नबिल बैंकको आर्थिक सहयोग र सुषमा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

काठमाडौँ, २७ असार । नेपालमा प्रत्येक वर्ष हजारौं मानिस आगलागी तथा अन्य विभिन्न कारणले जल्ने गरेका छन् । समयमै विशेषज्ञ उपचारको अभावका कारण धेरैले ज्यान गुमाउने गरेका छन् भने उपचार पाए पनि लामो समय अस्पतालमा बस्नुपर्ने, पटक–पटक शल्यक्रिया गर्नुपर्ने तथा महँगो उपचार खर्चका कारण बिरामी र उनीहरूका परिवार गम्भीर आर्थिक समस्यामा पर्ने गरेका छन्।
यस्ता जलेका बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नेपालकै पहिलो जलन अस्पताल सुषमा कोइराला मेमोरियल अस्पतालले विभिन्न दातृ संस्थासँगको सहकार्यमा विगतदेखि नै निःशुल्क तथा सहुलियतपूर्ण उपचार सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले प्रत्येक वर्ष करिब ५०० भन्दा बढी जलेका बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ, जसमा अधिकांश बिरामीले निःशुल्क वा सहुलियत दरमा उपचार पाउने गरेका छन्।
यसैबीच नबिल बैंकले सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा धनगढी र दाङमा निःशुल्क जलन सर्जिकल शिविर आयोजना गरेको छ ।
उक्त शिविरमा १५० जना जलेका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भने ४० जना बिरामीको शिविरमै शल्यक्रिया गरिएको थियो। थप उपचार आवश्यक भएका बिरामीमध्ये २१ जनाको सुषमा कोइराला मेमोरियल अस्पतालमा सफल उपचार सम्पन्न भइसकेको छ।
अस्पताल म्यानेजर प्रफुल्ल शर्मोले शिविरमा शल्यक्रिया आवश्यक भएका बिरामीको सम्भव भएसम्म शिविरस्थलमै शल्यक्रिया गरिएको र थप उपचार आवश्यक परेका बिरामीलाई सुषमा कोइराला मेमोरियल अस्पतालमा रेफर गरिएको बताए । रेफर गरिएका बिरामीहरुको यातायात, खाना, औषधी तथा सम्पूर्ण उपचार खर्च बैंकले व्यहोरेको छ ।
शिविर तथा उपचारबारे समीक्षा
पश्चिममा हालै गरिएको शिविर र त्यसपछिको उपचारबारे समीक्षा गर्न शुक्रबार सुष्मा कोइराला मेमोरियल अस्पतालमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नबिल बैंकका बोर्ड सदस्य अनिल केसरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, सामाजिक उत्तरदायित्व विभाग प्रमुख प्रेमुका राई लगायत बैंकका अन्य पदाधिकारी तथा अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शिविरबाट बिरामीले प्राप्त गरेको सेवा, उनीहरूको जीवनमा आएको सकारात्मक परिवर्तन तथा बैंकको सहयोगमा अस्पतालमा जडान गरिएको लिफ्ट लगायत आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
साथै, यसै आर्थिक वर्षभित्र जलेका बिरामीको उपचारका लागि आवश्यक थप उपकरण तथा सामग्री उपलब्ध गराउने विषयमा पनि सकारात्मक छलफल भएको थियो।
कार्यक्रममा अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा राजु भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै नबिल बैंकसँगको सहकार्य र शिविरको उपलब्धिबारे प्रस्तुति दिएका थिए। त्यस अवसरमा बोर्ड सदस्य अनिल केसरी शाहले अस्पतालले जलेका बिरामीका लागि गर्दै आएको उत्कृष्ट कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, अस्पतालका मेडिकल डाइरेक्टर प्रा। डा। ईश्वर लोहनीले बैंकप्रति आभार व्यक्त गर्दै अस्पताललाई नेपालकै समर्पित बर्न अस्पतालका रूपमा थप सुदृढ बनाउने लक्ष्य रहेको बताए।
उनले सरकारी तथा दातृ संस्थासँग मात्र नभई निजी क्षेत्रसँगको सहकार्यलाई समेत विस्तार गर्दै जलेका बिरामीलाई गुणस्तरीय, सहुलियतपूर्ण तथा सहज उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, आगामी दिनमा पनि नबिल बैंकसँगको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरे।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

