नर्सिङ/स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका माग सम्बोधन गर्न गठित कार्यदलमा ७ जना सदस्य थपिए

काठमाडौँ, २९ कात्तिक । नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका सुविधा सम्वन्धी माग सम्बोधन गर्न अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित १४ सदस्यीय कार्यदलमा सात जना थपिएका छन् ।

स्वास्थ्य मन्त्रालय र पेशागत संघ संगठन तथा सोसाइटीबीच गत २१ कात्तिकमा भएको सहमति अनुसार मन्त्री डा सुधा गौतम शर्माले २५ कात्तिकमा मन्त्रिस्तरीय निर्णय गरेपछि सदस्यहरु थपिएका हुन् ।

कार्यदलकी सदस्यसचिव डा. सुनिता लम्सालका अनुसार थपिएका सदस्यहरुमा नेपाल चिकित्सक संघका तर्फबाट महासचिव डा सञ्जीव तिवारी, नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसनका तर्फबाट अध्यक्ष माइकल देवकोटा, नेपाल फर्मास्युटिकल्स एसोसिएसनको तर्फबाट अध्यक्ष ललितमोहन पन्त, नेपाल पब्लिक हेल्थ एसोसिएसनका तर्फबाट कावा अध्यक्ष तेजप्रसाद दुलाल रहेका छन् ।

यस्तै नेपाल रेडियोलोजीकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झा, मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का र हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीलाई पनि कार्यदल सदस्यमा थप्ने निर्णय भएको जानकारी दिईन् ।

खासगरी सेवा सुविधाको माग अघि सार्दै निजी मेडिकल कलेज तथा अस्पतालहरुमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएपछि तत्कालीन समयमा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएकी प्रधानमन्त्री सुशीला कार्कीले २ कात्तिकमा निर्णय गर्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेकी थिईन् ।

उक्त कार्यदललाई नर्स तथा स्वास्थ्यकर्मीहरुको न्युनतम पारिश्रमिक, मर्यादित र सुरक्षित कार्यस्थल, लगायतका सेवा सुविधाहरु, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई देश भित्र रिटेन्सन हुने बातावरण बनाउने लगायतका विषयमा कानूनी प्रावधान सुनिश्चतता एवं ऐन कानुनमा आवश्यक परिमार्जनका लागि राय सुझाव एवं कार्ययोजना सहितको प्रतिवेदन तयार पार्न कार्यदेश दिइएको थियो ।

त्यसबेला गठित कार्यदलको संयोजकमा अतिरिक्त स्वास्थ्य सचिव डा. श्रेष्ठ संयोजक थिए भने चिकित्सा शिक्षा आयोगका निर्देशक डा सुजनबाबु मरहठ्ठा, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष डा पदम खड्का, मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा चन्द्रकला शर्मा, आन्दोलनरत नर्स स्वास्थ्यकर्मीहरुको प्रतिनिधिको रुपमा ज्योति रानाभाट सदस्य थिए ।

यस्तै नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा सरला केसी, मन्त्रालयका गुनासो सुनुवाई इकार्य प्रमुख डा अनुप बास्तोला, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सुरक्षासेवा महाशाखा निर्देशक हिराकुमारी निरौला, गृहमन्त्रालयका उपसचिव विश्वामित्र कुईकेल, अर्थ मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि लक्ष्मी मरासिनी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि रमा खतिवडा सदस्य रहेका थिए । मन्त्रालयका चिकित्सा शिक्षा सेवा तथा अनुसन्धान शाखाकी डा सुनिता लम्साल कार्यदलको सदस्यसचिव रहेकी छन् ।

गत २ कात्तिकमा गठित यो कार्यदललाई एक साता भित्र प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको थियो । तर गत १५ कात्तिकमा बसेको बैठकले बिस्तृत रुपमा काम गर्नु पर्ने भएकोले समयावधी एक महिना थप्ने निर्णय भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *