स्वास्थ्यका एघारौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर : अघिल्लो दिन सार्ने निर्णय, अर्को दिन रोक्ने निर्णय

काठमाडौँ, २० कात्तिक । स्वास्थ्यका एघारौँ तथा दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले एक जना अधिकृतको निर्णय भने एक दिनमै परिवर्तन गरेकी छन् । त्यसरी निर्णय परिवर्तनमा परेका व्यक्ति हुन् डा. प्रकाशप्रसाद साह ।
प्रमुख जनस्वास्थ्य प्रशासक बनेर हाल गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको नेतृत्व गरेका डा. साहलाई गत मंगलबार (१८ कात्तिकको) मन्त्रीस्तरीय निर्णय मार्फत स्वास्थ्य सेवा विभागमा दरबन्दी राखि किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा काम काजमा खटाउने निर्णय गरेकी थिईन् ।
डा. साहलाई हेटौंडा सारेपछि सोही दिन मन्त्री डा. शर्माले गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा त्यही कार्यरत दशौँ तहका सर्जन डा. नागेन्द्रप्रसाद यादवलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी दिएकी थिईन् । तर, उनले आफ्नै निर्णय एक दिनमै परिवर्तन गरिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ कात्तिकमा फेरी अर्को मन्त्रीस्तरीय निर्णय भएको पत्र पठाउँदै हेटौँडा पठाइएका डा. साहलाई अर्को व्यवस्था नभएसम्म त्यहि पुरानै जिम्मेवारीमा रहेर काम गर्न भनेको छ ।
डा. साहलाई १९ कात्तिकमा पठाइएको पत्रमा ‘१८ कात्तिकको निर्णय अनुसार तपाईँलाई स्वास्थ्य सेवा विभागमा दरबन्दी राखि किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडा खटाइएकोमा अर्को व्यवस्था नभएसम्म हाल कार्यरत रहेको गजेन्द्रनारायणसिंह अस्पतालमा यथावत कामकाज मन्त्रीस्तरीय निर्णय अनुसार अनुरोध छ,’ भन्ने उल्लेख छ ।

एक दिनमै निर्णय परिवर्तन हुँदा स्वास्थ्यका उच्च अधिकारीहरु आश्चर्यमा परेका छन् । कतिपयले मन्त्रीमाथि परेको दवाव र प्रभावका कारणले निर्णय सच्याइएको समेत टिप्पणी गरेका छन् ।
पूर्व स्वास्थ्य सचिव समेत रही सकेकी मन्त्री शर्माले गत मंगलबार एघारौँ तहका छ बढी अधिकृतको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेकी थिईन ।

सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
