समाजिक स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बीमाको विकल्प छैन : बोर्ड अध्यक्ष थापा

348
Shares

काठमाडौँ, २४ मंसिर । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्र थापाले सेवा प्रदायक र सेवा खरीदकर्ताको जिम्मेबारीलाई प्रष्ट पार्न नसक्दा स्वास्थ्य बीमा कार्यक्रमले अपेक्षित गति लिन नसकेको बताएका छन् ।

उनले समाजिक स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बीमा बाहेक अर्कोे विकल्प नभएको भन्दै यसलाई सफल बनाउनु पर्नेमा जोड दिए ।

‘स्वास्थ्यमा सर्बव्यापी पहुँच दिवस–२०२५’ को सन्दर्भ पारेर बुधबार स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको चुनौती र सेवा प्रदायक र खरीदकर्ताको बीचको दुरीले बीमितलाई पारेको असरका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

स्वास्थ्य सेवा लिन अहिले पनि नागरिकले ५६ प्रतिशत आफ्नै खल्तीबाट तिर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै गरिवी बढ्नुको एउटा कारण स्वास्थ्य उपचारमा व्यक्तिले गर्नु पर्ने खर्च एउटा कारण भएको बताए । उनले औपचारिक क्षेत्रलाई पूर्णरूपमा स्वास्थ्य बीमामा ल्याउनुपर्ने, ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य बीमाको स्थायी संरचना स्वीकृति गरी कार्यान्यन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले सरकारबाट निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गर्दा बीमा बोर्डसंग छलफल गर्नुपर्ने र अन्य स्वास्थ्य बीमा र सुरक्षा योजनालाई पनि बीमा बोर्ड अन्तर्गत ल्याउनुपर्नेमा जोड दिए ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशकको अवधीमा देखिएको उपलव्धीलाई सन्तोष मान्न सकिने बताए । ‘अन्य देशको तुलनामा हामीले बीमा कार्यक्रममा जे जति उपलव्धी हात पारयौँ त्यो सन्तोषजनक नै छ । हामी अन्य देशको तुलनामा अगाडी नै छौँ । तर हामीले यसलाई अझ बढाउनु पर्छ,’ उनले भने ।

डा काफ्लेका अनुसार अहिले कुल जनसंख्याको २१ प्रतिशत व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध छन् । त्यसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा रहेका छन् ।

कार्यक्रममा स्वास्थ्य बीमा प्रदायकका तर्फबाट धुलिखेल अस्पतालका प्राडा बलराम मल्ल, स्वास्थ्य बीमा सुधारका लागि गर्नु पर्ने कामका विषयमा बेलायती दुतावासका स्वास्थ्य सल्लाहकार डा दीपक कार्की , प्रिन्सराज भण्डारी लगायतले प्रस्तुति राखेका थिए । यसैगरी कार्यक्रममा जनस्वास्थ्यविद् चुडामणि भण्डारी, बोर्ड सदस्य डा मुक्तिराम श्रेष्ठ र प्रतिमा राई टिप्पणी गरेका थिए ।

कार्यक्रममा विभिन्न अस्पतालका निर्देशकहरु, स्वास्थ्य क्षेत्र र स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका व्यक्तिहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *