स्वास्थ्य संस्थामा औषधि नहुँदा बिरामी मर्कामा

कञ्चनपुर, १० पुस-  औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो ।

औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्काउन थालेका छन् । खरिद प्रक्रिया रोकिँदा आपूर्तिमा समस्या हुँदा जिल्लाभरि नै औषधिको अभाव भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका स्टोरकिपर पदमराज जोशीले बताए । “सिटामोल, मेट्रो, डाइजिन, बी कम्प्लेक्स, लगायतका अत्यावश्यक औषधिको समेत स्टोरमै अभाव छ”, उनले भने ।

उपचारका लागि पिपलाडी स्वास्थ्य चौकी पुगेकी रामकली रानाले ज्वरोको औषधि सिटामोलसमेत नपाउँदा बाह्य क्षेत्रबाट खरिद गर्न स्वास्थ्यकर्मीले पर्चामा लेखेर पठाएको बताए ।

स्वास्थ्य चौकीका प्रमुख तीर्थराज भट्टले स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध हुने ३६ प्रकारका औषधिमध्ये चार÷पाँच प्रकारका औषधि मात्रै उपलब्ध रहेको बताए । “औषधि उपलब्ध नहुँदा उपचारका लागि पुग्ने बिरामीलाई औषधि खरिदका लागि बाह्य क्षेत्रमा पठाउनु बाध्यता भएको छ”, उनले भने”, “औषधि नहुँदा बिरामीसमेत घटेका छन ।”

जिल्ला तहबाटै औषधि खरिदका लागि रु ४८ लाखमा टेन्डर आह्वान गरी घटाघटीमा रु २२ लाखमा टेन्डर स्वीकृत भएकाले दश÷पन्ध्र दिनभित्रै ४० प्रकारका औषधि स्वास्थ्य संस्थामा आपूर्तिको व्यवस्था मिलाउन लागेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताए । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि जिल्लाबाटै औषधिको आपूर्ति गरिन लागेको उनको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *