आन्दोलनरत नर्सका मागका सम्वन्धमा आज बसेको समितिको बैठक निस्कर्षविहीन, भोली पुन: बस्ने
काठमाडौँ, १३ कात्तिक । आन्दोलनरत नर्सहरुले उठाएका मागका सम्वन्धमा आवश्यक छलफल गरी निष्कर्षमा पुग्नका लागि सरकारले तिहार अघि नै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको थियो । सोही समितिको आज बसेको बैठक बसेको थियो । तर, कुनै निष्कर्षमा पुग्न भने सकेन ।
आजको बैठक भोली (शुक्रबार) विहान ९ बजे पुन: स्वास्थ्य मन्त्रालयमै अर्को बस्ने गरि टुंगिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
आजको बैठकमा श्रम मन्त्रालयका प्रतिनिधिबाहेक समितिमा रहेका सबैको उपस्थिति थियो । बैठकको बीचमा जेनजी अगुवाको नामले परिचित हामी नेपाली संस्थाका प्रमुख सुदन गुरुङ समेत पुगेका थिए । तर उनी बैठक कक्ष भित्र प्रवेश गरेनन् ।
‘डा. श्रेष्ठको संयोजकत्वमा सरकारले जो जो प्रतिनिधि तोकेको छ । उहाँहरु मात्रै बैठकमा हुनुहुन्थ्यो । अरु कोहीलाई प्रवेश गर्न दिइएन,’ प्रवक्ता बुढाथोकीले भने ।
के भयो त बैठकमा ?
बैठकमा नर्सिङ प्रतिनिधिहरुले पूर्ववत रुपमा उठाएको सरकारी सरहको तलव सुविधा हुनुपर्ने मागलाई दोहोर्याएका थिए । तर निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताल सञ्चालकका प्रतिनिधिहरुले नर्सहरुले भने जसरी सुविधा दिन नसक्ने अडान राखेका थिए । सोही विषयमा छलफल भयो तर निस्कर्षमा पुग्न सकिएन बैठकमा सहभागी एक सदस्यले भने । उनले बेठकमा विभिन्न मोडलबाट माग पुरा गर्नका लागि उपाय खोजिएको समेत बताए ।
निजी स्वास्थ्य संस्था सञ्चालक ज्यूहरुले नर्सका मागहरु यथास्थितिमा हुवहु लागू गर्न नसकिने खालको कुरा गर्नु भएको छ ।
‘नर्सहरुले स्वास्थ्य मन्त्रालयले गत मंसिर २६ गतेको निर्णय र सोही आधारमा गरेको परिपत्रको कार्यान्वयन गर्नुपर्छ भन्ने हिसावले प्स्तुत हुनु भयो,’ ती सदस्यले भने, ‘निस्कर्षमा नपुगेपछि भोली विहान पुन: अर्को बैठक बस्ने गरि निस्कियो ।’
बैठक पछि बोल्दै नेपाल नर्सिङ एसोसिएसनका अध्यक्ष चन्द्रकला शर्माले आज समितिको बैठक बसे पनि निस्कर्षमा नपुगेको बताईन । उनले भोली पुन: बैठक बस्ने जानकारी दिईन् । उनले माग पुरा नहुँदासम्म पूर्व निर्धारित आन्दोलनको कार्यक्रम निरन्तर जारी रहने समेत जानकारी दिईन् । ‘हामीले राखेका मागका विषयमा छलफल त भयो तर निस्कर्षमा पुग्न सकेको छैन । त्यसैले हाम्रो आन्दोलनको कार्यक्रम यथावत नै हुन्छ,’ उनले भनिन् ।
बेठकमा निजी मेडिकल कलेज सञ्चालकहरुको तर्फबाट एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्की, निजी अस्पताल सञ्चालकहरुको तर्फबाट अफिन अध्यक्ष डा पदम खड्का, आन्दोलनरत नर्सहरुको प्रतिनिधिहरुको रुपमा ज्योति रानाभाट सहित विभिन्न मन्त्रालय र महाशाखा प्रमुखहरुको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
