‘गम्भीर संकटबाट गुज्रिएको स्वास्थ्य बीमा कार्यक्रम’ जोगाउने सात उपाय

काठमाडौँ, २५ चैत । नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको आज ठ्याक्कै १० वर्ष पुगेको छ । विसं २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको यो कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा त पुगेको छ तर गम्भीर संकटबाट गुज्रिरहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई संकटबाट निकाल्नका लागि विभिन्न व्यक्ति, विज्ञ तथा पक्षहरुले व्यक्त गर्ने धारणा आइरहेका छन् । तर त्यसको कार्यान्वयन कहाँबाट ? कसले ? कहिले ? सुरु गर्ने भन्ने अलमलमै छ । अनि प्रमुख सरोकारवाला निकाय सुधार कसरी गर्ने भन्दा पनि एक अर्कालाई दोष थोपार्न नै व्यस्त छन् ।
आज दशौँ स्वास्थ्य बीमा दिवसको अवसरमा नेपाल मेडिकल काउन्सिलका सदस्यसमेत रहेका डा दिपेन्द्र पाण्डेले भने गम्भीर संकटबाट गुज्रिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई बचाउन सात उपाय अवलम्बन गर्न सुझाव दिएका छन् ।
आजको दिन केवल शुभकामनामा सिमित नहोस भन्दै उनले दिएका सात उपायहरु यस्ता छन् ।
१) भुक्तानी नपाएर बीमाको सेवा रोकिरहेका अस्पतालहरुलाई दावी भुक्तानीको प्रत्याभूति गराएर रोकिएको सेवा सुचारू गराईहाल्ने। दाबी भुक्तानी लाई १००% डिजिटल र ‘Real Time’ फर्स्योट गराउने।
२) सबै कर्मचारी र संगठित क्षेत्रलाई पहिलो चरणमा अनिवार्य आबद्ध गराईहाल्ने। सक्षम वर्गका लागि आयका आधारमा ‘प्रगतिशील प्रिमियम’ को व्यवस्था गर्ने। विपन्न वर्गको प्रिमियम राज्यले व्यहोर्ने।
३) सुर्तीजन्य पदार्थ, मदिरा र चिनीजन्य पेय पदार्थमा लाग्ने स्वास्थ्य करको निश्चित हिस्सा सिधै स्वास्थ्य बीमा कोषमा जम्मा हुने कानुनी सुनिश्चितता गर्ने।
४) प्रदेश सरकार, स्थानीय सरकार, र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूलाई स्वास्थ्य बीमा कोषमा अनुदान रकम उपलब्ध गराउन उत्प्रेरित गर्ने ।
५) आमा सुरक्षा, विपन्न नागरिक उपचार, र सामाजिक सुरक्षा कोष जस्ता छरिएका कार्यक्रमहरूलाई स्वास्थ्य बीमाको एउटै छातामुनि ल्याई ‘Single Payer Model’मा जाने ।
६) प्राथमिक विन्दुमा सेवा उपलब्ध नभए राष्ट्रिय परिचयपत्रकै आधारमा अन्य सूचीकृत अस्पतालमा सेवा लिन पाउने गरी रिफरल प्रणालीलाई पूर्ण बिरामीमैत्री बनाउने।
७) विश्वका सफल देशहरूमा जस्तै ‘General Taxation’ (सरकारी राजस्व) मा आधारित स्वास्थ्य बीमा प्रणालीको सम्भाव्यता अध्ययन गर्न तत्काल उच्चस्तरीय कार्यदल बनाउने
सम्पर्क इमेल : [email protected]





