वीरमा अब देखि कम्पनी वा ब्राण्डका आधारमा औषधी वा सर्जिकल सामग्री फिर्ता गराउन नपाईने
अस्पताल फार्मेसी सुधारका लागि भन्दै जारी गरियो ११ बुँदा

काठमाडौँ, २१ चैत । यसअघि वीर अस्पतालमा कतिपय चिकित्सकहरुले औषधी तथा सर्जिकल सामग्रीहरु प्रेस्काइब गर्दा बिरामीहरुलाई तोकिएकै कम्पनी वा ब्राण्डको ल्याउनु पर्ने भन्दै अर्को ब्राण्ड वा कम्पनीको परेमा फिर्ता गर्न लगाउँथे । तर, अब भने त्यसो गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।
वीर अस्पताल प्रशासनले शुक्रबार जारी गरेको फार्मेसी सेवा सुधार सम्वन्धी ११ बुँदे निर्देशनमा औषधी तथा सर्जिकल सामग्रीमा कम्पनी वा ब्राण्ड तोक्ने र भने अनुसार नल्याए फिर्ता गर्ने गतिविधि गरेमा सलग्न चिकित्सक, नर्सिङ तथा अन्य कर्मचारीलाई कार्वाहीको लागि सिफारिस गरिने उल्लेख छ ।
यस्तै औषधीको प्रमोसन गर्न आउने मेडिकल रिप्रिजेन्टटेटिभ (एमआर)लाई कार्यालय समयमा वीर अस्पतालको हाता भित्र (ओपिडी, इमरजेन्सी तथा वार्डहरु)मा प्रवेश गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ । अस्पतालले त्यसको शुक्ष्म निगरानी गर्न टोली खटाउने बताएको छ ।
वीरको अर्को बिकृति अस्पताल भित्रको फार्मेसी भन्दा बाहिरका फार्मेसीमा औषधी किन्न लगाउन कतिपय स्टाफहरु नै सक्रिय देखिन्थे । कतिपय अवस्थामा बाहिरका फार्मेसीका स्टाफहरुले वार्ड वार्डमा गएर भिजिटिङ कार्ड नै बाढ्ने गर्दथे तर अव भने त्यसो गर्न नपाइने भएको छ । यस्तो गरेको भेटिएमा उनीहरु पनि कार्वाहीको भागिदार हुने प्रशासनले जनाएको छ ।
वीरले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बिरामीका लागि पनि औषधी डिस्पेन्सिङको नयाँ नीति सार्वजनिक गरेको छ । जस अनुसार लगातार खानुपर्ने औषधीहरु प्रदान गर्दा सम्वन्धीत विभाग युनिट प्रमुख इन्चार्जको सिफारिसमा इमरजेन्सी बिरामीको हकमा बढीमा ५ दिन, वार्डमा भर्ना भएका बिरामीको हकमा बढीमा ७ देखि १० दिन र ओपिडी बिरामीको हकमा बढीमा १ महिनासम्म उपलव्ध गराईने उल्लेख छ ।

सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

