नर्भिकले बढायो नर्सहरूको तलब, स्नातक तह योग्यताको न्युनतम ३७ हजार रुपैयाँ

120
Shares

काठमाडौँ, २ कात्तिक । तलव सुविधा बृद्धिको माग गर्दै निजी अस्पताल तथा मेडिकल कलेजमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएका बेला थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको जनाएको छ ।

अस्पतालले अब स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब ३७ हजार रुपैयाँ कायम गरेको जनाएको छ । यसअघि सो योग्यता भएका नर्सहरुले ३० हजार रुपैयाँ सुविधा प्राप्त गरेका थिए ।

नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको बताएको छ ।

अस्पतालद्धारा जारी विज्ञप्तीमा बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरुको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको उल्लेख छ ।

नर्भिक प्रशासनले गत महिना भएको जेन–जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ।

अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

मणिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज हुँदै बिराट मेडिकल कलेजका नर्सहरु सरकारी सरह तलव सुविधा उपलव्ध गराउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सरकारले आन्दोलनरत पक्ष र निजी स्वास्थ्य संस्था सञ्चालकलाई संगै राखी बार्ताको प्रयास गरे पनि सहमतिमा पुग्न सकेको छैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *