चिकित्सक संघको निर्वाचन, नेपाल बुझ्ने अभियान : सगरमाथा चौधरी आँखा अस्पतालले देखाएको बाटो
लहान, १८ पुस । आउँदै गरेको नेपाल चिकित्सक संघको निर्वाचनको लागि हामी देशका विभिन्न ठाउँ गई रहेका छौँ ।
यसपटकको हाम्रो निर्वाचन अभियान केवल मत माग्ने यात्रा मात्रै होइन। यो अभियानलाई हामीले देश बुझ्ने, प्रणालीका कमजोरी चिन्ने र सुधारका सम्भाव्य मोडलहरू पहिचान गर्ने मिशनको रुपमा पनि लिएर अघि बढाएका छौँ ।
यही क्रममा आजको पहिलो गन्तव्य रह्यो—सगरमाथा चौधरी आँखा अस्पताल, लहान सिरहा ।
जसले नेपालमा सम्भव छ भन्ने स्वास्थ्य सेवा मोडललाई व्यवहारमै देखाएको छ।

यस अस्पतालले वार्षिक ५० हजारभन्दा बढी Anterior segment शल्यक्रिया गर्ने रहेछ। OPD टिकट शुल्क रु. ८० बाट सुरु हुने यस संस्थामा आर्थिक रूपमा विपन्न बिरामीका लागि मोतिबिन्दु शल्यक्रिया मात्र रु. १,२०० मा उपलब्ध छ। बिरामीका परिवारजनका लागि धर्मशाला सुविधा उपलब्ध पनि गराउँछ ।
सगरमाथा चौधरी आँखा अस्पतालको मुख्य शक्ति यसको प्रभावकारी हब एन्ड स्पोक मोडल हो। लहानस्थित अस्पताल हब का रूपमा काम गर्दै आसपासका जिल्ला र दुर्गम क्षेत्रका satellite eye centers तथा outreach clinics (‘spokes’) सँग जोडिएको छ।
प्राथमिक स्तरमै Screening, follow-up र referral सुनिश्चित हुँदा जटिल केसहरू मात्र Hub मा पुग्छन्। यसले सेवा पहुँच विस्तार गर्नुका साथै Tertiary केन्द्रहरूमा हुने भीड र लागत दुवै घटाएको छ। सीमित स्रोतबाट अधिकतम प्रभाव निकाल्ने यो मोडल नेपालभर दोहोर्याउन सकिने व्यावहारिक समाधान हो।
शुल्क तिर्न सक्ने बिरामीका लागि सञ्चालन गरिएको Fast Track Clinic मार्फत cross-subsidy मोडल अपनाइएको छ। यही मोडलका कारण गरिब र असहाय बिरामीले सस्तोमा पनि गुणस्तरीय उपचार पाउन सकेका छन्।

यस संस्थाको अर्को प्रेरणादायी पक्ष भनेको स्वास्थ्यकर्मीप्रति अपनाइएको सम्मानजनक व्यवहार हो।
यहाँ कार्यरत fellows हरूलाई मासिक रु. १,२५,००० भन्दा माथिको पारिश्रमिक दिइन्छ।
यसले एउटा स्पष्ट सन्देश दिन्छ—स्वास्थ्य सेवा दिगो बनाउन स्वास्थ्यकर्मीको शोषण होइन, सम्मान र सुरक्षित करियर मार्ग आवश्यक छ।
यसको ठीक विपरीत, हाल NAMS जस्ता सरकारी शैक्षिक संस्थाहरूमा stipend less fellowship लागू हुनु र वार्षिक रु. ८,४०,००० सम्म शुल्क लिने प्रवृत्तिले युवा चिकित्सकहरू निराश हुँदै गएका छन्। यस्तो व्यवसायीकरणले स्वास्थ्य जनशक्ति उत्पादनको उद्देश्य मात्र होइन, दीर्घकालीन सेवा गुणस्तरलाई पनि कमजोर बनाइरहेको छ।

जब संस्थागत सोच सही हुन्छ, स्वास्थ्यकर्मी सम्मानित हुन्छन् र सेवा प्रणाली वैज्ञानिक रूपमा डिजाइन गरिन्छ, तब गुणस्तरीय स्वास्थ्य सेवा सबैका लागि सम्भव हुन्छ भन्ने सन्देश यो अस्पतालले दिएको छ ।
यो अभियान परिवर्तनको यही दृष्टिकोणबाट अघि बढिरहेको छ। नेपालका विभिन्न कुनामा यस्ता सकारात्मक उदाहरणहरू छन्—यो अभियान भर हामी यस्ता राम्रा कुरा देखाउने छौँ ।
#डा. शाही र डा. उप्रेती टिम मंगलबाट क्रमश उपाध्यक्ष (बागमती प्रदेश संयोजक) र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।
सम्पर्क इमेल : [email protected]







