नेपाल अर्बुद रोग विजेता समाजले १३ बुँदे माग अघि सार्दै सरकारलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ, ३१ असार । नेपाल अर्बुद रोग विजेता समाजले क्यान्सरबाट उपचारपछि नयाँ जीवन बाँचिरहेका क्यान्सर विजेताहरूको स्वास्थ्य सुरक्षा, सामाजिक संरक्षण तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्न सरकारसमक्ष १३ बुँदे माग राखेको छ ।
समाजले तिनै मागलाई समेटेर तयार पारिएको ज्ञापन पत्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाएको छ ।
समाजकी अध्यक्ष प्रमिता खनालको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापन पत्र स्वास्थ्य मन्त्री निशा मेहतालाई हस्तान्तरण गरेको छ । उक्त ज्ञापन पत्रमा क्यान्सर एक जटिल, दीर्घकालीन तथा महँगो रोग भएकाले उपचार सम्पन्न भएपछि पनि अधिकांश क्यान्सर विजेताले नियमित स्वास्थ्य परीक्षण, औषधोपचार, मानसिक स्वास्थ्य, सामाजिक पुनर्स्थापना तथा आर्थिक व्यवस्थापनमा विभिन्न चुनौती भोगिरहेको उल्लेख गरिएको छ।
समाजले क्यान्सर विजेताको जीवनलाई सुरक्षित, सहज र सम्मानजनक बनाउन विशेष नीति, कार्यक्रम तथा सहुलियत आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्रमार्फत समाजले प्रत्येक वर्ष जुन महिनाको पहिलो आइतबारलाई ‘राष्ट्रिय क्यान्सर विजेता दिवस’ घोषणा गर्न माग गरेको छ। साथै बजारमा क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव अन्त्य गरी कृत्रिम अभाव सिर्जना गर्ने वा वितरणमा अवरोध गर्नेविरुद्ध कानुनी कारबाही गर्न पनि सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षदेखि बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेसँगै उपचार अवधिभर आवश्यक पौष्टिक आहारको व्यवस्था गर्न तथा उपचारका कारण पढाइ प्रभावित भएका बालबालिकाका लागि अस्पतालमै विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ।
समाजले आगामी वर्षदेखि सबै उमेर समूहका क्यान्सर बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने, क्यान्सर उपचारका औषधि निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने तथा सबै क्यान्सर उपचार केन्द्रमा अनिवार्य रूपमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्नुपर्ने माग राखेको छ।
त्यसैगरी क्यान्सर बिरामी तथा विजेतालाई विशेष परिचयपत्र प्रदान गरी सार्वजनिक यातायातमा सहुलियत दिन, निजी अस्पतालमा स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन र बीमा रकमको सीमा वृद्धि गर्न तथा सवारीसाधनबाट संकलित प्रदूषण करलाई वातावरणजन्य क्यान्सर रोकथाम, जनचेतना, उपचार सहयोग तथा प्रभावित बिरामी र विजेताको पुनःस्थापनामा उपयोग गर्न आग्रह गरिएको छ।
ज्ञापनपत्रमा उपचारपछि आर्थिक रूपमा कमजोर बनेका क्यान्सर विजेतालाई सीपअनुसार रोजगारीमा प्राथमिकता, सीपमूलक तालिम तथा स्वरोजगारका लागि अनुदानको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ। साथै उपचारका लागि काठमाडौं तथा अन्य शहरका अस्पतालमा आउने बिरामी र उनका सहयोगीका लागि आवास केन्द्र स्थापना गर्नुपर्ने उल्लेख छ।
समाजले दुर्गम क्षेत्रका बिरामीका लागि नेपालभित्र उपचार गर्न आउँदा न्यूनतम एक पटक आउने–जाने हवाई टिकट निःशुल्क गर्न, सबै पालिकाका नगर अस्पतालमा क्यान्सर स्क्रिनिङ तथा प्याप स्मियर परीक्षण सेवा विस्तार गर्न तथा आवश्यक नीति, कार्यक्रम र बजेटमार्फत यी माग कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल अर्बुद रोग विजेता समाजले यी माग कार्यान्वयन भए हजारौं क्यान्सर बिरामी तथा विजेताको जीवन अझ सुरक्षित, सम्मानजनक र आशावादी बन्ने विश्वास व्यक्त गरेको छ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

