वर्ष भरिमा फ्याकिन्छन् ४.५ ट्रिलियन चुरोटका ठुटा !

फिल्टर प्रतिवन्ध लगाउने एफसीटीसी सम्मेलनको मुख्य एजेन्डा
16
Shares

काठमाडौँ । नदी, समुद्र र सहर–बस्तीका बाटाघाटा, अचेल जतासुकै भेटिन्छन् चुरोटका ‘फिल्टर’ भनिने ठुटाहरु ।

चुरोट सेवनले जनस्वास्थ्यमा पार्ने गम्भीर असरसंगै जतासुकै फ्याकिएका यस्ता ठूटाले बातावरणीय प्रदुषणमा नराम्रो असर पुरयाएको छ । तर, अब भने बेला आए जस्तो छ ।

जनस्वास्थ्य र प्रदुषण रोक्न विज्ञहरुले  यस बिरुद्ध अब निर्णायक हस्तक्षेप गर्ने संकेत गरेका छन् ।

हो, सोमबार (भोली) देखि स्वीजरल्याण्डको जेनेभामा सुरु हुन लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) फ्रेमवर्क कन्भेन्सन् अन टोबाको कन्ट्रोल (एफसीटीसी)को ११ औँ सम्मेलनमा चुरोटका ठुटाहरुलाई प्रतिवन्ध लगाउने विषयलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको छ ।

डब्लुएचओ एफसीटीसी सचिवालयका कार्यवाहक प्रमुख एन्ड्र्यु ब्ल्याक भन्छन्, ‘पर्यावरणका लागि हामीले गर्न सक्ने उत्कृष्ट कदम भनेको चुरोटका फिल्टरहरूलाई सिधै हटाउनु हो।’

हुन पनि विश्वभर वार्षिक रुपमा ४५ खर्ब (४.५ ट्रिलियन) चुरोटका ठुटाहरु फालिन्छन् । यो पृथ्वीकै सबैभन्दा फोहोर गर्ने चिज हो ।

किन भने यी चुरोटको ठुटाहरुमा प्रयोग भएका प्लास्टिकका फिल्टरहरु न त गल्छन्, न त बिग्रन्छन्। उल्टै, पानी र माटोसँग मिसिँदै विषाक्त रसायन चुहाउने र माइक्रोप्लास्टिक मा परिणत हुने गर्छन्।

डब्लुएचओका वातावरण तथा जलवायु प्रमुख रुडिगर क्रेच भन्छन्, “यी प्लास्टिक फिल्टरहरू पानीका सबैभन्दा खतरनाक प्रदूषक बनेका छन्। विषाक्त पदार्थले झन् दुषित बनाएका छन् ।अब तिनलाई प्रतिबन्ध लगाउने समय आइपुग्यो।”

चुनौतीपूर्ण कार्य !

यस्ता निर्णय लिन डब्लुएचओलाई त्यति सजिलो भने छैन । सम्मेलन अघि गरिएको पत्रकार सम्मेलनमै अधिकारीहरुले संसारभर जरा गाडेर बसेका सुर्ती उद्योगहरुसंग भिड्न चुनौतीपूर्ण रहेको संकेत गरिसकेका छन् ।

सुर्ती उद्योगको हस्तक्षेपलाई रोक्नका लागि कठिन भएको उनीहरुको संकेत थियो । सुर्ती उद्योगहरु देखिएर सम्मेलनमा नजाने तर भित्रभित्रै प्रभाव जमाउने, निर्णयहरू कमजोर पार्ने, र देशहरूलाई विभाजित गर्ने प्रयासमा लागेको डब्लुएचओको आरोप छ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रस अधानोम घ्रेब्रेयसस भन्छन्, ‘सुर्ती उद्योगको लक्ष्य एउटै छ । त्यो हो लाभ । जनस्वास्थ्य उनीहरूको प्राथमिकतामा कतै छैन।’ उनले ई सिगरेटलाई प्रायः परम्परागत सुर्तीजन्य पदार्थहरूको सुरक्षित विकल्पको रूपमा प्रचार गरिन थालिएको भन्दै चिन्ता व्यक्त गरे ।

इसिगरेटलाई परम्परागत सुर्तीजन्य पदार्थको विकल्प हो भनेर युवा तथा किशोर किशोरीलाई आकर्षित गरिएको छ, यो पनि सुर्ती उद्योगको नयाँ चाल हो । किनभने ईसिगरेटले जनस्वास्थ्यमा फाइदा गरेको कुनै प्रमाण छैन बरु हानी बढाउँदै जाने पुष्टि भइसकेको छ ।

हुन पनि सुर्तीजन्य पदार्थको नयाँ उत्पादनको रुपमा रहेको ईसिगरेट, वेप, निकोटिन पाउच—विश्वभर तीव्र रूपमा फैलिँदै छन्।

आज विश्वमा १० करोडभन्दा बढी मानिस वेपिङ गर्छन्, जसमा १ करोड ५० लाख १३–१५ वर्षका किशोर छन्।

डब्लुएचओका जनस्वास्थ्य कानून र नीति ईकाईका प्रमुख बेन म्याकग्रेडीले भन्छन्, सुर्ती उद्योगले चम्किला रङ, मिठा स्वाद र सामाजिक सञ्जालमार्फत बालबालिकालाई लक्षित गर्दै नयाँ पुस्तालाई निकोटिनमा फसाउँदैछ।”

पाँच दिने एफसीटीसी सम्मेलनका निर्णायक भनिएका मुद्दाहरू के के छन् ?

  • चुरोटका प्लास्टिक फिल्टर पुरै प्रतिबन्ध गर्ने प्रस्ताव
  • सुर्तीजन्य पदार्थ तथा इ–सिगरेटको विज्ञापन, प्रचार र प्रायोजनमा पूर्ण प्रतिबन्ध
  • बालबालिका तथा किशोर किशोरी लक्षित ‘आक्रामक मार्केटिङ’ रोक्ने उपायको खोजी
  • सुर्ती उद्योगको उद्योगको पर्यावरणीय प्रभावबारे कठोर कदम

सन् २००५ देखि लागू भएको डब्लुएचओ एफसीटीसी सन्धी आधिकारिक रूपमा अहिलेसम्म १८० देशले अनुमोदन गरिसकेका छन्।

‘यो ऐतिहासिक सन्धीले सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक चित्र, धुम्रपान मुक्त कानून र बढेको कर सहित सुर्तीजन्य नियन्त्रण उपायहरूको प्याकेज ल्याएको छ । यस्तै सम्मेलनले भविष्यका पुस्ताहरूका लागि विश्वव्यापी सुर्तीजन्य महामारीको मार्ग तय गर्ने निर्णयहरू लिनेछ,’ ब्ल्याकले भने।

उनले अगाडी थपे, ‘संसारमा प्रति वर्ष ७० लाख भन्दा बढी मृत्यु सुर्तीजन्य पदार्थको कारणले भइरहेको छ । जो पूर्ण रूपमा रोकथाम गर्न सकिनेु मृत्यु हो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *