स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलनको तयारी पुरा

164
Shares

काठमाडौँ, २५ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आगामी शुक्रबार देखि काठमाडौँमा सुरु हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा सन् २०१५ देखि लगातार रुपमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन गर्दै आएको छ ।

सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित प्रेस जानकारी कार्यक्रममा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्पूर्ण तयारी पुरा भएको बताए ।

गत वर्ष जस्तै यसपटक पनि सोल्टी होटलमा आगामी शुक्रबार देखि आइतबार (२७ देखि २९ चैत) सम्म सम्मेलन हुनेछ ।

यसपटक सम्मेलनको मुख्य नारा “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” भन्ने रहेको छ।

‘यस सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्ध सुदृढ पार्नुको महत्त्वलाई उजागर गर्दछ,’ डा जोशीले भने ।

उनले यस पटक पनि नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, स्वास्थ्य क्षेत्रका उद्यमी र विकास साझेदारहरूलाई एउटै मञ्चमा ल्याएर विचार, अनुभव र नवीनतम प्रमाण साझा गर्ने, छलफल गर्ने तथा जिम्मेवार अनुसन्धान संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको बताए ।

उनका अनुसार सम्मेलन उद्घाटन गर्न यसपटक पनि प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने छन् ।

यस्तै सम्मेलनमा १२०० भन्दा बढी राष्ट्रिय सहभागी तथा केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने बताइएको छ । जसमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सहभागी हुनेछन्।

डा जोशीले यसपटक मध्यपूर्वको तनावको कारण गत वर्षको तुलनामा यसपटक अन्तर्राष्ट्रिय सहभागीहरूको संख्यामा केही कमी हुने बताए ।

उनका अनुसार यसपटकको सम्मेलनका लागि कुल ४६५ वटा एब्स्ट्याकहरू प्राप्त भएका थिए, त्यस मध्येबाट ९१ वटा मौखिक तथा १२० वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएको छ।

सम्मेलनमा  एउटा पूर्ण सत्र, ३५ वटा आमन्त्रित प्रस्तुतीकरण, १२ वटा समानान्तर सत्र तथा पाँचवटा प्यानल छलफलहरू समावेश गरिएको छ।

मुख्य सत्रमा प्रमाणमा आधारित निर्णय प्रक्रियाका लागि स्वास्थ्य अनुसन्धान सुशासनमा केन्द्रित मौखिक प्रस्तुति तथा छलफल हुनेछ भने समानान्तर सत्रहरूमा विभिन्न विषयहरू समेटिनेछन् ।

डा. जोशीले त्यसमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, स्वास्थ्य प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापन,  चिकित्सकीय विज्ञान  विषयहरु पर्ने बताए । यस्तै गरी  आयुर्वेद तथा परम्परागत चिकित्सा, सर्वव्यापी स्वास्थ्य पहुँच, वातावरणीय तथा पेशागत स्वास्थ्य, जलवायु परिवर्तन, एक स्वास्थ्य अवधारणा, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारकहरू, स्वास्थ्य शिक्षा तथा प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, जनस्वास्थ्य तथा जनसांख्यिकी, ज्येष्ठ नागरिक स्वास्थ्य, तथा औषधिमा पहुँच इत्यादि रहने बताए ।

यी समानान्तर सत्रहरूमा छनोट भएका एब्स्ट्याकहरूको मौखिक प्रस्तुति हुनेछ साथै विभिन्न क्षेत्रका आमन्त्रित वक्ताहरूको समेत विषयगत प्रस्तुति रहनेछ।

सम्मेलनमा पुरस्कार तथा सम्मान
डा जोशीले यसपटक पनि सम्मेलनमा स्वास्थ्य अनुसन्धान क्षेत्रमा उत्कृष्टता कार्य गर्नेहरूलाई विभिन्न पुरस्कारहरूद्वारा सम्मान गरिने बताए । उनका अनुसार यस पटक पनि विधिन्न ११ विदामा अवार्ड तथा सम्मान दिईदै छ ।

ती अवार्ड तथा सम्मानहरु यसप्रकार छ :

१. जेएनएचआरसी बेष्ट रिसर्च पेपर अवार्ड
२. हेल्थ रिसर्चर अवार्ड
३. योङ हेल्थ रिसर्चर अवार्ड
४. मृगेन्द्र सम्झना मेडिकल ट्ररष्ट योङ हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टर तर्फ)
५.लाइफटाइम एचिभमेन्ट अवार्ड
६. बेस्ट ओरल प्रिजेन्टेसन अवार्ड
७. वेष्ट पोस्टर प्रिजेन्टसन अवार्ड
८. एनएचआरसी बेष्ट परफरमेन्स अवार्ड
९. एनएचआरसी बेष्ट सेक्सन अवार्ड
१०. स्वास्थ्य अनुसन्धान पत्रकारिता पुरस्कार
११. एनएचआरसी दीर्घ सेवा पदक समावेश छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *