अतिरिक्त स्वास्थ्य सचिव : भयो सिफारिस, भएन निर्णय

काठमाडौँ, २९ असार । डा. टंकप्रसाद बाराकोटीले राजिनामा दिएपछि रिक्त रहेको एक अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२ औँ तह) पदमा बढुवा गर्न गत १८ जेठमा स्वास्थ्य मन्त्रालयको बढुवा समितिले दुई जनाको नाम सिफारिस गर्दा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषद्बाट छिटै निर्णय हुने आशा गरेका थिए ।
मूल्यांकनमा उच्चतम अंकसहित नाम सिफारिसमा परेका डा सुधा देवकोटा र डा विनोदविन्दु शर्मा पनि आफूहरु मध्ये एक जना अतिरिक्त स्वास्थ्य सचिव बन्नेमा ढुक्क थिए । तर अहिलेसम्म त्यो विषय आशामै सिमित रह्यो ।
सिफारिस भएको साढे ५ साता कट्यो, यस अवधीमा धेरै वटा मन्त्रिपरिषद्को बैठक पनि बस्यो तर निर्णय भएन । स्वास्थ्यका अधिकारीहरु अब सो सिफारिसबाट बढुवा १२ औँ तहमा बढुवा नहुने निस्कर्ष निकाल्न थालेका छन् ।
परीक्षा लिएको एक महिना भित्र एसईईको नतिजा निकालेको, कक्षा १२ को पनि उस्तै छिटो नतिजा निकालेर वाहवाई पाएको सरकारले पहिल्यै रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिवको नतिजा निकाल्न ढिलाई गर्नुले आश्चर्यमा त परेका छन, संगसंगै प्रतिस्पर्धामा उत्रिएका कर्मचारी अधिकार तथा बृत्तिविकास माथि अंकुस लगाएको टिप्पणी गर्न थालेका छन् ।
‘त्यो सिफारिसको निर्णय अब हुन्न होला’
अहिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा एकल रुपमा सचिवको नेतृत्व गरेका डा विकास देवकोटा १२ औँ तहको विषयमा कुरा गर्नै चाहदैनन् । ‘बढुवाका विषय पहिले अर्को सचिवले हेर्नुहुन्थ्यो । त्यसबेला के भयो थाहा छैन, म आएपछि भएको छैन,’ उनले हरेक पटक दिने जवाफ यहि हो ।
पहिले प्रशासन तर्फ रहेका सचिव डिल्लीराम शर्माले यस विषयमा कुरा गर्नै चाहदैनन् ।
मन्त्रालयका एक अधिकारीले भने बढुवाका लागि नाम सिफारिस भए पनि फिर्ता आएको बताउँछन् । ‘अहिले बढुवाको कार्यक्रम अघि नबढाउने भनेर उताबाट नाम फिर्ता आएको छ । अब नयाँ ओएनएम तथा दरबन्दी कटौतीका कुराहरु भइरहेको बेलामा १२ औँ तहको विषयले प्रवेश पाउँदैन । यो विषय अब अघि बढ्दैन । अहिले बढुवा नहुने भयो भनेर अनौपचारिक रुपमा जानकारी पनि आएको छ,’ ती अधिकारीले भने ।
उनले विज्ञापन आव्हान गरेर, लोक सेवाका अध्यक्षले पटक पटक मूल्यांकन गरेर नाम सिफारिस समेत भईसकेको विषयलाई रोक्दा कर्मचारीमाथि अन्याय हुने बताउँदै तर त्यस विषयमा अहिलेको सरकार र प्रशासनसंग आवाज उठाउन नसकिने बताए ।
उनले स्वास्थ्यको मात्रै नभई अरु मन्त्रालयका पनि झण्डै १४ वटा सचिव पदमा बढुवा गर्नु पर्ने अवस्था रहे पनि त्यहाँ पनि रोकिएको भन्दै स्वास्थ्यको पनि त्यसैको सिकार भएको बताए ।
जिम्मेवारी थपियो, दरबन्दी घट्दै
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बनेपछि स्वास्थ्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पनि थपिएको छ , त्यसले स्वास्थ्यको जिम्मेवारी बढेको छ तर खर्च कटौतीको नाममा भएका दरबन्दी घटाउँदा स्वास्थ्यमा समस्या आउन सक्ने अधिकारीहरु बताउँछन् ।
अधिकृत १२ औँ तहका डा बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदाकै बखत (२१ कात्तिक २०८२) मा पदबाट राजिनामा दिएर सरकारी सेवाबाट अलग भएका थिए ।
त्यसको झण्डै एक महिना पछि अर्थात २८ मंसिरमा १५ दिनको सूचना जारी गर्दै मन्त्रालयले बढुवाका लागि सूचना जारी गरेको थियो । त्यसबेला १४ जनाको आवेदन परेको थियो । लामो समयको अन्तरालमा समितिले दुई जनाको नाम सिफारिस गरेको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




