स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन काठमाडौंमा सुरु

काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औँ शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ।
तीन दिनसम्म सञ्चालन हुने शिखर सम्मेलनको शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरे।
सो क्रममा उनले नयाँ नयाँ रोग आइरहेको अवस्थामा स्वास्थ्य अनुसन्धानको महत्व झन् झन बढेको बताए । उनले सक्रामक रोग, नसर्ने रोग आहार बिहार र व्यवहार जस्ता मानव स्वास्थ्यका लागि चाहिने विषयलाई निरन्तर अनुसन्धानको जरुरी रहेको बताए ।
परिषद्का अध्यक्ष प्राडा नारायणविक्रम थापाले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा भएका नयाँ नयाँ उपलव्धीको आदानप्रदान गर्दै स्वास्थ्य क्षेत्रका लागि नयाँ रणनीतिक मार्ग चित्र तयार पार्नका लागि सम्मेलन प्रभावकारी हुने बताए ।
सम्मेलनमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपत् व्यवस्थापन, चिकित्सकीय विज्ञान, आयुर्वेद तथा परम्परागत चिकित्सा, वातावरणीय तथा पेसागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारकहरू, स्वास्थ्य शिक्षा तथा प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँचलगायत मुद्दामा अन्तरक्रिया र अनुभव आदानप्रदान तथा रिपोर्ट प्रस्तुत गरिँदै छ।

सम्मेलनको मुख्य नारा ‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ रहेको छ। सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबिचको सम्बन्ध सुदृढ पार्ने एनएचआरसीका कार्यकारी प्रमुख तथा सदस्यसचिव डा. प्रमोद जोशीले बताए।
सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, विकास साझेदारहरू एउटै मञ्चमा उपस्थित भएका छन्। जहाँ स्वास्थ्य क्षेत्र र यसको अनुसन्धान क्षेत्रबारे विचार, अनुभव र नवीनतम प्रयोगहरू साटासाट गरिँदै छ। साथै स्वास्थ्यमा एआईको प्रयोगको अभ्यासबारे पनि ज्ञान आदानप्रदान गरिँदै छ।
सम्मेलनमा नेपालका स्वास्थ्य तथा विज्ञान क्षेत्रका एक हजार दुई सयभन्दा धेरै विज्ञ र दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको छ। बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सहभागी छन्। सम्मेलनमा कुल ४६५ वटा प्रस्तुतिहरू गरिँदै छ। जसमध्ये ९१ वटा मौखिक र १२० वटा पोस्टर प्रस्तुतीकरण छन्।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 