१५ महिने बालकको श्वासनलीमा अड्किएको बदाम पाटन अस्पतालका चिकित्सकले निकालिदिए

ललितपुर, २३ मंसिर। काठमाडौँको बुढानीलकण्ठ निवासी १५ महिनाका बालकको श्वासनलीमा अड्किएको बदाम पाटन अस्पतालका चिकित्सकहरूले सफलतापूर्वक निकालिदिएका छन्।
गत शुक्रबार बिहान खेलिरहेको बेला बालक अचानक लगातार खोकी लाग्ने, सास फेर्न कठिन हुने र घाँटीमा केही अड्किएको जस्तो लक्षण देखिएपछि अभिभावकले उनलाई तुरुन्तै काठमाडौँ बसुन्धराको ईशान बाल अस्पताल पुर्याएका थिए। प्रारम्भिक उपचारपछि उनलाई थप व्यवस्थापनका लागि पाटन अस्पताल रेफर गरिएको थियो।
पाटन अस्पताल पुगेपछि चिकित्सकहरूको टोलीले रिजिड ब्रोंकोस्कोपी गरी बालकको श्वासनलीमा फसेको बदाम निकालिएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न नाक कान घाटी (इएनटी) विशेषज्ञ डा. लिजन महर्जनका अनुसार, बालकलाई बेहोस बनाएर गरिएको ब्रोंकोस्कोपीमार्फत बदाम सुरक्षित रूपमा निकालिएको हो। टोलीमा डा. महर्जनसँगै डा. दिपक यादव र डा. प्रविणा स्वर्णकार सहभागी थिए भने एनेस्थेसिया टोलीमा डा. अनिल श्रेष्ठ, डा. टिबु आचार्य र डा. अनिश दुवाल रहेका थिए।

डा. महर्जनका अनुसार, रिजिड ब्रोंकोस्कोपी बालबालिकामा विशेष चुनौतीपूर्ण प्रक्रिया मानिन्छ , किनकि एनेस्थेसिया टोली र सर्जनले एउटै श्वासनली साझा गर्नुपर्छ, जसले कामको समन्वयलाई अत्यन्त संवेदनशील बनाउँछ, र बालबालिकाको स्वास नली अत्यन्त नाजुक हुने भएकाले सानो त्रुटिले पनि गम्भीर जटिलता निम्त्याउन सक्छ।
यदि समयमै हटाइएको नभए, यस्ता बस्तुले श्वासनलीमा चोट लाग्ने, सास फेर्न अवरोध हुने, निमोनियासहित फोक्सोका जटिलता देखिने र गम्भीर अवस्थामा ज्यानमै खतरा पुग्न सक्ने चिकित्सकहरूको भनाइ छ।
३ वर्ष मुनिका बच्चामा जोखिम किन बढी ?
१–३ वर्ष उमेर समूहका बच्चाहरू अत्यन्त अन्वेषक स्वभावका हुन्छन्। उनीहरूले नयाँ वस्तु, चम्किने सामग्री, साना खेलौना वा खानाका टुक्रा मुखमा राखेर बुझ्न खोज्ने भएकाले श्वासनलीमा फस्ने जोखिम उच्च हुन्छ।
पाटन अस्पताल इएनटी बिभागले प्रकाशित एक लेखमा उल्लेखित तथ्यांक अनुसार पछिल्ला ३ वर्षमा ३७ वटा यस्तो केस दर्ता भएका छन्। त्यसमा ७३ प्रतिशत बालक र २७ प्रतिशत बालिका रहेका छन् । तथ्यांकमा ४३ प्रतिशत यस्ता केश १–३ वर्ष उमेर समूहमा देखिएको उल्लेख छ । सबैभन्दा धेरै बदाम, काजू, मकैका दाना, पेनको बिर्को भेटिएको अस्पतालको तथ्यांकमा उल्लेख छ।
ईएनटी विशेषज्ञ डा. महर्जनले बालबालिकाको श्वास नलिमा यस्ता बस्तु नफसुन भनेर केही सावधानीका उपायहरु पनि बताएका छन् । ती उपायहरु यस्ता छन् :
- ५ वर्षभन्दा कम उमेरका बच्चालाई सानो टुक्रा हुने वा चपाउन गाह्रो हुने खाना (बदाम, काजू, मकै आदि) नदिनुहोस्। दिनुपरे राम्रोसँग चपाएर निल्ने सुनिश्चित गर्नुहोस्।
- बच्चा बसिरहेको अवस्थामा मात्र खाना दिनुहोस् । खाँदै खेल्ने, हिँड्ने, दौडने अनुमति नदिनुहोस्।
- साना भाग भएका वा छुट्टिन सक्ने खिलौनाहरू , सिक्का, साना प्लास्टिकका टुक्रा आदि बच्चाको पहुँचमा नराख्नुहोस्।
- घरभित्र वा खेल्ने ठाउँमा साना वस्तुहरू सतह वा भुइँमा नपर्ने व्यवस्था मिलाउनुहोस्।
- बच्चा खाँदा वा खेल्दा निरन्तर निगरानी गर्नुहोस्।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


Dhanybad dr.Samuh jankari Ko Lagi kathi Ramro Kam Sabi ko