भालुको भयङ्कर आक्रमणबाट बाँचेकी बैतडीकी सुनिता चन्द, खोजी रहेकी छन् सहयोगी मन

116
Shares
आक्रमण हुँदाको अवस्था देखि उपचारको पछिल्लो अवस्थासम्मको तस्विरहहरु

काठमाडौँ, ११ जेठ । तीन महिना अघि भालुको भयङ्कर आक्रमणमा परेकी मेलौली नगरपालिका ४ तितावै बैतडीकी सुनिता चन्द यतिवेला अस्पतालको ‘रेडजोन’बाट पार गर्ने क्रममा त छिन् तर उपचारका क्रममा सकिएको धनका कारणले उनी अहिले सहयोगीको मनहरुको प्रतिक्षा गर्न विवश छिन् ।

करीब एक महिना देखि काठमाडौँको सलम्बुटार साँखुमा रहेको सुषमा कोइराला मेमोरियल अस्पतालमा भर्ना भएकी सुनितालाई चिकित्सकहरु भालुले लगिदिएको उनको अनुहारको ‘रि-कन्स्ट्रक्सन’ गर्न शरीरका विभिन्न भागबाट मासु र छाला झिकेर जोड्दै छन् । सुनिताका पति तारा चन्द भने रित्तिएको गोजी छाम्दै सहयोगी मनको खोजी गर्दैछन् ।

उनी भन्छन्, ‘डाक्टर सावहरुको अथक मेहनत र अस्पतालको सहयोगबाट श्रीमतीको बाँच्ने आशा पलायो, तर उपचारमा महिनौँ विताउनु बिरामी र कुरुवाका लाखि खाना जोहो गर्न पनि मुस्किल भयो ।’

त्यसो त अहिलेसम्म सुषमा कोइराला मेमोरियल अस्पतालले  सुनिताको औषधी उपचार खर्च परोपकारी सहयोग अन्तर्गत निशुल्क गरिदिएको छ । अझ एक उदार सहयोगकर्ताले शल्यक्रिया तथा उपचारमा आवश्यक ओटी सामग्री र उनका लागि दैनिक खानपान खर्च समेत व्यहोर्दै आएका छन् ।

तर लामो उपचार चलिरहँने हुँदा अबका दिनमा खाना खर्च समेत जुटाउन कठिन अवस्था देखिएको छ ।

अस्पतालका अस्पताल म्यानेजर प्रफुल्ल शर्मा भन्छन्, ‘अस्पतालका आहारविद्ले सुनिताको स्वास्थ्य पुनस्थापनाका लागि विशेष पोषण योजना तयार पारेका छन, त्यसमा दैनिक दुई गिलास दुध, छ वटा अण्डा, एक बाउल सुप, २०० ग्राम चना र मासु सहितको दिउसो र बेलुकाको भोजन र एक एक वटा केरा र स्याउ सहितको मेनु रहेको छ । यसका लागि कोही दाता आएमा चन्द परिवारलाई धेरै राहत हुने थियो ।’

भालुको आक्रमणमा कसरी परिन सुनिता ?

४२ बर्षीया सुनिता र उनका श्रीमान गाउँमै सामान्य दुखजिलो गरी जीवन गुजारा गर्दै आएका किसान हुन् । तर उनीहरुले पछिल्लो समय गाउँमा बाख्रा पालन गर्दै आएका थिए ।

घटना गत ४ फागुनको हो ।

त्यस दिन विहान साढे ८ बजे तिर बाख्रालाई पानी खुवाउन खोर तिर गएकी थिईन । तर नजिकैको जंगल छेउबाट पाइप गरेर ल्याइएको पानी आएको रहेनछ ।

सुनिता करीव ८०० मिटर माथिको पानी ल्याउने मुल तर्फ लागिन । त्यहाँ पुगेर खानेपानीको पाइप हेर्दै थिईन् पछाडीबाट आएको भालुले एक्कासी झम्टियो, लडायो । सेकेण्ड भरमै उसले सुनिताको अनुहारमा चिथोर्‍यो, कोपर्‍यो, टाउको तथा शरीरका अन्य भागमा पनि त्यसैगरी आक्रमण गर्न थाल्यो । आक्रमण हुने वित्तिकै उनले चिच्याइन । मुल माथि खेतमा काम गरिरहेका दुई जना गाउँलेहरु देखि हाले र होहल्ला गर्दै भालु धपाउन दौडेर आए । त्यसपछि भालु सुनितालाई छाडेर भाग्यो तर संगसंगै उसले सुनिताको अनुहार र टाउको ठूलो हिस्सा मासु नै लुछेर लग्यो ।

गाउँभरी होहल्ला भयो । घरमा रहेका उनका पति तारा गाउँलेहरुले चिच्याएपछि दौडिदै घटनास्थलमा पुगे । अनुहारमै लुछेर लगेको श्रीमती रगताम्य अवस्थामा मुर्छा परि ढलेको देखेका उनले एकछिन त केही सोच्नै सकेनन् ।

तत्काल गाउँलेहरुसंग खर्चको जोहो र सहयोग लिएर धनगढी झरे । सुरुमा सेती अस्पताल पुर्‍याईयो । त्यहाँ सकिन्न भनेपछि निजी अस्पताल निसर्ग पुर्‍याईयो । चिकित्सकले त्यहाँ पनि हुँदैन भने ।

तारालाई एकदमै के गर्ने कसो गर्ने भयो, निसर्ग अस्पतालका चिकित्सकले श्रीमतीलाई बचाउने भए चार-पाँच घण्टा भित्र भारतको दिल्लीस्थित एम्स अस्पताल वा पीजीआई लखनउ लैजान पर्छ भन्दै विकल्प सुझाए ।

ताराले तत्काल एम्बुलेन्स लिएर श्रीमतीलाई लखनउ दौडाए ।

‘धेरै रगत गइसकेको थियो, अन्त लगेर उपाय छैन लखनउ पुराएमा सम्भावना छ भन्ने कुरा गर्नु भयो धनगढीको डाक्टरले त्यसपछि एम्बुलेन्स लिएर त्यतै हान्निएँ,’ सुनिताका श्रीमान ताराले भने ।

लखनउमा सुरु भएको १४ दिनमा सुनिताले हातका औला चलाइन, चिकित्सकले ‘होस आयो’ भने । त्यसपछि थप उपचार जारी नै रहयो । ‘म त्यहाँ ५८ दिनसम्म रहेँ, १४ लाख ९६ हजार बील उठ्यो । दुई लाख रुपैयाँ पछि तिर्ने गरी एक जना आफन्तलाई जमानी राखेको छु । अरु सबै तिरेर निस्केको हुँ’ ताराले भने ।

उनी त्यहाँबाट निस्कनुको कारण आर्थिक कारण त छँदै थियो, एक जना चिकित्सकले आँखाको गम्भीर चोटको उपचार तिम्रै नेपालको तिलगंगामा हुन्छ भनेर जान सुझाव दिएपछि उनी यता आएका हुन् ।

‘तील गंगा आइयो, यहाँ पनि उपचारमा लामो समय लाग्ने डाक्टरहरुले भन्नु भयो,  त्यसपछि कहाँ जाने कहाँ बस्ने भयो उनले अगाडी थपे ‘अनि एक जना तिलगंगा कै डाक्टर सविना कार्कीले गम्भीर अवस्थाको केस देखेर थप उपचारका लागि सुषमा कोइराला मेमोरियल अस्पताल जान सुझाएको हो ।’

‘उहाँ (डा. सविना)लाई हामीले पैसा सबै इन्डियामा सकियो । बाख्रा बेचियो,अलि अलि भएको जग्गा बेचियो र रिन धन गरेको पनि सकियो अब फेरी त्यहाँ लएर कसरी उपचार गर्ने भनेको थिएँ, उहाँले उपचार गर्नैपर्छ बरु त्यहाँ बास्तविकता बताउँदा अस्पतालले पैसा छुट हुन पनि सक्छ भन्नु भयो, हामी यहाँ आयौँ, अस्पतालले हामीलाई छुट मिलाईदिनु भएको छ । अस्पतालका म्यानेजिङ डाइरेक्टर प्रफुल्ल शर्माले यसको सम्पूर्ण व्यवस्थापन गरिदिनु भएको छ,’ ताराले भने ।

सुषमा कोइराला मेमोरियल अस्पतालमा सुनिताको उपचार प्राडा ईश्वर लोहनीको टिमले गरिरहेको छ । डा लोहनीले सामान्य अवस्थामा फर्किनका लागि सुनितालाई अझै कम्तिमा तीन देखि चार महिना अस्पतालमै बस्नु पर्ने भनेका छन् ।

तिलगंगाका चिकित्सकले उनको गम्भीर चोटबाट ग्रस्त एउटा आँखाको ज्योति फर्काइदिए । एउटा आँखा भने बन्द अवस्थामा नै छ । ‘यसको पनि केही महिना पछि शल्यक्रिया गर्ने भन्नु भएको छ, तर ज्योति फर्किने नफर्किने निधो छैन,’ ताराले भने ।

चन्द दम्पत्तीलाई अहिलेसम्म जेनतेन चलेपनि थप सहयोग आवश्यकता भएको छ । बिरामी श्रीमतीका लागि आहारविदहरुले लेखिदिएको चीजहरु आफैले खरीद गरेर खुवाउन पाए हुन्थ्यो भन्ने लाग्छ । तर त्यसका लागि दिनमै १५-१६ सय बढी खर्च आउँदो रहेछ । मनकारीहरुले सहयोग गर्नु भए एकदमै आभारी हुने थियौँ । जीवनलाई पुन: सामान्य बनाउने कठिन संघर्षमा रहेकी मेरि श्रीमतीलाई थप उत्साह प्रदान गर्न तपाईँहरुको सहयोगको हामीले अपेक्षा गरेका छौँ,’ नेपाली हेल्थसंग ताराले बह पोखे ।

अस्पतालले पनि सुनिताको उपचारमा चिकित्सा सेवा निशुल्क भए पनि पोषण तथा दैनिक जीवन यापनका लागि सहयोग आवश्यक रहेको जनाएको छ । ‘सानो सहयोगले पनि उनको जीवन पुनःनिर्माणमा ठूलो अर्थ राख्न सक्छ,’ अस्पताल म्यानेजर शर्माले भने ।

हुन पनि भालुको आक्रमणपछि शारीरिक र आर्थिक दुवै पीडाबाट गुज्रिरहेको यो परिवार अहिले सहयोगी हातहरूको प्रतीक्षामा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *