ता औषधी माग्न नमस्कार ठोक्दै फार्मेसी काउन्टरमा पुग्ने गरेका छन्।

औषधी उपलब्ध हुँदा उनीहरूको व्यवहार अत्यन्तै विनम्र देखिने तर नियमअनुसार औषधी दिन नमिल्ने अवस्था आएमा अनुहारको भाव, बोली र व्यवहारमा परिवर्तन आउने गरेको मेरो करिब ४१ महिनाको अनुभव छ ।

………………………………………………..

डोल्पा जिल्ला अस्पतालको फार्मेसीमा आज हामी तीन जना कर्मचारी थियौँ ।

एक जना सेवाग्राही नमस्कार सरहरु भन्दै आउनु भयो ।

उहाँ औषधीका लागि आउनु भएको थियो । उहाँ घरबाट करीव ५ घण्टा पैदल हिडेर औषधीका लागि हामीकहाँ आउनु भएको रहेछ ।

चिकित्सकको परामर्स बिना नै चार वटा ओबर दि काउन्टर (OTC) ड्रगको नाम तोकेर नै माग्नुभयो । मैले उहाँलाई ओपीडी पुर्जा लिएर पहिले चिकित्सकलाई भेटेर आउन सल्लाह दिएँ ।

उहाँ टिकट काट्ने र डाक्टरलाई देखाउने पक्षमा हुनु भएन । त्यसपछि हामी तीनै जना कर्मचारीले सल्लाह गर्यौं र औषधी उपलव्ध गरायौँ । त्यसपछि उहाँ निकै खुशी हुनु भयो । उहाँले हामीलाई धर्म लाग्छ भन्दै आशिक दिनु भयो, नमस्कार, धन्यवाद आदि सबै दिनु भयो ।

त्यसपछि फेरी परिवारमा अरुपनि छन् । केही औषधी उनीहरुका लागि थपि दिनुहोस भन्नु भयो ।

मैले थपिदिएँ । फेरी उही आशिक धर्मै लाग्ला, नमस्कार र धन्यवाद भन्नु भयो ।

त्यसपछि फेरी छिमेकीलाई पनि चाहिएको छ, औषधी ल्याइदिनु भनेको छ, दिनुस् भन्नुभयो । मैले त्यसरी त दिन मिल्दैन भनें हामीले औषधी कसलाई दिएको हो अभिलेख राख्नुपर्छ, स्टक मौज्दात मेनटेन गर्नुपर्छ र खपतको अभिलेख अनुसार माग गर्नुपर्छ, त्यसैले मिल्दैन भनें ।

उहाँको व्यवहारमा अचानक परिवर्तन हामीले देख्यौं ।

त्यसपछि मलाई लाग्यो  ‘औषधि दिन सकियो भने नमस्कार धन्यवाद भन्नेहरू, नियमअनुसार दिन नमिल्ने अवस्था आएपछि अचानक रिसाउने वा मुख फर्काउने अवस्था हुँदो रहेछ । त्यसबेला लाग्छ, नमस्कार हामीलाई होइन, औषधिलाई गरिएको रहेछ।’

स्वास्थ्य सेवा मानवताको सेवा हो।

यहाँ गरिने नमस्कार सम्मान, विश्वास र कृतज्ञताको प्रतीक हुनुपर्छ। तर जब नमस्कार कुनै व्यक्तिगत लाभ प्राप्त गर्ने माध्यम बन्छ, त्यसको अर्थ र गरिमा दुवै कमजोर बन्न थाल्छन्।

सम्मान हृदयबाट निस्कन्छ, स्वार्थ आवश्यकताको छायाँबाट। बाहिरबाट दुवै उस्तै देखिए पनि परिस्थितिले तिनको वास्तविक स्वरूप उजागर गरिदिन्छ।

दुर्गम बस्तीबाट अस्पतालसम्मको यात्रा केवल औषधीको खोजी मात्र होइन, भरोसाको यात्रा पनि हो। तर, भरोसा तब बलियो हुन्छ जब सेवा दिने र सेवा लिने दुवै पक्षले नियम, मर्यादा र पारस्परिक सम्मानलाई समान रूपमा आत्मसात् गर्छन्।

समाजशास्त्रीहरूका अनुसार स्वार्थले जन्माएको सम्मान क्षणिक हुन्छ, तर वास्तविक सम्मान परिस्थितिसँग बदलिँदैन। व्यक्तिले चाहे सुविधा पाओस् वा नपाओस्, उसको व्यवहार र दृष्टिकोणमा स्थिरता रहन्छ। अस्पतालजस्तो संवेदनशील ठाउँमा यो भिन्नता झन् स्पष्ट देखिन्छ।

‘जब नमस्कार औषधीको प्याकेटसँग गाँसिन्छ, त्यसमा सम्मानभन्दा अपेक्षा बढी हुन्छ। तर जब नमस्कार मानिसको सेवाप्रति गरिन्छ, त्यसमा स्वार्थ होइन, मानवताको सुगन्ध हुन्छ। अस्पतालमा झुकेको शिरले औषधी मात्र होइन, इमानदारी र कृतज्ञताको मूल्य पनि सम्झिनुपर्छ।”

सेवाग्राहीको मानसिकता निःशुल्क औषधी चिकित्सक परामर्शबिनै पाउने भएतापनि अस्पतालमा डिजिटल प्रणाली भएकोले औषधी खपतको अभिलेख राख्नुपर्ने र नियमसंगत पनि नभएकोले औषधी प्राप्त नहुदाँ पिर परेको हुन सक्ने भन्ने मेरो बुझाई छ।

निःशुल्क औषधी  राज्यको दया होइन, नागरिकको अधिकार हो।  तर, अधिकारको उपयोग जिम्मेवारीसँगै हुनुपर्छ।

आवश्यक बिरामीका लागि ल्याइएका औषधी अनावश्यक रूपमा संकलन गर्ने प्रवृत्तिले वास्तवमै औषधी आवश्यक परेका व्यक्तिलाई वञ्चित पार्न सक्छ। त्यसैले अस्पतालमा पुग्ने प्रत्येक नमस्कार सम्मानको भाषा बनोस्, स्वार्थको होइन।

# मेहता जिल्ला अस्पताल, डोल्पामा फार्मेसी शाखा प्रमुखका रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *