पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना, मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो

काठमाडौं, १९ चैत । पूर्व युवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर(आईसीडी) को ब्याट्री परिवर्तन गरिएको छ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा डा यादवदेव भट्ट नेतृत्वको चिकित्सक टोलीले आज विहान आईसीडीको ब्याट्री परिवर्तन गरेको हो । आईसीडी मुटुमा राखिने पेसमेकर जस्तै काम गर्ने मेसिन हो ।
ब्याट्री फेर्नका लागि शाह बिहान ८ बजे नर्भिक अस्पताल आएका थिए । आवश्यक परीक्षण पछि बिहान साढे नौ बजे आईसीडीको ब्याट्रिी परिवर्तन गरिएको हो ।
उपचारको नेतृत्व गरेका डा भट्टले पुरानो ब्याट्रीले काम नगरेपछि नयाँ हालिएको बताए । ‘उहाँको थाइल्याण्डमा धेरै पहिले बिरामी हुँदा आईसीडी राखिएको थियो । अहिले हामीले ब्याट्री फेरिदिएका हौँ,’ उनले स्पष्ट पारे ।
थाइल्याण्ड बसिरहेका बेला सन् २०१३ को फेब्रअरीमा पूर्व युवराज शाहलाई गम्भीर खालको हृदयघात भएको थियो । त्यसपछि उनको उपचार बैंककस्थित समिति भेज अस्पतालमा लामो समय चलेको थियो ।
डा भट्टले शाहलाई अझै केही दिन नर्भिकमा नै राखिने बताए ।
पेसमेकर जस्तै काम गर्ने आईसीडी मेसिनले मुटुको चाल नियन्त्रण गर्न मद्धत गर्दछ । विभिन्न कारणले मुटुको धड्कन कम हुँदा वा आवश्यक दरमा चाल उत्पादन गर्न नसक्दा बिरामीमा रिगाँटा लाग्नेदेखि बेहोस हुनेसम्मका समस्या देखिन सक्छन्। यस्तो अवस्थामा मुटुलाई आवश्यक चाल दिन यो मेसिनको प्रयोग गरिएको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



