पाँच स्वास्थ्य संस्थाका लागि अधिकृत स्तरका २५६ जना अस्थायी दरबन्दी स्वीकृत

काठमाडौँ, २५ कात्तिक । सरकारले पाँचवटा स्वास्थ्य संस्थामा काम गर्नका लागि २५६ जना अधिकृतस्तरका कर्मचारी राख्न मिल्ने गरी अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षका लागि उक्त दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
स्वीकृत भएका दरवन्दीहरु स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड काठमाडौँ, गेटा अस्पताल धनगढी, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके, डडेल्धुरा अस्पताल डडेल्धुरा र कान्ति बाल अस्पताल काठमाडौँमा बाढिने छन् ।
त्यसो त यो अस्थायी दरबन्दी नयाँ भने होईन ।
यी पाँचवटा स्वास्थ्य संस्थाले अघिल्लो वर्ष पनि यसैगरी अस्थायी दरबन्दी स्वीकृत गराई अस्थायी कर्मचारी राखि सेवा दिएका थिए । मन्त्रालयका सहसचिव दिवस आचार्यका अनुसार अस्थायी दरबन्दी हरेक वर्ष मन्त्रिपरिषद्को स्वीकृत गराई नबीकरण गर्नु पर्ने परम्परा छ । सोही अनुसार सोमबारको मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
‘धेरै प्राविधिक पदहरु छन्, केही अप्राविधिक पनि छन्,’ सहसचिव आचार्यले भने, ‘अस्थायी दरवन्दी स्वीकृत भएपछि ती तोकिएका संस्थाहरुका लागि अस्थायी तथा करारका कर्मचारीहरु राख्न बाटो खुल्छ ।’
यसैबीच मन्त्रिपरिषद्को बैठकले गत शुक्रबार पदबाट राजिनामा दिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटीको राजिनामा पनि स्वीकृत गरेको छ । उनले गत आइतबारबाट लागू हुने गरी राजिनामा दिएका थिए ।
दुई वर्ष बढी पदावधी हुँदा हुँदै राजिनामा दिएका डा बाराकोटीले स्वास्थ्य र पारिवारिक कारण सरकारी सेवाबाट बाहिरिन चाहेको राजिनामा पत्रमा उल्लेख गरेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ