ब्रिज कोर्ष र इन्ट्रान्स प्रिपरेसन रोक्ने सन्दर्भमा शिक्षा मन्त्रालय र शिक्षा मन्त्रीको सूचनामा फरक देखियो

चिकित्सा शिक्षा तथा नर्सिङ तयारीमा लाग्ने विद्यार्थीहरु अलमलमा

168
Shares

काठमाडौँ, १५ चैत । आइतबार बेलुका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनु अघि भर्नालाई लक्षित गरी सञ्चालन गरिने इन्ट्रान्स प्रिपरेसन तथा ब्रिज कोर्षका कक्षा १ वैशाख देखि पूर्ण रुपमा रोक बतायो ।

त्यसको केही क्षण पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो फेसबुकमा जरुरी सूचना भन्दै आगामी १ बैशाख देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुने इन्ट्रान्स प्रिपरेसन र ब्रिजकोर्ष कक्षाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

यी दुई सूचनाले भने विद्यार्थी तथा अभिभावकहरु अलमल भएका छन् । मन्त्रालयको लेटर प्याडमा जारी सूचनाले विद्यालय तह र उच्च शिक्षा तहसम्मका विद्यार्थीका लागि भन्दै अब कुनै पनि विषयमा अध्ययनका लागि भन्दै इन्ट्रान्स तयारी तथा ब्रिजकोर्षहरु सञ्चालन गर्न नपाउने बताएको थियो । तर मन्त्रीले त्यसपछि जारी सूचनाले भने कक्षा १२ सम्मका लागि मात्रै भन्ने देखिएको छ ।

कोटेश्वरका प्लस टू साइन्सको परीक्षा पछि एमबीबीएस इन्ट्रान्स प्रिपरेसन तयारीमा लाग्ने योजना बनाएका सुनील पन्थीले मन्त्रालयको सूचनाले निराश पारेको बताएका थिए । ‘अब हामीले कसरी तयारी गर्ने घरमै बसेर स्व अध्ययनले त अलि पुग्दैन जस्तो लाग्छ । इन्ट्रान्स तयारी कक्षामा भर्ना नभई त हुदैन । तर मन्त्री ज्यूले जारी गरेको पछिल्लो सूचनाले हामीलाई अब छुदैन जस्तो लाग्छ,’ ढुक्क हुँदै उनले भने ।

प्लस टू साइन्स पछि बीएस्सी नर्सिङको योनजा बनाएकी संगिता श्रेष्ठले पनि प्रिपरेसन कक्षा बन्द हुने भयो भन्ने चिन्ताले आत्तिएको बताएकी थिईन । तर उनलाई आफ्ना दाजुले शिक्षा मन्त्रीले फेसबुकमा जारी गरेको अर्को सूचनाले केही राहत महसुस गराएको थियो । ‘अहिले भने ढुक्क छु । तर के हो के अब इन्ट्रान्स प्रिपरेसन कक्षाहरु चल्ने हुन कि होईनन्,’ उनले आशंका व्यक्त गर्दै भनिन् ।

शिक्षा सचिव चुडामणि पौडेलले भने प्लस टू पछिका उच्च शिक्षा अध्ययनका लागि हुने तयारी कक्षाहरुका लागि यो सूचना केन्द्रीत नभएको बताए । ‘हामीले त अब एसईई पछि कक्षा ११ मा भर्ना हुनका लागि प्रिपरेसन कक्षा तथा ब्रिजकोर्षका लागि जे जस्ता क्रियाकलापहरु भईरहेका छन् यस्ता क्रियाकलापलाई रोक्नु पर्छ भनेर सूचना जारी गरेका हौँ । माथिल्ला तहका विषयमा हामी अहिले केन्द्रीत छैनौँ,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *