पाटन अस्पतालमा स्तन क्यान्सर सम्वन्धी समेतनामुलक अन्तर्क्रिया कार्यक्रम:

‘एण्ड, नाउ….. क्यान्सर ह्याज मल्टीपल एन्सर’

168
Shares

काठमाडौँ, १३ कात्तिक । क्यान्सर रोगको उपचारमा पाटन अस्पतालको सेवाले जसरी फड्को मारिरहेको छ, क्यान्सरबिरुद्धको सचेतना अभियानमा पनि उसको भूमिका उत्तिकै सक्रिय देखिन्छ । औपचारिक रुपमा होस् या अनौपचारिक, सम्पन्न परिवारका होस् या विपन्न परिवारको होस् त्यहाँको टिम क्यान्सर प्रभावित, क्यान्सर विजेतासंग बसेर क्यान्सर रोग रोकथामका लागि छलफल गर्छ, रणनीति बनाउँछ, त्यसको कार्यान्वयनका हातेमालो गर्छ ।

यसको पछिल्लो उदाहरण बुधबारको कार्यक्रम हो ।

अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सरबिरुद्धको सचेतना महिनाको रुपमा मनाउने गरिन्छ । पाटन अस्पतालको अंकोलोजी विभागले यसलाई छाड्ने कुरै भएन । क्यान्सर प्रभावित तथा क्यान्सर विजेताहरुलाई संगै राखेर दिनभर यस विषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरयो । विभागको यो कार्यक्रमलाई म्याक्स फाउण्डेशनले सहयोग गरेको थियो भने नेपाल क्यान्सर सर्भाइभर सोसाइटी र ब्लड क्यान्सर सोसाइटीको सहकार्य थियो ।

कार्यक्रमको अगुवाई पछिल्लो पुस्ताका चर्चित मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले गरेका थिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिप्रसाद पौडेल, बरिष्ठ मेडिकल अंकोलोजिष्ट प्राडा राजेन्द्रप्रसाद बरालले उनलाई अन्तिमसम्म साथ दिईरहेका थिए ।

‘पहिले पहिले क्यान्सर ह्याज नो एन्सर भन्ने चलन थियो अर्थात क्यान्सर लागेपछि अब सकियो कुनै उपाय छैन भन्ने थियो । तर अब परिस्थिति फेरिएको छ, अब हामी भन्छौँ क्यान्सर ह्याज मल्टिपल एन्सर अर्थात क्यान्सर लाग्दैमा सकियो भन्ने होईन, धेरै उपायहरु छन्,’ प्राडा बरालले त्यसो भनिरहँदा क्यान्सर प्रभावित तथा विजेताहरुले समर्थनमा ताली बजाएका थिए ।

सो क्रममा उनले क्यान्सरको जोखिम कस्तालाई हुन्छ ? कस्ता लक्षण भयो भने सावधानी अपनाउने ? स्तन क्यान्सरको अवस्था, लक्षण, परीक्षण र उपचारका विषयमा बताएका थिए । समयमै क्यान्सरको पहिचान हुँदा उपचारमा सहजता हुने भन्दै उनले लक्षण तथा शंका लागेमा आवश्यक जाँच गराउन क्यान्सर रोग विशेषज्ञलाई देखाउन ढिलाई गर्न नहुने तर्फ जोड दिएका थिए ।

सचेतना अभियानलाई समेत नयाँ पन दिन सिपालु मेडिकल अंकोलोजिष्ट डा. शाहीले यसपटक बरिष्ठ अंकोलोजिष्टसंगै मानसिक रोग विशेषज्ञ र डाइटिसियनलाई क्यान्सर प्रभावित र विजेतामाझ प्रस्तुत गरेका थिए ।

‘कुनै पनि रोगलाई सहज रुपमा जित्नका लागि व्यक्ति मानसिक रुपमा बलियो हुनु पर्छ । अझ् क्यान्सरको विषयमा त झन् बढी बलियो हुनुपर्छ । त्यसैले हामीले यसपटक मानसिक रोग विशेषज्ञलाई निम्त्यायौँ । यस्तै बिरामी हुँदा र त्यसअघि पछि पनि जोडिएर आउने मुख्य कुरा खानपान, डाइटको विषय हो । यसका लागि पनि हामीले विज्ञको रुपमा डायटिसियन ल्याएका हौँ,’ डा. शाहीले भने ।

बुधबारको कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. पवन शर्मा र डाइटिसियन योगिता सापकोटाले आफ्ना विषयमा सरल ढंगले बुझाउने प्रयास गरेका थिए ।

डा. शर्माले क्यान्सर भएका मध्ये ५० प्रतिशतलाई कुनै न कुनै मानसिक समस्या हुने गरेको तथ्यांक बताउँदै उदासिनता, छटपटी, शिथिलता, प्यानिक एट्याक जस्ता समस्या र त्यसका समाधानका उपाय बारेमा बताएका थिए ।

यस्तै डायटिसियन सापकोटाले बिरामीहरुले कस्ता कुरा खाने, स्वस्थ खाना, व्यालेन्स डाइट कसरी बनाउने ? खानामा के के कुरा समेटने ? बिरामीहरुलाई पोषणको महत्व के छ भन्ने बारेमा बताएकी थिईन ।

नेपालमा म्याक्स फाउण्डेशनले स्तन क्यान्सरसहित विभिन्न १४ प्रकारका क्यान्सरका बिरामीहरुलाई १५ किसिमका औषधी आजिवन रुपमा निशुल्क वितरण गर्दै आएको छ । पाटन अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर सेन्टर बाँकेबाट बिरामीहरुलाई औषधी वितरण हुँदै आएको छ ।

औषधी मात्रै होईन सो फाउण्डेशनले आफूले उपलव्ध गराएको औषधी नियमित सेवन गर्ने स्तन क्यान्सरका बिरामीलाई त आतेजाते यातायात खर्चको समेत उपलव्ध गराउने गरेको छ । बुधबारको कार्यक्रममा सोही विषयमा म्याक्स फाउण्डेशनका नेपाल प्रतिनिधि श्वेता अग्रवाल र सविना घलेले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल क्यान्सर सर्भाइभर सोसाइटीका अध्यक्ष प्रमिता खनालले क्यान्सरबिरुद्धको उपचारसंगै सचेतना जरुरी रहेको बताएकी थिईन । उनले क्यान्सर रोग लागेका महिलाहरुको अवस्था, पारिवारिक समस्या, उनीहरुले खेप्नुपर्ने मानसिक समस्याका बारेमा समेत कुरा उठाएकी थिईन् । सचेतना अभियानमा आफूहरुको संस्थाले गरेको योगदानबारे समेत बताएकी थिईन ।

रक्त क्यान्सर र स्तन क्यान्सरलाई पराजित गरेकी व्लड क्यान्सर सर्भाइभर सोसाइटीकी कोषाध्यक्ष समेत रहेकी शोभाले पनि रोगको उपचार र सचेतनाको महत्वबारे बोल्दै आफ्ना भोगाई समेत प्रस्तुत गरेकी थिईन् ।

यस्तै क्यान्सर प्रभावित परिवारको तर्फबाट गायक हेमन्त शर्माले आफ्ना अनुभुति प्रस्तुत गरेका थिए । उनले कार्यक्रममा केही सांगितिक प्रस्तुती समेत दिएका थिए ।

‘पाटनलाई क्यान्सर उपचारका लागि सेन्टर अफ एक्सिलेन्स बनाउँछौँ’- उपकुलपति प्राडा पौडेल

यसैबीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धि पौडेलले क्यान्सर रोग उपचारका लागि पाटन अस्पताललाई सेन्टर अफ् एक्सिलेन्सको रुपमा विकास गर्ने बताए । उनले छुट्टै अत्याधुनिक भवन निर्माण गर्ने र त्यसमा सबै खाले क्यान्सरको निदान र उपचार हुने व्यवस्था मिलाउने योजना रहेको सुनाए ।

साँघुरो ठाउँ र कम जनशक्तिकाबीच पाटनले क्यान्सर रोगको उपचारका छुट्टै पहिचान बनाएको भन्दै यसलाई विस्तार गर्ने योजना अघि सारेको बताए । उनले नसर्ने रोगको प्रकोप बढ्दो क्रममा रहेको यस रोगबारे व्यापक रुपमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा स्तन क्यान्सरबारेमा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ डा. बराल, डा. शाहीले दिएका थिए । यस्तै मानसिक स्वास्थ्य र खानपानको विषयमा विज्ञद्धय डा. शर्मा र सापकोटाले बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *