कान्तिपुर डेन्टल कलेजमा डिजिटल डेन्टिस्ट्री सेन्टरको ‘ग्राण्ड ओपनिङ’

नेपालकै पहिलो प्रोस्थोडोन्टिक्स प्राडा राज तिलक बस्नेतलाई विशेष सम्मान
16
Shares

काठमाडौं, ११ जेठ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’ सहितको डिजिटल डेन्टिस्ट्री सेन्टरको ‘ग्राण्ड लञ्च’ गरेको छ ।

सोमबार अस्पतालमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले रिवन काटेर डिजिटल डेन्टिस्ट्री कक्षको उद्घाटन गरेका हुन् ।

केडीसीले दाँतको इम्प्लान्ट, अवटमेन्ट, क्राउन, ब्रिज तथा भिनियर जस्ता उपचारलाई छिटो, सटीक र डिजिटल प्रणालीमार्फत प्रदान गर्ने उद्देश्यले उक्त प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ ।

सो अवसरमा बोल्दै प्राडा हुमागाईंले डिजिटल डेन्टिस्ट्रीको शुभारम्भ गर्ने कलेज व्यवस्थापन साथै फ्याकल्टी र विद्यार्थीहरु बधाईको पात्र भएको बताए । उनले डेन्टल एजुकेशन, क्वालिटी केयर, क्वालिटी सर्भिसका लागि डिजिटल डेन्टिष्ट्रीको ठूलो योगदान रहने भन्दै केडीसीलाई सेन्टर अफ एक्सिलेन्सको बाटोमा हिडेको भन्दै खुशी व्यक्त गरे ।

हुन पनि यसअघि यस्ता सेवाका लागि एल्जीनेट सामग्री प्रयोग गरी बिरामीको मुखभित्र इम्प्रेसन लिने परम्परागत पद्धति प्रयोग हुँदै आएको थियो । उक्त प्रक्रियामा बिरामीले ट्रेभित्रको सामग्री टोक्नुपर्ने भएकाले असहजता हुने, समय बढी लाग्ने तथा कहिलेकाहीँ सटीकतामा समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् ।

केडीसीले सञ्चालनमा ल्याएको नयाँ प्रविधि भने ‘कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ (क्याड/क्याम)’ प्रणालीमा आधारित रहेको जनाएको छ । यो प्रणालीमार्फत ‘इन्ट्राओरल स्क्यानर’ प्रयोग गरी बिरामीको मुखभित्रको संरचना डिजिटल रूपमा स्क्यान गरिन्छ र त्यसलाई ‘एसटीएल फाइल’का रूपमा सुरक्षित गरिन्छ ।

उक्त डिजिटल डाटा प्रयोग गरी कलेजकै डिजिटल ल्याबमा ‘थ्रीशेप डेन्टल सिस्टम’ तथा ‘एक्जोक्याड’ जस्ता सफ्टवेयरमार्फत डिजाइन तयार गरिन्छ । त्यसपछि हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिनबाट क्राउन, ब्रिज, भिनियर तथा अलाइनर ट्रे लगायतका संरचना स्वचालित रूपमा निर्माण गरिने बताइएको छ ।

केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले नयाँ प्रविधिले दन्त उपचार सेवा र शिक्षण प्रणाली दुवैमा ठूलो परिवर्तन ल्याउने बताए ।

‘यो मेसिन नहुँदा हामी एनालग पद्धतिबाट सेवा दिन बाध्य थियौं,’ उनले भने, ‘अब हामी पूर्ण रूपमा अटोमेटेड, डिजिटलाइज्ड र एआईमा आधारित प्रविधिमा गएका छौं । यसले बिरामीलाई कम समयमा गुणस्तरीय सेवा दिनुका साथै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर पनि प्रदान गर्छ ।’

उनले केडीसीले नेपालमा डिजिटल डेन्टिस्ट्री प्रविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्तो प्रणाली सञ्चालन गर्ने शैक्षिक संस्थामध्ये केडीसी पहिलो भएको दाबी समेत गरे ।

केडीसीमा पढ्ने सबै विद्यार्थीले ग्राजुएसन गर्दा सम्म इन्टरनेशनल स्टाण्डरको सिकाई तथा अवसर पाउने छन् भन्दै अध्यक्ष डा. श्रेष्ठले केडीसीमा पढेका विद्यार्थीहरु ग्लोबल कम्पिटेन्ट भएर निस्कने दावी गरे ।

हुन पनि केडीसीले उक्त डिजिटल डेन्टिष्ट्री सेन्टरमा थपेको प्रविधिले दाँतसम्बन्धी संरचना निर्माणमा लाग्ने समय उल्लेखनीय रूपमा घटाउने र सटीकता बढाउने बताइएको छ ।

डा. श्रेष्ठका अनुसार नयाँ प्रणालीमार्फत जिर्कोनिया, लिथियम डिसिलिकेट, सेरामिक तथा टाइटेनियम जस्ता सामग्रीमा क्राउन, ब्रिज र भिनियर अत्यन्त सटीकताका साथ निर्माण गर्न सकिन्छ । लिथियम डिसिलिकेट क्राउन करिब ९० मिनेटभित्र तथा जिर्कोनिया क्राउन करिब तीन घण्टाभित्र तयार गर्न सकिने उनले बताए ।

उनका अनुसार यो प्रविधिबाट अर्थोडोन्टिक उपचारका लागि प्रयोग हुने अलाइनरसमेत कस्टमाइज गरी निर्माण गर्न सकिन्छ । डिजिटल वर्कफ्लो, थ्रीडी मोडेलिङ तथा डिजाइन अप्टिमाइजेसनका कारण उपचार प्रक्रिया छिटो, विश्वसनीय र बिरामीमैत्री बन्ने विश्वास गरिएको छ ।

केडीसीले यो पहल केवल उपचार सेवामा सीमित नभई आधुनिक दन्त शिक्षाको विकाससँग पनि जोडिएको जनाएको छ ।

अध्यक्ष श्रेष्ठले आधुनिक र छिटोछरितो सेवाको माग बढ्दै गएको भन्दै भविष्यमा थप अत्याधुनिक प्रविधि भित्र्याउने योजना रहेको बताए ।

‘अब अस्पताल आएको करिब तीन घण्टाभित्रै बिरामीले दाँतमा क्राउन वा ब्रिज लगाएर फर्किन सक्ने अवस्था बनेको छ,’ उनले भने, ‘दन्त उपचार क्षेत्रमा यो ठूलो उपलब्धि हो ।’

लन्चिङ समारोहमा नेपाल मेडिकल काउन्सिलका सदस्यद्धय डा अजयकुमार साह, डा अस्मिता पोखरेल, प्रोस्थोडोन्टिक सोसाइटीका अध्यक्ष डा. प्रमोद जोशी लगायतको उपस्थिति थियो ।

सोही अवसरमा नेपालकै पहिलो प्रोस्थोडोन्टिक्स प्राडा राज तिलक बस्नेतलाई विशेष सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *