नेपाल मेडिकल कलेजमा स्टेरोइडको दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतना

काठमाडौं, १४ कात्तिक । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा छालासम्बन्धी उपचारमा अत्याधिक प्रयोग भइरहेको स्टेरोइडको नियन्त्रित प्रयोग बारे क्षमता विकास कार्यक्रमको आयोजना गरिएको छ । कलेजको छाला रोग विभागद्वारा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका ३५ जना फार्मासिस्टहरुको सहभागिता रहेको थियो ।

टपिकल स्टेरोइडको दुरुपयोगः एक मौन सार्वजनिक स्वास्थ्य खतरा, रोकथाममा फार्मासिष्टको भूमिका शिर्षकको अभिमुखीकरण कार्यक्रममा छालासम्बन्धी रोगहरू, जस्तै एक्जिमा, सोरायसिस, डर्माटाइटिस र एलर्जीजन्य प्रतिक्रियाको उपचारका लागि व्यापक रूपमा प्रयोग गरिने स्टेरोइड चिकित्सकको सिफारिसअनुसार प्रयोग गरिएमा यी औषधि प्रभावकारी र सुरक्षित हुने फर्मासिस्टहरुलाई जानकारी दिइएको छ ।

पछिल्ला वर्षहरूमा स्टेरोइडको अनियन्त्रित प्रयोग र दुरुपयोग भइरहँदा मानव जीवनमा यो एक मौन सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखा परिरहेको र जसले गम्भीर छालाका साथै शारीरिक असरहरू निम्त्याइरहेको जानकारी दिइएको थियो।

छाला सम्बन्धी कुनैपनि समस्यामा बिरामीहरुले विशेषज्ञ चिकित्सकको सिफारिस भन्दापनि आफुखुसी फार्मेसीबाट स्टेरोइड क्रिम प्रयोग गर्दा छाला पातलो हुने, रगतका स–साना नसाहरु देखिने, रक्तचाप, ब्लड सुगरका समस्याहरु देखिने विशेषज्ञहरुले बताए । स्डेरोइड फार्मेसीहरुमा सहजै उपलब्ध हुने र बिना प्रेस्क्रिप्सन पाइने भएकाले दुरुपयोग बढेको सरोकारवालाहरुको भनाई छ।

सौन्दर्य प्रयोजन खासगरी छाला गोरो बनाउन वा अनुहारको दागहरु हटाउन स्टेरोइड विभिन्न सौन्दर्य क्रिममा मिसाइन्छ । यस्ता क्रिमले तत्काल राहत वा गोरोपन बढाएपनि दिर्घकालिन असरहरु पर्ने गर्दछ । छाला पातलो हुने, रगतका स–साना नसा देखिने, स्ट्रेच मार्क, अनुहारमा डावर, दागहरु निस्कने, कडा खालको स्टेरोइडले एड्रिनल ग्रन्थिको असर वा दबिने, बच्चामा वृद्धिमा असर, रक्तचाप र ब्लड सुगर वृद्धि हुने तथा छालाका जटिल रोगहरू बढ्ने गर्दछन् ।

फार्मासिष्टहरूले जनचेतना, नियन्त्रण र परामर्शमार्फत स्टेरोइड दुरुपयोग घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सचेतना दिइएको हो । उनीहरुले स्टेरोइड विक्रि गर्दा त्यसको फाइदा बेफाइदा बारे बिरामीलाई जानकारी दिने, चिकित्सकको प्रेस्क्रिप्सन बिना स्टेरोइड औषधि नबेच्ने, स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्ने, चिकित्सक र छाला रोग विशेषज्ञसँग मिलेर औषधि प्रयोगमा सन्तुलन ल्याउन भूमिका खेल्न सक्ने बताइएको थियो।

कार्यक्रममा नेपाल डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट र लेप्रोलोजिस्ट समाज, फार्मेसी एशोसिएसन अफ नेपाल, इन्टरनेशनल लिगल अफ डर्माटोलोजिकल सोसाइटीले सहकार्य गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी नेपाल मेडिकल कलेजका प्राचार्य प्राडा मोदनाथ मरहठ्ठा थिए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *