मिर्गौलापीडितलाई आर्थिक सहयोग
पर्वत, २४ पुस । लामो समयदेखि मिर्गौला रोगबाट पीडित बनेका पर्वतका तीनजना पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
सामाजिक सेवामा क्रियाशील मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले तीनजना मिर्गौलापीडितलाई रु एक लाख १० हजार सहयोग गरेको हो ।
समाजले इजरायलमा सञ्चालन गरेको रामभक्त बचाउ अभियानबाट सङ्कलन गरेको रु ५० हजार र बाँकी रकम संस्थाको खाताबाट गरी रु एक लाख १० हजार रकम हस्तान्तरण गरिएको अध्यक्ष अर्जुनप्रसाद पौडेलले जानकारी दिए ।
उक्त रकम कुश्मा नगरपालिका–१६ पिपलटारीका देवीबहादुर विक ९रामभक्त० लाई रु ७० हजार, राम्जादेउराली गाविस वडा नं ३ गोतामेथर निवासी अनिता पौडेललाई रु २० हजार र कुश्मा नगरपालिका, खुर्कोट निवासी सङ्गीता शर्मालाई रु २० हजार रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।
आर्थिक अभावका कारण मिर्गौला रोगको गतिलो गरी उपचार गर्न नपाएका उनीहरुलाई थोरै भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको हो ।
उक्त रकम शनिबार पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पीडितलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा लामिछानेले मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले यसअघि पनि सामाजिक क्षेत्रमा रहेर विभिन्न काम गर्देै आएको भन्दै आर्थिक स्थिति कमजोर रहेका तथा मिर्गौलापीडित परिवारको पहिचान गरी आर्थिक सहयोग हस्तान्तरण गर्नु निकै सराहनीय काम रहेको बताए। रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
