मानव शरीरका लागि पानी : कम पिए पनि हानि, बढी पिए पनि हानि

जीवनका लागि पानी अत्यावश्यक हुन्छ।
कैयौँ विश्वव्यापी मापदण्डहरूले प्रतिदिन महिलाहरूले दुई लिटर र पुरुषहरूले अढाई लिटर पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्।
तर वैज्ञानिकहरू हाम्रो शरीरलाई आवश्यक पर्ने पानीको मात्रा धेरै कुरामा निर्भर हुने बताउँछन्।
पर्याप्त पानी नपिउँदा जलवियोजन अर्थात् शरीरमा पानी कम हुने अवस्था आउन सक्छ भने अति धेरै पानी पिउँदा पनि शरीरमा हानि हुन्छ।
हाम्रो शरीरको तौलको झन्डै ६० प्रतिशत हिस्सा पानीले ओगट्छ। हाम्रा कोषहरू, अङ्गहरू, रगत र विभिन्न भागमा पानी हुन्छ।
“पानी पोषक तत्त्व पनि हो,” स्कटल्यान्डस्थित यूनिभर्सिटी अफ स्टर्लिङकी जलसंयोजन अर्थात् शरीरमा पर्याप्त पानीको मात्रा कसरी मिलाउने भन्नेसम्बन्धी विषयकी विज्ञ डा. निदिया रोड्रिगेज-सान्चेज भन्छिन्।
“हामी प्रोटीन, भिटमिन, कार्ब्रोहाइड्रेट र फाइबरबारे धेरै कुरा गर्छौँ। तर जीवनका लागि पानी पनि एउटा महत्त्वपूर्ण पोषणको स्रोत हो भन्ने सोच्दैनौँ।”

पानीले हरेक शारीरिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्छ। हार्भर्ड मेडिकल स्कूलका अनुसार,
पानीका केही महत्त्वपूर्ण भूमिकाहरू यस्ता छन् :
- कोषहरूमा अक्सिजन र पोषण पुर्याउनु
- मूत्राशयबाट ब्याक्टेरियाहरूलाई पखाल्नु
- पाचनक्रियामा सहयोग पुर्याउनु
- कब्जियत हुन नदिनु
- रक्तचापलाई सामान्य पार्नु
- जोर्नीहरूलाई लचिलो बनाएर दुख्न नदिनु
- अङ्गहरू र तन्तुहरूको रक्षा गर्नु
- शरीरको तापक्रमलाई उपयुक्त बनाइराख्नु
- शरीरका लागि आवश्यक पर्ने इलेक्ट्रोलाइट अर्थात् सोडिअमको मात्रा मिलाउनु
पर्याप्त पानी नपिउँदा के हुन्छ ?
हाम्रो शरीरले निरन्तर पानी खर्च गरिरहेको हुन्छ। पसिना, पिसाब र श्वासप्रश्वासका माध्यमबाट पनि पानीको मात्रा घटिरहेको हुन्छ।
शारीरिक क्रियाहरूलाई उपयुक्त ढङ्गले अघि बढाउनका लागि त्यसरी क्षय भएको यो तरल पदार्थ प्रतिस्थापन हुनुपर्ने हुन्छ र त्यो प्रक्रियालाई जलसन्तुलन भनिन्छ।
हामीले पिउने पानीको मात्रा शरीरबाट गुम्ने पानीको मात्राभन्दा कम भयो भने जलवियोजनको अवस्था उत्पन्न हुन्छ।
त्यसले विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
जलवियोजनका केही लक्षणहरू यस्ता हुन्छन् :
- पहेँलो र कडा गन्धयुक्त पिसाब आउनु
- सामान्य अवस्थामा भन्दा थोरै पटक पिसाब लाग्नु
- रिँगटा लाग्नु वा भाउन्न होला जस्तो हुनु
- थकान महसुस हुनु
- मुख, ओठ र जिब्रो सुक्खा हुनु
- आँखा गड्नु
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार शरीरमा पानीको मात्रा अति कम भएमा भ्रान्तिको अवस्था उत्पन्न हुन्छ भने मुटुको गति तीव्र हुन्छ र अङ्गहरूले काम गर्न नसक्ने पनि हुन सक्छ।
हाम्रो शरीरलाई कति पानी चाहिन्छ ?
स्वास्थ्यसम्बन्धी धेरै आधिकारिक निकायहरूले स्वस्थ रहनका लागि दैनिक ६ देखि ८ कप पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्।
युरोपेली खाद्य सुरक्षासम्बन्धी निकायका अनुसार दैनिक रूपमा महिलाले दुई र पुरुषले साढे दुई लिटर पानी पिउनु उपयुक्त हुन्छ। त्यो भनेको विभिन्न खाद्य स्रोतहरूबाट उपलब्ध हुने पानीसहितको गणना हो, पेय पदार्थबाट मात्र प्राप्त हुने पानी भनिएको होइन।
अधिकांश खानेकुराहरू जस्तै फलफूल, तरकारी, भात र बदाम वा त्यस्तै प्रकारका खानेकुराहरूलगायतमा पनि पानीको मात्रा हुन्छ। उदाहरणका लागि खरबुजामा ९२ प्रतिशतसम्म पानीको मात्रा हुन्छ।
यद्यपि ती सिफारिसहरू पनि सबैलाई उस्तै गरी लागु हुन्छन् भन्ने हुँदैन।
स्कटल्यान्डस्थित यूनिभर्सिटी अफ आबर्डीनका प्राध्यापक जोन स्पीक्म्यान २३ देशका ५,००० जनाभन्दा बढी मानिसहरूले पिएको पानीबारे अनुगमन गरेको विश्वव्यापी अध्ययनमा सहभागी थिए।
“बीसदेखि ६० वर्षका पुरुषहरूलाई सम्भवत: दैनिक १.८ लिटर आवश्यक पर्छ। सोही समूहका महिलाहरूलाई साढे एकदेखि १.६ लिटरसम्म आवश्यक पर्छ। तपाईँ ८५ वर्षमाथि पुगेपछि तपाईँलाई दैनिक एक लिटर भए पुग्छ,” उनले भने।
तर कसलाई कति पानी आवश्यक पर्छ भन्ने कुरा उक्त व्यक्तिको तौल, उसले गर्ने शारीरिक गतिविधि, उसको लिङ्ग र वातावरणीय अवस्थामा निर्भर गर्छ।
“सबैभन्दा मुख्य कुरा के हो भने तपाईँलाई कति आवश्यक पर्छ भन्ने विषय तपाईँ कति ठूलो हुनुहुन्छ भन्नेमा निर्भर गर्छ,” उनले भने।
“तपाईँ एकदमै गर्मी र आर्द्रता धेरै भएको स्थानमा बस्नुहुन्छ भने तपाईँलाई चिसो र सुक्खा स्थानमा बस्नेको भन्दा बढी पानी चाहिन्छ।”
शरीरलाई थप पानी चाहिएको छ भन्ने जानकारी दिने प्राकृतिक सङ्केत भनेको तिर्खा हो। पिसाबको रङ्ग पनि शरीरमा पर्याप्त पानीको मात्रा छ कि छैन भन्ने थाहा पाउने अर्को सङ्केत हो। फिक्का पहेँलो मात्र छ भने त्यसले शरीरमा पर्याप्त पानी छ भन्ने सङ्केत गर्छ भने कडा पहेँलोले शरीरमा पानीको मात्रा कम छ भन्ने सङ्केत दिन्छ।
यदि तपाईँले बान्ता गरिरहेको भएको छ वा तपाईँलाई पखाला लागेको छ भने पनि तपाईँले धेरै तरल पदार्थ सेवन गर्नुपर्छ।
– बीबीसी
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



