सप्तरीमा झाडा पखलाबाट एकै परिवारका दुई बालबालिका सहित तीन जनाको मृत्यु

56
Shares

सप्तरी, १६ कात्तिक । जिल्लाको छिन्नमस्ता गाउँपालिका- ५ लोखरम मुसहरी टोलमा दुई सातादेखि फैलिएको झाडापखालाले एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ । सो टोलका एक दर्जनभन्दा बढी स्थानीय झाडापखालाबाट प्रभावित भएका छन् ।

मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । हप्तादिनको फरकमा उनीहरुको मृत्यु भएको हो ।

स्थानीय शिवशंकर सदाका अनुसार तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो । समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको गाउँलेको अनुमान छ ।

स्थानीय बुचन सदाका एक वर्षीय छोरा संजीव सदाको अघिल्लो बिहीबार भएको हो । संजीवसहित बुचनका ६६ वर्षीय बुवा लक्ष्मण सदा, २६ वर्षीया श्रीमती पार्वतीदेवी र ४ वर्षीया छोरी राघिनी पनि पखालाले ग्रस्त थिए । उनीहरू गाउँकै क्लिनिकबाट औषधि लिएर उपचार गराइरहेका थिए तर पखाला नरोकेपछि अवस्था झनै बिग्रँदै गएको बताइएको छ ।

लक्ष्मण सदाको निधनको एक साता नबित्दै बुचनकी छोरी राघिनीको पनि गत शुक्रबार मृत्यु भएको हो । पञ्जाबमा मजदुरी गर्दै आएका बुचन किरियामा बसेकै अवस्थामा छोरीको निधन भएपछि विक्षिप्त बनेका छन् । उनको अर्को छोरी राधिका पनि पखालाले ग्रस्त भएकी छिन् तर आर्थिक अभावका कारण उपचार गराउन नसकिएको परिवारजनले बताएका छन् ।

सदा टोलका अन्य बासिन्दा पनि यस रोगको चपेटामा परेका छन् । स्थानीय शिवशंकर सदाकी छोरी १० वर्षीया करिना, कृष्णा सदाकी पत्नी २५ वर्षीया लिलमदेवी, उनकी छोरीहरू ३ वर्षीया गायत्री र ६ वर्षीया सुगन्धा, ६० वर्षीय बौकु सदा लगायत एक दर्जनभन्दा बढी व्यक्ति झाडापखालाबाट प्रभावित भएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्रप्रसाद यादवका अनुसार उनीहरूलाई झाडापखालाको संक्रमणबाट ज्यान गएको जानकारी शुक्रबार राति मात्र फेसबुकमार्फत प्राप्त भएको हो । उनले आइतबार गाउँमा विपद् व्यवस्थापन बैठक बोलाई जनचेतनामूलक कार्यक्रम, स्वच्छ पानी वितरण र औषधि अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

स्वास्थ्यकर्मीका अनुसार दूषित खानेपानी र सरसफाइको कमीले झाडापखाला फैलिएको हुनसक्ने आशंका गरिएको छ । स्थानीयले तत्काल स्वास्थ्य शिविर स्थापना गरी सबै प्रभावित परिवारको उपचारको माग गरेका छन् ।

यसअघि मधेश प्रदेशको पर्सा र बारा जिल्लाका विभिन्न पालिकामा झाडापखला र हैजाको प्रकोप फैलिएको थियो । त्यहाँ झाडापखला र हैजा नियन्त्रणमा आइरहेको बेला सप्तरीमा यस्तै लक्षण सहितको नयाँ केश देखा परेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *