ग्राण्डी अस्पताल बन्यो नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’

काठमाडौँ, ३ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।

डब्लुएसओले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा गत शुक्रबार उक्त मान्यता प्रदान गरेको अस्पतालले जनाएको हो ।

अस्पतालले आइतबार गरेको पत्रकार सम्मेलनमा ग्राण्डीका न्यूरोलोजिस्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा. राजु पौडेलले मस्तिष्कघात विश्वव्यापी रुपमा हुने मृत्यु र शारीरिक अशक्तताको मुख्य कारण रहेको जानकारी दिँदै नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुने बताए । डा. पौडेलका अनुसार विश्वव्यापी रुपमा हरेक चार सेकेन्डमा एक जनालाई मस्तिष्कघात ‘स्ट्रोक’ हुन्छ ।

नेपालजस्ता विकासोन्मुख देशमा यस्ता समस्या धेरै बढेको र भयावह अवस्था रहेको उनले बताएका छन् ।

‘विश्वव्यापी रुपमा नै हेर्ने हो भने स्ट्रोक हुनेको संख्या धेरै नै बढेको छ । विकसित देशमा ७०/७५ वर्ष भएका समूहलाई यस्तो समस्या भएको देखिन्छ । नेपालजस्ता विकासोन्मुख देशमा युवालाई देखिन्छ,’ उनले भने, ‘स्ट्रोकको समयमै उपचार भएमा बिरामीको जीवन बचाउनको साथै, अपांगताबाट बचाउन सकिन्छ । नेपालमा मुटुको समस्या भएर त्यसपछि रगतको ढिक्का गएर मस्तिष्कमा असर गर्ने समस्याहरु धेरै देखिन्छ ।’

सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारको लागि अस्पतालको राम्रो व्यवस्था गर्नुपर्ने पौडेलले जनाएका छन् ।

अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयालका अनुसार मस्तिष्कघात भएको बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्त्वपूर्ण हुने बताएका छन् । अस्पतालले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्‍याउन मद्दत गर्ने उनले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेले नेपालमा न्यूरोलोजिकल उपचार विकास गर्न, मस्तिष्कघात उपचार र बिरामीको हेरचाहको लागि उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *