नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

काठमाडौँ, ४ कात्तिक । मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् ।

कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए ।

“पछिल्लो २० दिनमा स्क्रब टाइफसबाट नवलपुरमा २७ जना सङ्क्रमित भएका छन्”, उनले भने, “स्क्रब टाइफसको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ ।” सङ्क्रमितमध्ये हालसम्म ३८ जना निको भइसकेका भन्दै सूचना अधिकारी सुवेदीले छ बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

जिल्लामा डेङ्गी सङ्क्रमण न्यून भए पनि स्क्रब टाइफस एक्कासि बढ्दै गएको भन्दै सुवेदीले यस रोगबारे सावधानी अपनाउनुपर्ने बताए ।

स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दो जुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि डेङ्गीभन्दा ३० गुणा बढी घातक भएको उनले बताए ।

यो रोग मानिसमा एक प्रकारको ‘माइट’ (किर्ना) ले टोक्दा ‘ओरेनसिया सुसुगामुसी’ भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग भएको सुवेदीको भनाइ छ ।

कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले विगतका वर्षमा स्क्रब टाइफस सामान्य रुपमा देखिएको भए पनि अहिले यो रोग एक हप्तामा १० जनामा देखिएपछि महामारी हुन नदिन सतर्कता अपनाइएको बताए ।

समयमै यसको उपचार हुन नसकेमा सङ्क्रमित बिरामीको ज्यान जानसक्ने जोखिम रहेको सिंहको भनाइ छ ।

यस रोगको विरुद्धमा कुनै पनि खोप उपलब्ध नभएको भन्दै उनले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस सङ्क्रमित माइटको टोकाइबाट बच्नु भएको बताए ।

स्क्रब टाइफस रोग सार्ने माइटहरु स–साना बोट बिरुवाका झाडी तथा झाडीमा बस्ने मुसाका कानमा पाइने हुनाले सकेसम्म यस्ता झाडी भएका ठाउँबाट टाढा रहनु सिंहले सुझाव दिए ।

घर बाहिर यस्ता ठाउँमा काम गर्नुपरेमा माइट निवारक स्प्रे प्रयोग गरेर काम गर्नुपर्ने सिंहको भनाइ छ । शरीरमा रातो बिबिरा आउने, टाउको दुख्ने, जिउ गल्ने, मांसपेसी दुख्ने, टोकेको ठाउँमा रातो दाग देखिने तथा १०४ डिग्री ‘फरेनहाइट’भन्दा बढी ज्वरो आउने यस रोगको लक्षण भएको उनले बताए ।

स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने भन्दै उनले दुखाइ कम गर्ने औषधि सेवन गर्न नहुने बताए । अस्पताल गएर चिकित्सकको परामर्शमा मात्रै औषधि खाएमा रोग निको हुने उनको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *