राष्ट्रिय खोप कार्यक्रममा समाहित भयो एचपीभी खोप, यसवर्ष फागुनमा तीन लाख बढी छात्रालाई दिईने

काठमाडौँ, ८ पुस । सरकारले यसवर्ष तीन लाख बढी किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्ध प्रयोग हुने एचपीभी खोप दिने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यसवर्ष देखि १० वर्ष उमेर समूह वा कक्षा ६ मा अध्ययन्रत छात्राहरुलाई यो खोप दिने भएको हो । खोप कार्यक्रम आगामी फागुन महिनामा सञ्चालन हुनेछ ।
गतवर्ष माघ फागुनमा १० देखि १४ वर्ष उमेर समूहका १४ लाख २८ हजार ८८९ जना (९२ प्रतिशत कभरेज) लाई किशोरीहरुलाई खोप दिएको थियो । गत वर्ष अभियानकै रुपमा सञ्चालित यो खोप यसवर्ष देखि नभने नियमित खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको हो ।
खोप अभियान बारे जानकारी दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश भएपछि यसपटक देखि नियमित खोप सूचीमा परेको बताए ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा एचपिभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको उनले बताए । पाठेघरको मुखको क्यान्सर नियन्त्रण तथा निवारण गर्न यो खोप दिन लागिएको उनले जानकारी दिए।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान रहेको छ । यस्तै हरेक वर्ष एक हजार ३१३ जना महिलाको यो रोगका कारण मृत्यु हुने गरेको देखिएको छ। यस हिसावले दैनिक औषत ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने गरेका छन् । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो। नेपालमा ८० प्रतिशत पाइएको पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिको ह्युमन प्यापिलोमा भाइरस रहेको छ।
विश्व स्वास्थ्य संगठनले खोपको गुणस्तर प्रमाणीकरण गरेपछि मात्र खोप प्रयोग योग्य हुने भएकोले बिना संकोच एचपिभी खोप लगाउन विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले आग्रह गरे। खोप आपूर्ति गर्ने संस्थाले अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता भएको खोप मात्रै आपूर्ति गर्नुपर्ने व्यवस्था रहेकोले एचपिभी खोपबारे गलत बुझाई नराख्न उनले सुझाव छ। कुनै पनि खोपले परीक्षणको चरण पार गर्नका लागि कम्तीमा पनि १० वर्ष भन्दा लामो समय लाग्ने उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा निर्देशक डा मदनकुमार उपाध्यायले नेपालको खोप कार्यक्रम एक सफल कार्यक्रम अन्तर्गत रहेको बताए। नेपालका सबै जिल्ला तथा स्थानीय तहहरु पूर्ण खोप घोषणा भइसकेपनि निरन्तरता दिन भने चुनौती रहेको उनको धारणा छ। त्यसको निरन्तरताका लागि सरकारको तर्फबाट भने काम भइरहने उनले बताए।
कतिपयले खोप रोक्ने दिन कहिले आउला भनेर गुनासो गर्ने गरेको भन्दै डा उपाध्यायले भने, खोप होईन रोगलाई सून्यमा पुरयाउने हाम्रो योजना हो । उनले धेरै जसो खोप खोप रोग लाग्न नदिनका लागि प्रयोग हुने भन्दै कतिपय रोगबाट जोगाउनका लागि पनि प्रयोग हुने गरेको बताए ।
नेपालमा गत वर्ष खोपका लागि २ अर्व १३ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । त्यसमध्ये नेपाल सरकारले ४२ प्रतिशत भार बोकेको कार्यक्रममा जानकारी दिईयो । विसं २०३४ साल देखि सुरु भएको नेपालको राष्ट्रिय खोप कार्यक्रममा अहिले कुल १४ वटा रोगबिरुद्ध ११ वटा खोप प्रयोग हुँदै आएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

