आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाईंदै

36
Shares

काठमाडौँ, २ बैशाख । आज १५ अप्रिल अर्थात अन्तर्राष्ट्रिय आरोग्य दिवस ( इन्टरनेशनल वेलनेस डे) । नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाईदै छ ।

यसअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा देशभरका ७५३ वटै स्थानीय तह र सात प्रदेशमा प्रभावकारी, सहभागितामूलक र दीर्घकालीन प्रभाव पार्ने गरी मनाउने निर्णय भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको गत २७ फागुनमा बसेको पूर्ण बैठकले नेपालको प्रस्तावमा १५ अप्रिललाई इन्टरनेशनल वेलनेस डेका रूपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज दिवस मनाउन लागिएको हो ।

वेलनेस दिवसको मुख्य उद्देश्य नागरिकमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका नि महानिर्देशक डा।श्याम बाबु यादवले जानकारी दिए ।

उनले दिवस मनाउन सङ्घ, प्रदेश तथा स्थानीय तहका विभिन्न निकायलाई पत्राचार गरिसकिएको र सम्बन्धित संस्थालाई समेत जानकारी गराइएको बताए ।

उनका अनुसार आजको दिनमा स्वास्थ्य प्रवर्द्धनका गतिविधिअन्तर्गत योग, ध्यान, स्वस्थ खानपान, नियमित व्यायाम, दिनचर्या र रात्रीचर्या सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

साथै आयुर्वेद पद्धतिअन्तर्गत विभिन्न उपचार विधि, जस्तै शिरोधारा लगायतका स्वास्थ्य प्रवर्द्धनात्मक अभ्यासबारे जानकारी दिने कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ।

यस्तै, गोष्ठी, प्रवचन तथा अन्तरक्रियामार्फत स्वस्थ जीवनशैलीका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम देशभर सञ्चालन गरिने तयारी गरिएको छ।

अन्तराष्ट्रिय आरोग्य दिवस मनाउने निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउन टेवा पुर्‍याउने बताइएको छ ।

नेपालको पर्यटन आम्दानी ६१ करोड २० लाख अमेरिकी डलर रहेकोमा वेलनेस पर्यटनको हिस्सा २ करोड ५० लाख डलर (करिब ४ प्रतिशत) रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *